काठमाडौं : प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि आन्तरिक किचलोमा फसेको नेपाली कांग्रेस लोकतन्त्र दिवसको अवसर पारेर जागरण अभियानमा निस्कने भएको छ । कांग्रेसले निर्वाचनमा भोगेको नराम्रो पराजय र आन्तरिक किचलोका कारण जनताले अनुभूत गर्ने गरी प्रतिपक्षीय भूमिका खेल्न नसकेको आरोप खेप्दै आएको छ ।
सो आरोपलाई चिर्ने र ‘कांग्रेस प्रतिपक्ष नै होइन’ भन्ने सत्तारुढ दलको कटाक्षको जवाफ दिने हैसियत बनाउने गरी कांग्रेसले वैशाख ११ देखि पुस १६ गतेसम्मको नौ महिना लामो जागरण अभियान घोषणा गरेको हो । ‘हिमाल, पहाड, तराई–मधेस नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियान’ वैशाख ११ गते लोकतन्त्र दिवसको दिन सुरु हुने र मेलमिलाप दिवसको दिन अर्थात् पुस १६ गते समापन हुने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।
अभियान ७७ जिल्लामै सञ्चालन हुने उनले बताए । मञ्चभरि अतिथि, कार्यक्रम सकिँदासम्म आसन ग्रहण र सबैको एकैखाले भाषणका कारण कांग्रेस कार्यक्रममा सहभागीहरूको आकर्षण कम हुने गरेको छ । यस पटक कांग्रेसले कार्यक्रमको ढाँचा नै परिवर्तन गरेर नयाँ सन्देश दिन खोजेको छ । तीन चरणमा जागरण कार्यक्रम गरिँदै छ ।
साँच्चै जागरण ल्याउनेमा आशंका
जबजब निर्वाचनमा पराजय व्यहोर्छ, कांग्रेस जागरण अभियान लिएर जनतामा जाने गर्छ । २०६४ सालमा नराम्रो पराजय व्यहोरेपछि तत्कालीन सभापति गिरिजाप्रसाद कोइराला देश दौडाहामा निस्किए । निर्वाचन पराजयको दिनदेखि उनले गरेको मिहिनेतले २०७० मा आइपुग्दा कांग्रेसले आफ्नो शाख फर्कायो । चुनाव हारे पनि कोइरालाको ‘टावर पर्सनालिटी’ गाउँगाउँ पुगिदिँदा कार्यकर्ता पराजयको मनोविज्ञानबाट बाहिर निस्किए ।
‘आफ्ना समस्या यथावत् राखेर बाहिर मात्र प्रभाव बढाउन सकिन्न’, पाण्डेले भने, ‘आपसी विश्वासको वातावरण बनाउने र बाह्य राजनीतिमा प्रभाव बढाउने काम सँगसँगै गर्न सक्दा जागरण प्रभावकारी हुनसक्छ ।’
उनीहरूमा थपिएको उत्साहकै परिणाम कांग्रेस २०७० को निर्वाचनमा पहिलो पार्टी मात्र बनेन, त्यसपछि कांग्रेस सभापति भएका सुशील कोइराला र शेरबहादुर देउवा दुवैलाई प्रधानमन्त्रीसमेत बनायो । सरकारमा रहेर गरेका केही अलोकप्रिय निर्णयका कारण कांग्रेस संविधान जारी गरेको, तीन तहको निर्वाचन गराएको जस लिनबाट नमज्जैले चुक्यो । त्यसमाथि निर्वाचनको मुखैमा भएको वाम एकता कांग्रेसका लागि फलामको च्यूरा सावित भयो ।
