काठमाडौं : चितवन पुगेर चैतको दोस्रो साता कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले सात दिनभित्र नेविसंघको केन्द्रीय समिति बन्ने दाबी गरे । सभापति शेरबहादुर देउवाका विश्वासपात्र मानिने महतले नै भनेपछि धेरैले नेविसंघले नेतृत्व पाउने आशा गरेका थिए । तर उनले त्यस्तो दाबी गरेको तेस्रो साता लागिसक्दा पनि नेविसंघ केन्द्रीय समितिविहीन छ ।
चैत १४ गते महतले गरेको दाबी किन अझै पूरा भएन ? मंगलबार महतले आजको न्युजसँग भने, ‘त्यो बेलामा छिट्टै नेविसंघको समिति ल्याइहाल्ने तयारी थियो । भोलि पर्सिमै गरिहाल्ने कुरा थियो । त्यस कारण मैले एक हप्तामा आउँछ भनेको हुँ ।’ महतले भनेजस्तै अन्तिम तयारी नै भइसके पनि अन्तिम समयमा रोकिनुको कारण भने उनले बताएनन् ।
पार्टीको प्राथमिकता फेरिएकाले केही समय ढिलो भएको हुनसक्ने उनले बताए । अब कहिलेसम्म आउला त नेविसंघको नयाँ नेतृत्व ? महत भन्छन्, ‘पहिला भनेको भएन । अहिले ठ्याक्कै नबोलिहालौँ तर धेरै ढिलो हुँदैन अब ।’ कांग्रेस नेतृत्वबीच नेविसंघ स्थापना दिवसको दिन अर्थात् वैशाख ६ गते नयाँ कार्यसमिति ल्याउने गरी छलफल भइरहेको स्रोतको दाबी छ । तर देउवा निकट स्रोतका अनुसार वैशाख ६ मा पनि नयाँ समिति आउने सम्भावना भने छैन ।
देउवालाई सकस : ‘थर्ड पोल’
नेविसंघमा नयाँ नेतृत्व ल्याउनका लागि सभापति शेरबहादुर देउवालाई कृष्ण सिटौला नेतृत्वको ‘थर्ड पोल’ले सकस थपेको छ । नेविसंघका पूर्वअध्यक्ष प्रदीप पौडेल र पूर्वमहामन्त्री गगन थापा थर्ड पोलका मुख्य पिल्लर हुन् । नेविसंघमा पौडेल र थापा प्रभाव पनि राख्छन् । नेविसंघ विघटन हुँदै गर्दा यो समूह म्याद थपको पक्षमा थियो । कांग्रेस केन्द्रीय कार्यालयमा यो समूहका तत्कालीन महामन्त्री कुन्दन काफ्लेको नेतृत्वमा म्याद थप गर्नुपर्ने भन्दै धर्ना नै दिएका थिए ।
टक पटक म्याद थप्दा पनि महाधिवेशन गर्न नसकेपछि नैनसिंह महर नेतृत्वको कार्यसमिति विघटन गर्ने दबाबमा सभापति देउवा थिए । वरिष्ठ नेता पौडेलले समेत त्यसमा सहमति जनाएपछि म्याद थप गर्ने ‘थर्ड पोल’को प्रयास विफल भएको थियो । त्यसपछि यो समूहले उमेर हदको नयाँ कार्ड देखाएर देउवालाई धम्क्याउँदै आएको छ ।
नेविसंघ विघटनको अन्तिम समयमा आइपुग्दा यो समूह उमेर हदको विपक्षमा थियो । ३२ वर्षे उमेर हद नलगाए आफ्नो समूहका काफ्ले अध्यक्ष बन्नेमा यो समूह विश्वस्त थियो । त्यसका लागि पौडेलसँग मिलेर सिटौलाले देउवालाई दबाबसमेत दिएका थिए । तर सो योजना विफल भएपछि सिटौला समूहले उमेरको कुरा उठाएको छ ।
