विराटनगर : सोमबार विराटनगरको जैन भवनमा प्रायजसो बजिरहने ‘ब्यान्डबाजा’ बजेन । दिउँसै विवाहको कार्यक्रमको आयोजना गरिएकाले झिलिमिली बत्तीको आवश्यकता नै परेन, तर रमझम भने उस्तै थियो ।
जैन भवनमा प्रायजसो मारवाडी समुदायले आफ्ना वैवाहिक तथा विभिन्न कार्यक्रमको आयोजना गर्छन् । सोमबार पनि वैवाहिक कार्यक्रमकै आयोजना गरिएको थियो । पाँच जोडी सन्थाल जातिका वरबधू लगनगाँठो कस्न तम्तयार थिए । जैन भवन सन्थाल जातिको गीत र नृत्यले गुन्जयमान थियो ।
सामूहिक आदर्श विवाहमा सहभागी हुन झापा र मोरङबाट सन्थाल समुदायका वरबधू मात्र होइन, उनीहरूका आफन्त, विराटनगरका प्रतिष्ठित व्यक्तिसमेत सहभागी भएका थिए । करिब दुई सय पचास जनाको उपस्थितिमा भएको वैवाहिक कार्यक्रम नवजोडीलाई शुभकामना प्रदान गर्न विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीसमेत पुगेका थिए ।
यसरी आदर्शवादी सामूहिक विवाहको चाँजोपाँजो भने जनजाति कल्याण आश्रम विराटनगरको संयोजनमा स्थानीय व्यापारी तथा समाजसेवी शिवरतन जोशीले मिलाएका थिए । बुधबार सोही जैन भवनमा जोशीका छोरा प्रशान्तको विवाह छ । मारवाडी समुदायका जोशीले आफ्ना एउटै छोराको विवाह धूमधामले गर्ने सोच बनाए । सँगसँगै सोही खुसीमा समाजमा केही उदाहरणीय काम गर्ने लक्ष्यले गरिब परिवारका छोराछोरीको विवाह गरिदिने विचार पनि गरे ।
जोशीले आजको न्युजसँग भने, ‘म सामान्य परिवारमा हुर्केको मान्छे, छोराको विवाहको अवसर पारेर अरू कसैको भलाई गर्न सकेँ भने राम्रो हुन्छ जस्तो लाग्यो । त्यसैले छोराको विवाहको खर्च कटाएर उनीहरूको विवाह गराइदिएँ ।’
उक्त विवाह सम्पन्न गर्न करिब तीन लाख रुपैयाँ खर्च भएको छ । जनजाति कल्याण आश्रम विराटनगरका महासचिव प्रेम थुलुङका अनुसार जोशीको आग्रहबमोजिम झापा र मोरङ जिल्लाका ग्रामीण इलाकाका आदिवासी जोडीको खोजी गरिएको थियो । ती जोडीमध्ये दुईको मागी र तीनको प्रेम विवाह हो । ‘उनीहरू आफैले केटाकेटी खोजेका हुन्’, थुलुङले भने, ‘हामीले विवाहको बन्दोबस्त मात्र गरेका हौँ ।’
जोशीकै खर्चमा वैवाहिक जोडीलाई लत्ताकपडा, एक महिनालाई पुग्ने रासन, एकसरो फर्निचरका सामग्री, भाँडाकुँडाका साथै साइकलसमेत प्रदान गरिएको थियो । वैवाहिक समारोहमा उपस्थित विशिष्ट व्यक्ति, सन्थाल समुदाय र अन्य सबै सामूहिक भोजमा समेत सहभागी भएका थिए । सयौँको संख्यामा उपस्थित व्यक्तिहरूले आदर्श विवाह सम्पन्न गरेकामा आयोजकलाई आभार व्यक्त गरेका थिए ।
सो अवसरमा सन्थाल परम्पराअनुसार वर र बधू पक्षबीचमा सहमति पत्रमा हस्ताक्षर समेत गराइएको थियो । विवाह उत्सवमा बधू पक्षले सन्थाली नृत्य प्रस्तुत गरेर खुसियाली मनाएका थिए । वैवाहिक बन्धनमा बाँधिएका देवेन हस्दाले आफ्नो विवाह यसप्रकारले हुन्छ भनेर कहिल्यै कल्पना नगरेको बताए । छेउमै रहेकी उनकी जीवनसंगिनी मुन्ना सोरेनले भनिन्, ‘धेरै खुसी लागेको छ । हामी गरिब परिवारको मान्छेको पनि यसरी विवाह भयो ।’
पूर्वी नेपालको झापा, मोरङ र सुनसरी जिल्लामा बसोबास गर्ने सन्थाल जातिको आफ्नो छुट्टै मौलिक पहिचान रहेको छ । नेपाल सरकारद्वारा आदिवासी जनजातिमा सूचीकृत जातिमा पर्ने सन्थाल समुदायको आफ्नै संस्कार, संस्कृति, वेषभूषा, साहित्य र भाषा लिपि छ । आफूलाई प्रकृतिको पूजारी मान्ने यो समुदाय सालको रूखलाई पवित्र मान्ने गर्छ । धनुषलाई आफ्नो प्रमुख हतियार मान्ने सन्थालहरूको जनसंख्या करिब एक लाख छ ।
आर्थिक, सामाजिक र राजनीतिक रूपमा पिल्सिएको सन्थाल समुदाय राज्यको मूलधारमा आउन सकेको छैन ।
प्रकाशित मिति: मंगलबार, वैशाख ३, २०७६