सिड्नी : आगामी विश्वकप क्रिकेटका लागि अस्ट्रेलियाको राष्ट्रिय टोलीमा परेपछि ब्याट्सम्यानहरु डेभिड वार्नर र स्टिभ स्मिथ यसै महिनाको अन्तिममा आईपीएल छाडेर स्वदेश फर्किने भएका छन् ।
उनीहरु दुई मेमा आईपीएल टोली छाडेर राष्ट्रिय टिमको प्रशिक्षणमा सहभागी हुन अस्ट्रेलिया फर्किन लागेका हुन् ।
स्मिथ र वार्नर आईपीएलमा राजस्थान रोयल्स र सनराइजर्स हैदरावादबाट खेलिरहेका छन् । दुवै जना गत वर्ष खेलका क्रममा बल बिगारेको आरोपमा प्रतिबन्धमा परेका थिए ।
अस्ट्रेलिया क्रिकेटले भनेको छ, ‘आईसीसी विश्वकप क्रिकेटका लागि छनोट गरिएको १५ सदस्यीय टोली दुई मेबाट ब्रिस्बेनमा राष्ट्रिय क्रिकेट सेन्टरमा अभ्यास गर्नेछ ।’
वार्नरले आईपीएलमा ४०० रन बनाएर ओरेन्ज क्याप जितिसकेका छन् भने स्मिथले १८६ रन बनाएका छन् ।
राजस्थानले ३० अप्रिलमा रोयल च्यालेन्जर्स बैंग्लोर र ४ मेमा दिल्ली क्यापिटल्ससँग प्रतिस्पर्धा छ भने सनराइजर्स हैदरावादले दुई मेमा मुम्बई र चार मेमा बैंग्लोरसँग खेल्नुपर्नेछ ।
तिव्र गतिका बलर जेसन बेहरेनडार्फ र हरफनमौला मार्क स्टोइनिस पनि विश्वकप टोलीमा छानिएका छन् । यो महिनाको अन्तिममा मुम्बई इन्डियन्स र आरसीबीको खेल छाडेर जानेछन् ।
अस्ट्रेलियाले विश्वकपमा पहिलो खेल १ जुनमा अफगानिस्तानसँग खेल्दै विश्वकप यात्रा सुरु गर्नेछ ।
प्रकाशित मिति: सोमबार, वैशाख २, २०७६