काठमाडौं : नेपाल पर्यटन वर्ष २०२० को झण्डा नेपाली र छिमेकी राष्ट्रका महिला आरोहीहरूलाई आज हस्तान्तरण गरिएको छ । नेपाल पर्यटन वर्ष २०२० को कार्यालय केशरमहलमा आयोजित पत्रकार सम्मलेनमा पर्यटन सचिव मोहनकृष्ण सापकोटाले प्रधानमन्त्री केपी शर्माको हस्ताक्षरसहितको झण्डा पाँच जना महिला आरोहीहरूलाई हस्तान्तरण गरे ।
आज पत्रकार सम्मेलनमा बोल्दै आरोहण दलकी टिम लिडर एदा चाङले हाम्रो टोलीले सगरमाथाको शिखरमा पर्यटन वर्ष २०२० को झण्डा लैजान पाउँदा खुसी भएको बताइन् । उनले नेपाल पर्यटन वर्ष २०२० को सफलताको शुभकामनासमेत व्यक्त गरिन् ।
.jpg)
नेपाल पर्यटन वर्ष २०२० को झण्डा हस्तान्तरण गर्दै पर्यटन सचिव मोहनकृष्ण सापकोटाले सबैलाई सफल आरोहणको शुभकामना दिए । उनले नेपाल पर्यटन वर्ष २०२० मा २० लाख पर्यटन भित्र्याउने लक्ष्य भएकाले सबैले पहल गर्नुपर्ने बताए ।
नेपाल पर्यटन वर्ष २०२० को कार्यालय संयोजक सुरज वैद्यले नेपाल पर्यटन वर्ष २०२० लाई सफल बनाउनका लागि मिडियाको भूमिका महत्त्वपूर्ण रहने भएकाले सरकारको आयोजना मात्र नसोची राष्ट्रिय अभियानको रूपमा लिइदिन आग्रह गरे ।
.jpg)
नेपालकी कान्छीमाया तामाङ, भारतकी कल्पना दास, चीनकका मा लियामु, एदा चाङ र सुन निङसहितका पाँच जनाको टोली नेपाल पर्यटन वर्ष २०२० को झण्डासहित आजै सगरमाथा आरोहणका लागि रामेछाप प्रस्थान गरेका छन् । उनीहरू ड्रिम्स डेस्टिनेसन ट्रेक्स एण्ड एक्स्पिडिसन प्रा.लि.मार्फत् सगरमाथा आरोहण गर्न लागेका हुन् । आरोहण दलका सरदार फुर्वा तेन्जिङ शेर्पाका अनुसार जेठ १ गतेदेखि जेठ १५ गतेसम्म आरोहण गरिसक्ने योजना छ ।
प्रकाशित मिति: सोमबार, वैशाख २, २०७६