पूर्वमहामन्त्री काफ्ले भन्छन्, ‘नेविसंघ ३२ मुनि आएन भने म चेतावनी दिन चाहन्छु, नयाँ कमिटी आएको एक हप्ताभित्र अर्को कमिटी आउँछ ।’ काफ्ले देउवा समूहका नैनसिंह महर नेतृत्वको प्यानलबाटै महामन्त्री निर्वाचित भएका थिए ।
देउवा–पौडेल विघटनमा एक ठाउँ, अहिले अलग
नेविसंघमा प्रभावशाली देखिएको सिटौला समूहलाई कमजोर बनाउन देउवा र पौडेल नेविसंघ भंग गर्न एक ठाउँमा उभिएका थिए । नेविसंघको मञ्च प्रयोग गरेर आफ्नाविरुद्ध सक्रिय भएपछि सिटौला समूहसँग देउवा हैरान बनेका थिए । पौडेल नेविसंघको निर्वाचनमा आफ्नो उम्मेदवार मनोजमणि आचार्यविरुद्ध देउवा समूहसँग मिलेर हराइदिएकाले त्यसको जवाफ दिन चाहन्थे । त्यही कारण देउवा र पौडेल नेविसंघ विघटनको विषयमा एकै ठाउँमा उभिन पुगेका थिए ।
पौडेलको साथ पाएपछि देउवालाई निर्णय गर्न सहज भएको थियो । तर अहिले पार्टीभित्रको शक्ति सन्तुलनमा फेरबदल आएको छ । पौडेल र सिटौला देउवाविरुद्ध एक ठाउँमा उभिँदा देउवा थप समस्यामा छन् ।
‘नेविसंघमा नयाँ नेतृत्व आउन नसक्नुको कारण विघटन गर्दाको समयमा जस्तै देउवा र पौडेल एकै ठाउँमा नभएर हो’, देउवा निकट नेविसंघका एक पूर्वअध्यक्षले भने । देउवाविरुद्ध एक ठाउँमा देखिए पनि पौडेल समूह र ‘थर्ड पोल’ नेविसंघको विषयमा भने अलग कित्तामा छ । पौडेल स्वयं नेविसंघको नयाँ नेतृत्व उमेर हद नलगाईकन ल्याउनुपर्नेमा छन् भने ‘थर्ड पोल’ ३२ वर्षे उमेर हद लागू गर्नुपर्ने पक्षमा छ ।
कहिले टुंगिएला ?
प्रमुख प्रतिपक्षी दल कांग्रेसको महत्त्वपूर्ण शक्तिका रूपमा हेरिन्छ, नेविसंघलाई । तर नेतृत्व नै नहुँदा नेविसंघ सिथिल देखिएको छ । प्रतिपक्षी दलले सडकमा त भूमिका खेल्न सकेन नै, सडकसमेत तताउन सक्ने हैसियत नभएको विश्लेषणसमेत हुन थालेको छ । प्रतिपक्षी विद्यार्थी संगठनको कार्यक्रममै एक विद्यार्थी संगठनका नेताले नेविसंघ नहुँदा सरकारविरोधी आन्दोलन उठ्न नसकेको भन्दै देउवालाई नेविसंघ बनाइदिन आग्रह नै गरेका थिए ।
सोही कार्यक्रममा नेविसंघ हेर्दै आएका सहमहामन्त्री महतले छिट्टै नेविसंघले नयाँ नेतृत्व आउने बताए पनि कहिलेसम्म आउला भन्नेबारे केही बताएनन् । उमेर हद लागू नगरी नेतृत्व ल्याउनेमा देउवा पक्ष लागे पनि आफूभित्रका आकांक्षी व्यवस्थापनमा समस्या भएको देउवा निकट बताउँछन् । यो समूहका राजिव ढुंगाना, ऋषिकेशजंग शाह, पुष्प शाही र सरोज थापामध्ये कसको नेतृत्वमा बनाउने भन्नेमा छलफल भइरहे पनि टुंगिनसकेको देउवा निकट एक नेताले बताए । ‘सभापति देउवा अब ढिलो गर्नुहुँदैन भन्नेमा हुनुहुन्छ । वैशाखभित्रै नयाँ समिति ल्याउने तयारी छ’, ती नेताले भने ।
प्रकाशित मिति: मंगलबार, वैशाख ३, २०७६