काठमाडौं : आईसीसी यू–१९ विश्वकपको एसिया छनोटमा नेपालले दोस्रो जित निकालेको छ ।
मलेसियाले जितका लागि दिएको ९३ रनको लक्ष्य नेपालले मात्र १३ ओभरमा २ विकेटको क्षतिमा भेट्टायो । नेपालको जितमा रित गौतमले सर्वाधिक ३९ रन बनाए भने आशिफ शेखले २६, पवन सर्राफले १९ र रोहित पौडेलले ६ रनको योगदान दिए ।
यसअघि क्वाललम्पुरस्थित बायोमास ओभल क्रिकेट मैदानमा टस जितेर फिल्डिङ रोजेको नेपालले मलेसियालाई ९२ रनमा समेटेको थियो ।
मलेसियाका लागि लेजाद ड्यानियल फिक्रीले सर्वाधिक ३७ रन बनाए भने मोहम्मद अमिरले १३ र हकिम हरिसनले १० रन बनाउनुबाहेक अन्यले दोहोरो अंकको स्कोर गर्न सकेनन् ।
नेपालका लागि पवन सर्राफ र कुशल मल्लले समान ३–३ विकेट लिए भने कमलसिंह ऐरीले २ र सागर ढकालले १ विकेट लिए । पहिलो खेलमा सिंगापुरलाई हराएको नेपाल दोस्रो खेल बर्षाले प्रभावित भएपछि डिएलए नियमका आधारमा यूएईसँग १ रनले पराजित हुन पुगेको थियो ।
आठ टोली सहभागी यो प्रतियोगिताको शीर्ष स्थानमा रहने टोली दक्षिण अफ्रिकामा आयोजना हुने यू–१९ विश्वकपका लागि छनोट हुनेछ ।
प्रकाशित मिति: सोमबार, वैशाख २, २०७६