काठमाडौं : सेनाको जागिर छाडेर बाख्रा पालनमा लागेका उसमान वाईवाले विहीबार आफ्नो फेसबुक स्टाटसमा शेयर गरेका छन्, ‘आज खुसीको सिमा नै रहेन । किनभने ७५ प्रतिशतका दुई शुद्ध बोयर बाख्रा र एउटा स्थानिय जातको बाख्राले तीन वटा पाठी जन्माएको छ, धन्यवाद ।’
स्टाटससंगै उनले बच्चा जन्माउदै गरेको बाख्राको भिडियो समेत पोष्ट गरेका छन् । कमेन्टमा उनलाई धेरैले बधाई दिएका छन् । केहीले भने सुत्केरी राम्रोसंग उतार्नकालागि सुझाव समेत दिएका छन् । ‘झट्ट सुन्दा सामान्य लाग्ने यो खबर एउटा किसानकालागि बरदान जस्तै हो’, उसमानले भने, ‘एउटा बाख्राले जीवन पालेका उद्हारण पनि थुप्रै छन् । अझ मेरो लागि त यो जीवन जिउने ठूलो आधार हो ।’
उसमान वाइवाले १३ वर्ष लामो सेनामा जागिर खाए । तर, उनलाई लामो समय जागिर खान मन नलागेपछि अन्ततः उपदानमा राजिनामा दिए ।
जागिरपछि उनले हेटौडा उपमहानगरपालिका १९ स्थित आफ्नै घरमा बाख्रा, कुखुरा पाल्नुका साथै तरकारी बाली लगाउन थाले । कुखुराबाट राम्रो आम्दानी नभएपछि उनी बाख्रा पालनतर्फ लागे । वडा कार्यालयको ७५ तथा स्थानिय साना किसान सहकारी संस्थाको २५ प्रतिशत अनुदानमा बोयर बाख्रा पाएपछि खुसी हुदै उनले फेसबुकमा सवैलाई धन्यवाद दिदै लेखेका छन्, ‘सहयोग गर्नेहरुलाई धेरैधेरै धन्यवाद । आगामी दिनमा पनि सहयोगको अपेक्षा छ ।’
उनकै अग्रसरमा २५ जनाको एउटा समूह गठन गरेका छन् । ति सवैले आफ्नो गच्छे अनुसारको बाख्रा पालन गर्दै आएका छन् । वाईवा भन्छन्, ‘कम्तीमा पनि पन्ध्रभन्दा धेरै संख्यामा सवैले बाख्रा पालेका छन् ।’ यस्तै अर्को समूहले पनि नगरपालिकामा दर्ता गरी बाख्रा पालन गर्दै आएका छन् । वाइवाका अनुसार पुरै वडामा कम्तीमा पनि आठ सय बाख्रा पालन गर्दै आएका छन् । वडा कार्यालयको पहलमा यस्तो सामूहिक बाख्रा पालन गरिदै आएको उनी बताउँछन् । यस वडालाई खसीको मासुमा आत्मनिर्भर बनाउने अभियान जस्तै भएको उनी वताउछन् ।
वाइवाले व्यक्तिगत रुपमा ६० वटा जति बाख्रा पाल्दै आएका छन् । जसमा १५ वटा जति बोयर बाख्रा पनि छ, उनीसंग । उनी भन्छन्, ‘अहिले लगानीकै क्रममा छु । लगभग १५, १६ लाख लगानी भईसकेको छ ।’ बर्षमा केही नहुदा पनि एक डेढ लाख रुपैँया कमाई हुने उनी बताउछन् । अब आम्दानीको अनुपात विस्तारै बढ्ने उनी बताउछन् । उनले जस्तै अन्य व्यक्तिहरुले पनि बाख्रा मै केन्द्रित भएका छन् । बाख्रा पाल्नेहरु मिलेर बनाएको समूहमा केही समस्या आउदा सरसहयोग हुने उनी वताउछन् ।
दुई छोरा, एक छोरी तथा श्रीमतीले काममा सहयोग गरिरहेको कारण कामदार राख्नु नपरेको उनी बताउछन् । घरमा सदस्यहरु भएका कारण कामदार राख्न नपरेकोमा उनी खुसी पनि छन् । उनी भन्छन्, ‘एक त काम गर्ने व्यक्ति इमान्दार पाउँनै गाह्रौ, पाएपनि अल्छि गर्छन ।’
प्रकाशित मिति: बिहीबार, वैशाख ५, २०७६