काठमाडौं : सगरमाथा, संसारको अग्लो चुचुरो हो । यति मात्रै होइन, सगरमाथालाई नेपालको गौरव र विश्वको छानो पनि मानिन्छ । हामी आफैँ पनि सगरमाथाको देशको नागरिक हुन पाएकामा गर्व महसुस गर्छौं ।
सगरमाथाको काखमा गएर सुस्ताउन, आरोहण गर्न संसारभरबाट पर्यटकहरू आउँछन् । करिब ६६ वर्षअघि सन् १९५३ मे २९ मा पहिलो पटक सगरमाथाको चुचुरोमा मानवले पाइला राख्न सफल भयो ।
सगरमाथा नेपालको प्रमुख पर्यटकीय आधार क्षेत्र पनि हो, जहाँ स्वदेशी र विदेशी पर्यटकहरूको बाक्लो जमघट हुने गर्छ । पर्यटकहरू सहजै विमानमार्फत् सोलुखुम्बु पुग्न सक्छन् । पर्यटकको सुविधाका लागि ३१५ बढी होटलहरू खुम्बु क्षेत्रमा छन् । पर्यटकका भारी बोकेर दैनिक गुजरा चलाउनेको संख्या ठूलो छ । विदेशी पर्यटकका लागि त्यहाँका होटल जुनसुकै बेला खुला छन् ।
तिनै होटलहरूमा नेपालीले चर्पी जान र पानी पिउनसमेत पाउँदैनन् भन्दाचाहिँ अचम्म लाग्न सक्छ तर यो त्यहाँको वास्तविकता हो । खुम्बुका अधिकांश होटलमा नेपालीहरूले चर्पी प्रयोग गर्न पाउँदैनन् । अंग्रेजीमा ‘ट्वाइलेट (TOILET)’ लेखिएको ठाउँमा ‘नेपालीका लागि बाहिर छ’ भनेर लेखिएको छ ।
धेरैजसो नेपालीका लागि बनाइएका शौचालय खाल्डे हुन्छन् । ती खाल्डे शौचालयको शौच बारीमा मलको रूपमा प्रयोग गर्ने गर्छन् । त्यही मलबाट उत्पादित आलु होटलमा प्रयोग हुन्छ ।
होटलसम्मै पर्यटकको भारी बोकेर पुग्ने भरियाहरू विदेशी पर्यटक होटलभित्र छिरेपछि बाहिर बस्नुपर्छ । नेपालीका लागि होटलबाहिर खाल्डे चर्पी बनाइएका छन् । त्यहीँ गएर दिसापिसाब गर्छन् नेपालीले ।
‘अब पैसा तिर्दा त पाइन्छ नि ?’ भन्ने प्रश्न तपाईंको मनमा उठ्न सक्छ । तर पैसा तिर्छु भन्दा पनि पाउँदैनन् । त्यहाँका भरियाको काम गर्नेहरू गुनासो गर्छन्, ‘होटलभित्र छिर्न पाइँदैन । फोहोर हुन्छ भन्ने गाली गर्छन् ।’
होटलको कोठासम्म होइन, डाइनिङ र किचनमा जाँदा पनि गाली खानुपर्छ नेपालीले । निकै चिसो मौसम हुने यहाँ तातोपानी किनेर खान्छु भन्दा पनि सजिलै पाइँदैन ।
सगरमाथा आरोहरण टोलीमा सहयोगीको काम गर्दै आएका जेनजेन लामा आफूहरूले यस्तो समस्या पटक पटक भोग्नुपरेको सुनाउँछन् । यसअघि सगरमाथा आरोहणका लागि खुल्नुभन्दा अघि बाटो बनाउने कामसमेत गरेका लामा भन्छन्, ‘नेपालभित्रै नेपालीमाथि हुने यस्तो अन्याय सहनुपर्दा दुःख लाग्छ ।’
उनी भन्छन्, ‘कतिपय होटलले त भरिया र कुल्ली काम गर्ने नेपालीलाई भित्र छिर्न पनि दिँदैनन् । बाहिरै पोर्टर सेल्टर (भट्टी पसल)मा रात काट्नुपर्छ ।’ माथिल्लो क्षेत्रमा होटलजति पोर्टर सेल्टर नहुँदा बासको समस्या छ भने ओढारमा बस्छु भन्दा ओढारमा समेत सगरमाथा राष्ट्रिय निकुञ्जले प्रतिबन्ध लगाएको छ ।
यस क्षेत्रका होटलहरू निकै महँगा पनि छन् । दैनिक एक हजारदेखि १५ सय रुपैयाँसम्म कमाउने भरियाको काम गर्नेहरूले यहाँका होटलहरूमा आफैँ पैसा तिरेर बस्न पनि नसक्ने अवस्था छ ।
