काठमाडौं : सामाखुसी चोकबाट ग्रिनल्यान्ड हुँदै जाने बाटो ‘टोखा सडक’ विगत एक महिनादेखि बन्द छ । सामाखुसीबाट ग्रिनल्यान्ड जानुपर्यो भने रिङरोडको बसुन्धरा हुँदै घुमाउरो बाटो भएर जानुपर्ने बाध्यता छ ।
कुनै संगठनले बन्द गरेर वा कुनै विवाद भएर भने यो बाटो बन्द भएको होइन । यो सडकखण्डको ४०० मिटर क्षेत्रमा ढल निर्माण गर्नका लागि सडक बन्द गरेर काम थालिएको छ । निर्माण कार्य चलिरहँदा स्थानीय र यात्रुले केही सास्ती पाए पनि उनीहरू निर्माण सकिएपछि सहज हुने आशामा सहजै सास्तीलाई स्वीकार गरिरहेका छन् ।
ढल बिछ्याउने कामले तीव्रता नपाउँदा केही समस्या भने उत्पन्न भएको देखिन्छ । काठमाडौंको उत्तरी क्षेत्र टोखा, झोर, शिवपुरी र नुवाकोटको त्रिशूली जाने उक्त बाटो बन्द हुँदा यात्रुलाई समस्या परेको छ । बाटो बन्द हुँदा सवारी साधनले बसुन्धरा चौकी–धापासी हाइट हुँदै ग्रिनल्यान्ड निस्किनुपर्ने बाध्यता छ ।
सोही सडकखण्डमा फर्निचर पसल सञ्चालन गर्दै आएका हरि रोक्का झण्डै एक महिनादेखि बाटो बन्द हुँदा व्यापारमा समस्या भएको बताउँछन् । काम तीव्र गतिमा सञ्चालन नहुँदा व्यापारमा समस्या भएको उनको भनाइ छ । बाटो छिटो बनिदिए सबैलाई सहजता थपिने उनी बताउँछन् ।
त्यस्तै, सोही क्षेत्रकी पार्वती अधिकारी पनि बाटो बन्नु राम्रो काम भए पनि यति लामो समयसम्म बन्द हुँदा स्थानीय र यात्रुलाई हैरानी भएको बताउँछिन् । उनका अनुसार यस्तो यात्रुको चाप हुने सडकमा बरु राती काम गरेर भए पनि चाँडो सक्दा सहज हुने थियो ।
टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारी भने बनिसकेको बाटो भत्काएर ढल राख्नुपरेकाले अलिक समय लाग्ने र काम गर्न असहज भएको स्वीकार्छन् ।
उनी भन्छन्, ‘बाढी आउँदा घरभित्रै पस्ने, ढल फुटेर सडकभर दुर्गन्ध फैलिने समस्या भएपछि ढल राख्नै पर्ने बाध्यता आइलाग्यो ।’ उनका अनुसार लगभग डेढ महिनामा निर्माण सक्ने लक्ष्य रहेको उक्त योजनाका लागि ८० लाख रुपैयाँ बजेट विनियोजन गरिएको थियो ।
‘बनिसकेको सडक भत्काएर गर्नुपर्ने काम भएकाले समय लागेको हो’, उनले भने, ‘लगभग ७५ प्रतिशत काम भइसकेको छ ।’ विकास निर्माणका काम गर्दा केही समस्या उत्पन्न हुनु स्वाभाविक भएको भन्दै उनले जति सक्दो छिटो काम सम्पन्न गर्ने गरी काम भइरहेको बताए ।
उनले भने, ‘तथापि, हामीले वैकल्पिक मार्गको व्यवस्था गरेका छौँ ।’ मेयर अधिकारीले समयमै काम सक्ने बताए पनि निर्माणस्थलको अवस्था हेर्दा विश्वस्त हुन भने सकिँदैन ।
महानगरीय ट्राफिक प्रहरी वृत्त नयाँ बसपार्कका प्रमुख झलक थापामगर सामाखुसी चोकबाट ग्रिनल्यान्ड चोकसम्म बाटो मर्मत गर्दा ट्राफिक व्यवस्थापनमा समेत समस्या परेको बताउँछन् ।
उपत्यकाका अधिकांश स्थानमा सडक निर्माणका कामले गति नलिँदा यात्रु, चालक, स्थानीय, व्यवसायी समस्या भोग्न बाध्य छन् । ठेकेदारको लापरबाही, जग्गा विवादलगायतका विविध समस्याका कारण यात्रुले विभिन्न समस्या खेप्दै आएका छन् ।
प्रकाशित मिति: बुधबार, वैशाख ४, २०७६