त्यसयता राष्ट्रियसभा, प्रतिनिधिसभा र प्रदेशसभामा कांग्रेस कमजोर प्रतिपक्षका रूपमा देखिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले त कांग्रेसको अस्तित्वमाथि नै प्रश्न गर्दै आएका छन् । कांग्रेस नेता प्रकाशमान सिंह पार्टीले संसदमा प्रभावकारी भूमिका खेल्न नसकेको स्वीकार गर्छन् । ‘सडक र सदन दुवैमा कांग्रेस सशक्त देखिएको छैन’, सिंह भन्छन्, ‘पार्टीलाई एकताबद्ध गर्दै सदन र सडकमा अब कांग्रेसको भूमिका सशक्त बनाउनुपर्छ ।’
झगडाको मञ्च बन्ने संशय
सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी ओलीप्रतिभन्दा आफ्नाविरुद्ध कांग्रेसका नेताहरू बढी खनिने गरेको गुनासो गर्दै आएका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्ण सिटौला समूह सार्वजनिक मञ्चमा देउवाविरुद्ध देखिएका छन् । कतिसम्म भने मेलमिलाप दिवसको कार्यक्रममा समेत उनीहरू एकअर्काविरुद्ध आरोप प्रत्यारोपमा उत्रने गर्छन् ।
निर्वाचनमा पराजयको डेढ वर्ष भइसक्दा पनि पराजयको जिम्मा कसले लिने भन्ने विवाद नसकिएको कांग्रेसमा जागरणको मञ्च झगडाको मञ्चमा बदलिने पो हो कि ? भन्ने शंशय पनि छ । प्रवक्ता शर्मा भने जागरण अभियानमार्फत् पार्टीलाई एकताबद्ध बनाउने दाबी गर्छन् ।
‘चुनावमा हार भइसकेपछि एउटाले अर्कोको दोष बढी देख्ने, त्यही कोणबाट सोच्ने, बोल्ने कुरा अनौठो थिएन । तर त्यो चरणबाट हामी अगाडि आइसक्यौँ’, शर्मा भन्छन्, ‘एउटा जीवन्त दलले जनताकोमा जाँदै गर्दा विगततिर भन्दा पनि भविष्यतिर लम्किनुपर्छ । विगतमा भएका कमीकमजोरीहरूबाट पाठ सिक्दै कांग्रेसको वर्तमानलाई सुदृढ र सुव्यवस्थित बनाउँदै हामीले भविष्यको यात्रा तय गर्नुपर्नेछ ।’
तल्लो तहसम्म गुट संस्थागत भइसकेको कांग्रेसमा आफ्नो गुटबाहेकका नेतालाई नस्वीकार्ने प्रवृत्ति छ । त्यस्तै, महासमिति बैठकपछि ४० बढी जिल्ला सभापति केन्द्रीय सभापति देउवाविरुद्ध सक्रिय छन् । यस्तो अवस्थामा जागरण अभियान प्रभावकारी हुनेमा कांग्रेसभित्रै संशय छ । जिल्लामा खटिने केन्द्रीय प्रतिनिधिले कतिको समन्वयकारी भूमिका खेल्न सक्छन् ? त्यसले पनि जागरणको प्रभावकारिता निर्धारण गर्नेछ ।
राष्ट्रियसभा सदस्यसमेत रहेका कांग्रेस केन्द्रीय सदस्य बद्री पाण्डे जागरण अभियानले पार्टीभित्रका तीक्तता मेट्न सकेमा मात्र प्रभावकारी हुने बताउँछन् । ‘आफ्ना समस्या यथावत् राखेर बाहिर मात्र प्रभाव बढाउन सकिन्न’, पाण्डेले भने, ‘आपसी विश्वासको वातावरण बनाउने र बाह्य राजनीतिमा प्रभाव बढाउने काम सँगसँगै गर्न सक्दा जागरण प्रभावकारी हुनसक्छ ।’
जागरण अभियानले कांग्रेसको उपस्थिति देखाउने र कार्यकर्ता परिचालन गर्ने उनले बताए ।
रक्षात्मक प्रतिपक्षी, बटुल्ला त शक्ति ?
