धनकुटा: साँगुरीगढी गाउँपालिका-५ निगाले, धनकुटामा गए राती चट्याङ लागेर १ जनाको मृत्यु भएको छ । राती साढे १२ बजे ३४ वर्षिय लालमान तामाङले मोबाईल चार्ज गरेर सुतिरहेको अवस्थामा चट्याङ लागेर गम्भीर घाइते भएका थिए । उनकाे उपचारकाे क्रममा मृत्यु भएको हो ।
धरान स्थित वी.पी. कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।
त्यसैगरी गएराति वर्षातसँगैको चट्याङले लागेर कलैया उपमहानगरपालिका-१३ मा ६ जना घाइते भएका छन्। यहाँको धरान नगरस्थित महल इँटा उद्योगमा चट्याङ लागेर ६ जना मजदुर घाइते भएका जिल्ला प्रहरी कार्यालय बाराका डिएसपी नवीन कार्कीले जानकारी दिए।
चट्याङ लागेर घाइते हुनेमा २ नेपाली र ४ भारतीय नागरिक छन्। प्रहरीका अनुसार चट्याङ लागेर बाराको कोतवालीका नैमुद्दिन अन्सारी र त्यही स्थानकी ६० वर्षीया सल्मा खातुन घाइते भएका छन्।
घाइते हुने भारतीयहरुमा बिहारको सीतामढीका मजदुरहरु कलेश्वर राम, भन्टु पासवान, रामप्रवेश राम र जितन पासवान छन्। उनीहरुको जिल्ला अस्पताल कलैयामा उपचार भइरहेको प्रहरीले जनाएको छ।
चट्याङ लागेर मजदुर बस्ने छाप्रोमा आगलागी भएको थियो। छाप्रोमा लागेको आगो कलैया नगरपालिकाको दमकलको सहयोगमा निभाइएको डिएसपी कार्कीले बताए।
प्रकाशित मिति: बुधबार, वैशाख ४, २०७६