मानवअधिकारवादी समूह सर्भाइवल इन्टरनेसनलले गत वर्ष भारतीय अधिकारीलाई अमेरिकी मिसनरी जोन एलिन साओको शव फिर्ता लैजाने प्रयासमाथि रोक लगाउनुपर्ने माग गर्यो ।
साओको गत वर्ष नर्थ सेन्टिनल आइल्यान्ड पुगेको समयमा मृत्यु भएको थियो । समूहले यस्तो कोसिस सेन्टिनल जनजातिका मानिस र अधिकारी दुवैका लागि खतरनाक साबित हुनसक्ने भन्दै त्यस्तो कार्य रोक्न माग गरेका हुन् ।
अमेरिकी मिसनरी जोन एलिन साओको मृत्युपछि अन्डमान निकोबारको सेन्टिनल टापुमा रहेका समुदाय धेरै चर्चामा आएका थिए । गत वर्षको १७ नोभेम्बरमा नर्थ सेन्टिनल नजिक माछा मार्ने माझीले ती जनजातिका मानिसले २७ वर्षीय साओको मृत शरीर समुद्रको किनारामा ल्याएर गाडिरहेको देखेको बताएका थिए ।
उनीहरूले पछि शव गाडिएको भनेको ठाउँमा अधिकारवादीलाई पनि लगेका थिए । यस घटनाका बारेमा ८० वर्षीय भारतीय मानवशास्त्री टीएन पण्डितले भने, ‘ती अमेरिकी युवाको मृत्युमा म धेरै दुःखी छु तर उनले एक गल्ती गरे । बाँच्नका लागि उनीसँग मौका थियो तर उनी त्यहीँ बसे र जीवन गुमाए ।’
मानवशास्त्री पण्डित ती सीमित मान्छेमध्ये एक हुन्, जसले अन्डमान द्विपमा रहेको सेन्टिनल जनजातिसँग भेट गरेका छन् । सन् १९९१ मा सरकारी अभियानमा सामेल पण्डितले पनि यस प्रकारको अवस्थाको सामना गरेका थिए ।
उनी भन्छन्, ‘म उनीहरूलाई नरिवल दिएर मेरो टोलीसँग किनारतर्फ गइरहेको थिएँ । एक सेन्टिनल युवाले अचम्मको अनुहार बनाए र आफ्नो चक्कु लिएर मेरो टाउको काट्ने इशारा गरे । मैले तत्काल डुंगा बोलाएँ र फर्किएँ । उसको इशाराले उसले मेरो स्वागत गरेन भन्ने प्रष्ट थियो ।’

डरलाग्दो अनुहार
सन् १९७३ मा आफ्नो पहिलो यात्रालाई सम्झँदै टिएन पण्डितले भने, ‘हामी भाँडा, गाग्री, नरिवल, हथौडा र चक्कु जस्ता सामान उपहार लिएर गएका थियौँ । हामीसँग स्थानीय ओंग जनजातिका तीन जना पुरुषहरू पनि थिए । यसको उद्देश्य भनेको उनीहरूको कुरा बुझ्न सहज होस् भन्ने थियो ।’
यस सम्बन्धमा उनले सन् १९९९ मा एउटा लेख पनि लेखेका थिए, जसमा उनले आफूमाथि त्यहाँ भएका व्यवहार उल्लेख गरेका छन् । उनले त्यो क्षण सम्झँदै भनेका छन्, ‘सेन्टिनल जनजाति रिसाउँदा आफ्नो गम्भीर अनुहारसँगै लामो धनुष र तीरसँगै सशस्त्र भएर हाम्रो सामु आए । उनीहरू आफ्नो जमिन बचाउनका लागि घुसपैठियासँग लड्न तयार भएका थिए ।’
बाँधेर लगिएको सुँगुर पनि उनीहरूका लागि उपयुक्त उपहार थिएन । यसलाई उनीहरूले भालाले मारे र बालुवामुनि पुरिदिए । उनीहरूको बारेमा धेरै कम जानकारी मात्रै छ, यस कारण सेन्टिनलका बारेमा केही मिथक पनि छ । त्यही लेखलाई याद गर्दै उनले भने, ‘द्विप र पोर्ट ब्लेयर (नजिकको ठूलो बन्दरगाह)मा एक लोकप्रिय धारणा थियो कि उत्तरी सेन्टिनेल द्विपमा पठानका अपराधी छन्, जो ब्रिटिस जेलबाट फरार भएका थिए ।’
