काठमाडौं: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल सरकरका उपसचिव प्रेम सञ्जेललाई पत्र काटेको छ। उनी सरकारी कार्यालयमा हुने भ्रष्टाचार र दलालीविरुद्ध कडा रुपमा प्रस्तुत भएर चर्चामा आएका थिए ।
कार्यालयमा उपस्थित नभएरै खाना, खाजा र प्रोत्साहन भत्ता लिएको उजुरीकाे आधारमा अख्तियारले उनलाई ३ दिनभित्र आयोगको सम्पत्ति अनुसन्धान तथा मूल्यांकन महाशाखामा उपस्थित हुन मंगलवार पत्र काटेको हो।
श्रम कार्यालय विराटनगरको प्रमुख पदमा कार्यरत सञ्जेलले त्यहाँ हुने अनियमितता र दलालीविरुद्ध कडा रुपमा प्रस्तुत भएर विवािदत बनेपछि सरकारले उनलाई निर्वाचन आयोगको कार्यालयमा सरुवा गर्यो। सरकारको निर्णयविरुद्ध सञ्जेलले पुनर्वहालीको माग गर्दै सर्वाेच्चमा रिट दायर गरेका थिए। सर्वाेच्चले सञ्जेलको पक्षमा अन्तरिम आदेश जारी गर्दै पुनर्वहाली गरेकाे थियो।
उनी श्रम कार्यालय फर्किएपछि अख्तियारले २०७३ साल फागुन १७ देखि चैत २३ गतेसम्म कार्यालयमा हाजिर नभई खाना, खाजा र प्रोत्साहन भत्ता लिएर भ्रष्टाचार गरेको उजुरी आएको भन्दै पत्र काटेको हो।
यता प्रेम सञ्जेलले अख्तियारले पूर्वाग्रही ढंगले पत्र काटेको प्रतिक्रिया दिएका छन्। कानुन र व्यवस्थाअनुसार पाउने भत्तालाई देखाएर २ वर्ष पुरानो विषयमा पत्र काट्नु पूर्वाग्रही भएको उनको भनाई छ।
प्रकाशित मिति: बिहीबार, वैशाख ५, २०७६