होटल नपाउने भएपछि होटलबाहिरै खानु र बाहिरै सुत्नु नेपालीहरूको बाध्यता नै बन्ने गरेको छ । बाहिर भट्टी पसलहरूमा बस्दा कहिलेकाहीँ अनेक स्वास्थ्य समस्या भोग्नुपर्ने हुन्छ । यहाँ भरिया काम गर्नेहरू बढी शेर्पा, तामाङ र राईहरू छन् ।
‘खर्चको तुलनामा निकै कम पैसामा नेपालीले काम गर्नुपर्छ । त्यसमाथि पनि होटलहरूमा अपमान खप्नुपर्छ । नेपाली भरियाहरूका लागि अलग्गै भए पनि होटलको व्यवस्था गर्ने हो भने दिनभर भारी बोकेर थाक्ने भरियाले कष्ट भोग्नुपर्ने थिएन’, लामा भन्छन्, ‘यहाँ नेपालीमाथि यस्तो विभेद र अत्याचार हुँदा पनि न प्रशासनको ध्यान गएको छ, न त कसैले उनीहरूका बारे आवाज नै उठाएका छन् ।’
महिलाहरू असुरक्षित
अनुसा राईले खुम्बु क्षेत्रका होटलमा काम गरेको वर्षौं भइसक्यो । काम गरेरै उनले आफ्नो परिवारका लागि खर्चको जोहो गर्छिन् । यहाँ यसरी नै होटलमा काम गरेर परिवार धान्नेको संख्या हजार बढी छ ।
होटलमै काम गरे पनि उनीहरूको बासको भने टुंगो छैन । उनीहरूले पनि सुत्नका लागि होटलको खुला किचन र डाइनिङमा सुत्नुपर्छ । ग्राहक थोरै भए पनि होटलवालाले कोठामा सुत्न दिँदैनन् ।
बिहान राम्रोसित उज्यालो नै नभई ग्राहकको सेवामा खटिने होटलका कामदारहरू राती अबेरसम्म होटलमै काम गरिरहेका हुन्छन् । जब काम सकिन्छ अनि आराम गर्ने ओछ्यानको खोजीमा लाग्नुपर्छ ।
उनीहरू भन्छन्, ‘पीडा धेरै छन्, देखाउन पाइँदैन । मनमा जति नै चोट पुगेको भए पनि ग्राहकको अघि पीडाको छनक दिन पाइँदैन । मुस्कानसहितको सेवा दिनुपर्छ । ग्राहकको अघि गएर हजार पीडा लुकाएर मुस्कुराउनुपर्छ ।’
कहिलेकाहीँ त मदिराले मात्तिएका ग्राहकले होटलमा काम गर्नेमाथि अभद्र व्यवहार पनि गर्छन् । त्यसलाई चुपचाप सहनुपर्छ । प्रतिकार गर्यो भने ग्राहक भड्काएको आरोपमा होटलवालाले उल्टै कामदारलाई कामबाट निकालिदिन्छन् र कुटपिटसमेत गर्छन् । यस्तो अवस्थामा सबैभन्दा बढी महिला कामदारहरू असुरक्षित हुन्छन्, जसले गर्दा शारीरिक श्रमसँगै मानसिक तनावसमेत झेल्नुपर्छ ।
भरियासँग पैसा असुली
पहिले पर्यटकहरूसँग जाने शेर्पाहरूलाई सगरमाथा जाँदा पैसा लाग्दैनथ्यो । अहिले सबैले पैसा तिर्नुपर्छ । खुम्बु पासाङ ल्हामु गाउँपालिकाले सगरमाथा क्षेत्र प्रवेश गर्ने हरेकलाई एक हजार ५०० रुपैयाँ कर अनिवार्य रूपमा लिने गरेको छ । यसले गर्दा भरियाहरूले समेत कर तिरेर मात्रै सगरमाथा जान पाउँछन् ।
प्रत्येक होटलहरूमा मात्र होइन, विमान चढ्न पनि त्यस्तै गाह्रो छ नेपालीलाई । विदेशीले लुक्लाबाट सिट खाली भएसम्म जतिबेला पनि सहज रूपमा टिकट पाउँछन् । टिकट सकिएको भए अर्को पटकको उडानमा ऊ प्राथमिकतामा पर्छ तर नेपालीले टिकट पाउँदैनन् । स्थानीय भन्छन्, ‘नेपालभित्रै नेपालीमाथिको यो विभेद कहिलेसम्म ?’
प्रकाशित मिति: बुधबार, वैशाख ४, २०७६