सन् १९७० को दशकमा पण्डित र उनीहरूका सहयोगीले उनीहरूलाई बुझ्न र उनीहरूसँग सम्बन्ध स्थापित गर्नका लागि एक अभियान चलाएका थिए, जसको सफलता उनीहरूलाई सन् १९९१ मा मात्रै मिल्यो । उनी भन्छन्, ‘उनीहरूले हामीलाई किन अनुमति दिए भन्ने विषयले हामी नै अचम्ममा थियौँ ।’
उनीहरूको शर्तमा छलफल गर्ने गरी यो भेटको निर्णय उनीहरूले नै गरेका थिए । ‘हामी डुंगाबाट बाहिर निस्कियौँ र उनीहरूलाई नरिवल र अन्य उपहार दियौँ तर हामीलाई उनीहरूको टापुमा पाइला राख्ने अनुमति थिएन’, उनले भने, ‘हमलाको विषयलाई लिएर उनीहरू त्यति चिन्तित थिएनन् तर हरेक समय सतर्क देखिन्थे ।’
उनले भने, ‘हाम्रो कुराकानीका क्रममा उनीहरूले केही पटक धम्क्याए तर हाम्रो कुराकानी हामीलाई मार्ने या घाइते बनाउने अवस्थासम्म कहिल्यै पुगेन । उनीहरू उत्तेजित भएर प्रस्तुत हुँदा हामी नरम भइदिन्थ्यौँ ।’
सेन्टिनेलिस न अग्ला छन्, न त होचा । उनीहरू धनुष र तीर लिएर हिँड्छन् । आपसमा कुराकानी पनि गर्छन् तर हामी भाषा बुझ्न सक्दैनौँ । ‘सुन्दा अन्य स्थानीय जनजाति जस्तै लाग्थ्यो । हामीले सांकेतिक भाषामा कुराकानी गर्ने कोसिस पनि गर्यौँ’, उनले भने, ‘तर उनीहरू नरिबल संकलन गर्न व्यस्त थिए ।’
यो समुदाय धनुष र तीरबाट माछा मार्नका लागि परिचित छ । जंगली सुँगुर, जमिनमा फल्ने फलपूmल–सागसब्जी र मह पनि खान्छन् । उनीहरू समुद्रको यात्रा गर्दैनन् ।

कडा सुरक्षा
उनीहरू आफ्नो क्षेत्रको सुरक्षा गर्नका लागि घुसपैठियामाथि हमला गर्ने गर्छन् । सन् २००६ मा नर्थ सेन्टिनल आइल्यान्डको नजिक पुगेका केही माझीको हत्या गरेका थिए । भारतीय अधिकारीले २००४ को बक्सिङ डे सुनामीपछि एरियल सर्भे गर्दा एक सेन्टिनेल व्यक्तिले वाणको सहयोगले हेलिकोप्टर खसाल्ने कोसिस गरेका थिए ।
विचित्र इतिहास
अन्डमान द्विपमा चार अफ्रिकन जनजातिका घर छन्, अन्डमानी, जोंग, जारवा र सेन्टिनेलिस । निकोबार द्विपमा दुई मंगोलियन जनजातिका घर छन्, सोम्पेन र निकोबारिस । ब्रिटिस औपनिवेशिक अधिकारीले द्विपमा एक दण्ड कोलोनीको स्थापना गरेका थिए, जो सन् १८५७ को युद्धमा भाग लिएका शत्रुको घर मानिन्थ्यो ।
यसलाई इतिहासकारहरूले भारतीय स्वतन्त्रता पहिलेको युद्धको रूपमा वर्णन गरेका छन् । राज र ग्रेट अन्डमानिजका सैनिकबीच पहिलो लडाइँ सन् १८५९ मा भएको थियो, जसको परिणाम पहिल्यै निर्धारित थियो । औपनिवेशिक युगमा जारबासमा रहने अन्य समुदायमा पनि दण्ड सम्बन्धित अभियान थिए ।
लडाइँ र बिरामीका कारण सबै मुख्य समूहको जनसंख्यामा कमी आयो तर सेन्टिनेलिस अलग टापुमा भएका कारण औपनिवेशिक संकटबाट बाँच्यो ।
अहिंसात्मक
हिंसा गर्ने छवि उनीहरूको बन्यो । पण्डितका अनुसार यो सही होइन । सेन्टिनेलिस शान्तिप्रिय छन् । उनीहरूलाई आक्रमण मनपर्दैन । हैरानीका कारण उनीहरू आसपासका क्षेत्रमा पनि जाँदैनन् । यो एक दुर्लभ घटना हो ।
प्रकाशित मिति: बुधबार, वैशाख ४, २०७६