संसदीय व्यवस्थामा सरकार शालीन र प्रतिपक्षी आक्रामक हुने गर्छ । तर अहिले नेपालमा ठ्याक्कै उल्टो अवस्था छ । प्रधानमन्त्री ओलीले नयाँ वर्षको अवसरमा प्रतिपक्षीलाई नन्दीभृंगी भन्दै प्रहार गरे । प्रधानमन्त्री भएदेखि निरन्तर सरकार र सत्तारुढ दलका नेताहरू आक्रामक देखिए पनि प्रमुख प्रतिपक्षी कांग्रेस भने निरीह देखिँदै आएको छ ।
दुई तिहाईको बलियो सरकारसँग संसदको आफ्नो अंकगणितले कांग्रेसको मनोविज्ञान खस्केको विश्लेषकहरू बताउँछन् । तर यस्ता जागरण अभियानमा हुने उपस्थितिले नेताहरूको मनोबल उठाउने काम गर्छ । संगठन विस्तारदेखि जनतासँग भेटघाट, वाइडबडी काण्ड, निर्मला पन्त काण्डको भण्डाफोर गर्ने कांग्रेस अभियानको लक्ष्य छ ।
भ्रातृसंस्था परिचालन गर्ने भनिए पनि सबै भ्रातृसंस्था लथालिंग छन् । नेविसंघको केन्द्रीय समिति नै छैन । तरुण दल चार जना पदाधिकारीको भरमा चलिरहेको छ, महिला संघ पनि विभाजित छ । दलित संघ, किसान संघ कार्यकाल सकिँदा महाधिवेशन नै गर्न नसकेर प्रभावहीन छन् । राष्ट्रिय मुद्दाहरूमा समेत खासै जनताको ध्यान तान्न नसकिरहेको कांग्रेसले जागरण अभियानबाट शक्ति बटुल्नेमा आशंका गरिएको छ । नेता पाण्डे जागरण अभियानले कांग्रेसलाई पुनर्ताजगी गर्नसक्नुपर्ने बताउँछन् ।
‘कांग्रेसले तत्कालै सत्तामा जाने ध्येय राख्नुहुँदैन’, विरही भन्छन्, ‘जागरण अभियान राज्य र समाजमा देखिएका विकृति, विसंगतिविरुद्ध केन्द्रित हुनुपर्छ । नागरिकका अधिकारमाथि सरकारी निकायसहित विभिन्न क्षेत्रबाट भइरहेको हस्तक्षेप र आतंकविरुद्ध जनताको मनोबल बढाउने कुरालाई प्राथमिकतामा राख्नुपर्छ ।’
प्रवक्ता शर्मा पार्टीका भ्रातृ र शुभेच्छुक संस्थाहरू परिणामुखी ढंगले परिचालित हुने दाबी गर्छन् । ‘पार्टीका भ्रातृ र शुभेच्छुक संस्थाहरू हिमाल, पहाड, तराई–मधेस, नेपाली कांग्रेसको राष्ट्रिय अभियान पार्टी केन्द्रित मुख्य कार्यक्रमहरूको मिति र समयलाई असर नपर्ने गरी अलग–अलग कार्यक्रमहरू तर्जुमा गर्नेछन्’, शर्माले भने, ‘सिंगो पार्टी पंक्ति नेपाली समाजमा रहेका भिन्न मुद्दा, भिन्न विषय र भिन्न सन्दर्भहरूमा पार्टीका भ्रातृ र शुभेच्छुक संस्थाहरूको अगुवाइमा प्रवेश गर्नेछ र परिणामुखी ढंगले परिचालित हुनेछ । विषयगत रूपले सम्बन्धित वर्ग र क्षेत्रलाई भ्रातृ शुभेच्छुक संस्थाले जागरण अभियानका समग्र विषय सुसूचित गर्नेछन् र आगामी दिनका लागि निरन्तर संवाद र सहकार्यलाई घनिष्ठ तुल्याउनेछन् ।’
अभियानले सरकारमाथि दबाब बढ्ने र पार्टी संगठन सुदृढीकरण हुने कांग्रेस नेताहरूको विश्वास छ ।
फर्केला त शाख ?
कांग्रेसले सुरु गर्न लागेको जागरण अभियानले कांग्रेसको शाख फर्काउनेमा भने कांग्रेसवृत्तभित्रै आंशका व्यक्त भइरहेको छ । तर लामो समयदेखि कांग्रेसलाई नजिकबाट हेर्दै आएका वरिष्ठ पत्रकार हरिहर विरही भने जागरण अभियान लोकतन्त्रका लागि सकारात्मक भएको बताउँछन् । देशको अवस्था, संविधान र नागरिकका अधिकार र कर्तव्यबारे नागरिकलाई सचेत गराउन जागरण अभियान प्रभावकारी हुनसक्ने उनको बुझाइ छ ।
जागरण अभियान सत्ता केन्द्रित नबनाउन सुझाव दिन्छन् उनी । ‘कांग्रेसले तत्कालै सत्तामा जाने ध्येय राख्नुहुँदैन’, विरही भन्छन्, ‘जागरण अभियान राज्य र समाजमा देखिएका विकृति, विसंगतिविरुद्ध केन्द्रित हुनुपर्छ । नागरिकका अधिकारमाथि सरकारी निकायसहित विभिन्न क्षेत्रबाट भइरहेको हस्तक्षेप र आतंकविरुद्ध जनताको मनोबल बढाउने कुरालाई प्राथमिकतामा राख्नुपर्छ ।’
उनले संविधान निर्माणमा महत्त्वपूर्ण भूमिका खेलेकाले कांग्रेसले संविधानका विशेषता र महत्त्वबारे जनतालाई अभियानका क्रममा प्रशिक्षित गर्नसक्नुपर्ने बताए ।
प्रकाशित मिति: बुधबार, वैशाख ४, २०७६