सिड्नी : अस्ट्रेलियामा आप्रवासन नीतिमा कडाई गरेपछि नेपालीमा चिन्ता बढेको छ ।
यो आप्रवासन नीतिले अध्ययन र कामका लागि अस्ट्रेलिया पुगका नेपालीलाई समेत प्रभावित पार्न सक्नेछ । अस्ट्रेलियामा रहेका नेपालीहरु पछिल्लो नीतिगत परिवर्तनले निम्त्याउन सक्ने समस्यालाई लिएर नेपालीमा चिन्ता छाएको हो ।
अस्ट्रेलिया सरकारले गत महिना आफ्नो अध्यागमन तथा आप्रवासन नीतिमा परिवर्तन गर्दैै हरेक वर्ष अस्ट्रेलिया भित्रिने आप्रवासीको संख्या घटाएको छ ।
नयाँ नीतिअनुसार आगामी चार वर्षका लागि वार्षिक रूपमा अस्ट्रेलिया भित्रिने आप्रवासीको संख्या एक लाख ६० हजारमा सीमित गरिनेछ । हाल वार्षिक एक लाख ९० हजार भित्रने गरेका छन् ।
त्यस्तै दक्षता भएका कामदारहरूले पनि स्थायी बसोबासका लागि ग्रामीण क्षेत्रमा तीन वर्ष बस्नुपर्ने बाध्यात्मक व्यवस्था गरिएको छ । यसअघि दुई वर्ष ग्रामीण क्षेत्रमा बसेपछि स्थायी बसोबासका लागि आवेदन दिन पाइन्थ्यो ।
सरकारले सहरी क्षेत्रमा जनघनत्व बढेको भन्दै ग्रामीण क्षेत्रमा बस्न अनिवार्य गरेको हो । अस्ट्रेलियाले ग्रामीण क्षेत्रमा आप्रवासीलाई आकर्षित गर्न दुईवटा नयाँ प्रवेशाज्ञाअनुसार २३ हजारलाई भिसा दिइनेछ ।
सरकारले ग्रामीण क्षेत्रमा विद्यार्थी र कामदारलाई आकर्षित गर्न खोजे पनि हाल सहरी क्षेत्रमा बसेर अध्ययन गरिरहेकाहरूले ग्रामीण क्षेत्रमा जान पढाइ छाड्नुपर्ने अवस्था समेत आउन सक्ने बताइएको छ ।
ग्रामीण क्षेत्रमा कामको समस्या हुने भएकाले नेपालीहरु प्रभावित हुन सक्नेछन् । नयाँ नियमानुसार अध्ययनका लागि एक्लै अस्ट्रेलिया जानेलाई भने सरकारले प्रवर्धन गरेको देखिएको छ । अब एकल विद्यार्थी जाँदा १० अंक बढ्ने भएको छ ।
प्रकाशित मिति: बुधबार, वैशाख ४, २०७६