काठमाडौं : आईसीसी यू–१९ विश्वकप छनोटको अन्तिम खेलमा नेपालले कुवेतलाई ८ विकेटले पराजित गरेको छ । यो जितले पनि नेपाल यू–१९ विश्वकपका लागि छनोट हुन असफल भयो ।
कुवेतले दिएको १ सय ५८ रनको लक्ष्य नेपालले २८ ओभरमा २ विकेट गुमाएर भेट्टायो । नेपालको जितमा रित गौतमले सर्वाधिक ६२ रन बनाए भने पवन सर्राफले ५३, आशिफ शेखले ३३ र सन्दिप जोराले नटआउट ५ रन बनाए ।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको कुवेतले ४९.४ ओभरमा सबै विकेट गुमाएर १ सय ५७ रन जोडेको थियो । कुवेतका नर्मन बुड्रोले सर्वाधिक ७० रन बनाए गोकुल कुमारले ३६ रनको योगदान दिए ।
बलिङतर्फ नेपालका रोहित पौडेलले ३ तथा रसिद खान, कुशल मल्ल र सूर्य तामाङले समान २–२ विकेट लिए ।
यो जितसँगै नेपालले ५ खेलमा ८ अंक जोडेपनि विश्वकपमा पुग्न सकेन । युएईसँगको खेल बर्षाले प्रभावित भएर डिएल प्रणालीबाट निर्णय लिनु नै नेपालको दुर्भाग्य बन्यो । नेपाल डिएल मेथडमा युएईसँग १ रनले पराजित हुन पुगेको थियो ।
सोही खेलका कारण नेपाललाई पछि पारेर युएई यू–१९ विश्वकपका लागि छनोट भएको छ ।
प्रकाशित मिति: बिहीबार, वैशाख ५, २०७६