फ्लोरेन्स स्केचटरले पहिलो पटक बेलायतमा इँटा र सिमेन्टको योनी संग्रहालय बनाउने भएका छन् । पुरुष लिंगको संग्रहालय पहिल्यै बनिसकेको छ ।
उक्त योनी संग्रहालय गाइनोकोलोजीको अध्ययनका लागि महत्तवपूर्ण हुनेछ भने लैंगिक अध्ययनलाई पनि सहयोग पुग्नेछ ।
‘मैले थाहा पाएँ कि आइसल्याण्डमा पुरुष लिंगको संग्रहालय छ, जुन निकै राम्रो छ’, उनले भने, ‘तर योनी संग्रहालय विश्वमा कतै पनि पाइएन । तास्मानियामा कला संग्रहालय रहेछ भने अष्ट्रियामा भर्चुअल । तर कतै पनि भौतिक संग्रहालय भेटिएन यस कारण मैले सोचेँ कि यो सही भएन । यसर्थ मैले एउटा यस्तो संग्रहालयको सोच बनाएको हुँ ।’
उनका अनुसार यो संग्रहालय अन्यभन्दा केही फरक अवश्य हुनेछ । उनले भने, ‘हाम्रो संग्रहालय विज्ञान, इतिहास र सामाजिक रूपमा पनि विशेष हुनेछ ।’

‘हामीलाई थाहा छ, धेरै मानिस यौन रोगहरूले चापिसकेपछि मात्र अस्पताल पुग्छन् । यस संग्रहालयले यसमा पनि सहयोग गर्नेछ’, उनले भने ।
यो लाजको विषय नभएको बताउँदै उनी भन्छन्, ‘यस संग्रहालयले हाम्रो समुदायलाई एक ठाउँमा ल्याएर भनाउनेछ– वास्तवमा यो हाम्रै शरीरको एक अंग हो र यसका बारेमा हामीले कुरा गर्नु जरुरी छ ।’ यसले मानिसमा आफ्नो शरीरबारे आत्मविश्वास पनि जगाउने उनको दाबी छ ।
लैंगिक समावेशिता वास्तवमै हाम्रो खास मूल्य हो । ‘वास्तवमै योनीका विषयमा हरेकले थाहा पाउनुपर्छ, यो मतलव छैन कि यो तपाईंमा होस् वा नहोस् तर आधाजसो जनसंख्यामा त यो छ नि !’, उनी भन्छन् ।
‘खासमा एउटा महत्त्वपूर्ण कुरा यो कि योनी शब्द आफैँमा नग्न वा अश्लील हुँदै होइन, यो त वैज्ञानिक शब्द हो’, उनी भन्छन्, ‘तर मानिस यो सुन्दा लजाउने वा हाँस्ने गर्छन् । यस संग्रहालयले यी कुरामा सहजता पक्कै ल्याउनेछ ।’
प्रकाशित मिति: बुधबार, वैशाख ४, २०७६