काठमाडौं : हिजाेबाट औपचारिक रूपमा पात्रो फेरिएको छ । अर्थात् हामीले वर्ष २०७५ लाई बिदा गर्दै २०७६ लाई स्वागत गरिसकेका छौँ । गत वर्ष विभिन्न साहित्यकारका कृति प्रकाशनमा आए । केही निकै चर्चामा रहे । केही विवादित बने भने केही गुमनाम रहे ।
२०७४ सालमा प्रकाशित भए पनि केही साहित्यिक कृति र सर्जक वर्षभर चर्चामा रहे । तीमध्ये वर्षभर चर्चामा रहेका केही साहित्यकार तथा तिनका कृतिलाई यहाँ समेटेका छौँ ।
नीलम कार्की ‘निहारिका’ (योगमाया)
साहित्यकार नीलम कार्की ‘निहारिका’ वर्ष २०७५ भर चर्चामा रहिन् । उनी उपन्यास ‘योगमाया’का कारण चर्चामा रहेकी हुन् । राणाकालमा समाज सुधारका लागि विद्रोह गरेकी भोजपुरकी योगमायाको जीवनीमा आधारित कृति योगमायाले २०७५ को मदन पुरस्कार प्राप्त गरेको थियो ।
२०७४ सालमा नेपालमा प्रकाशित २५३ पुस्तकमध्येबाट मदन पुरस्कार गुठीले आठ पुस्तक छनोट गरेको थियो । ती आठ पुस्तकमध्ये योगमायाले दुई लाख रुपैयाँ राशिको मदन पुरस्कार प्राप्त गरेको हो ।
इतिहासको विषयलाई अनुसन्धानात्मक रूपमा आख्यानमा चित्रित गरेका कारण पनि उनी चर्चामा रहिन् ।
सुशीला कार्की (न्याय)
प्रथम महिला प्रधानन्यायाधीश सुशीला कार्की असोजमा सार्वजनिक भएको आत्मकथा ‘न्याय’का कारण वर्ष २०७५ भर चर्चामा रहिन् । उनले उक्त पुस्तकमा न्याय क्षेत्रको लामो अनुभव, पेसागत जीवनमा आइपरेका आरोह अवरोह, गाह्रा, सजिला पक्ष, न्याय क्षेत्रका बेथिति र विकृतिलाई समेटिएकी छन् । उता, आफूले न्यायसम्पादनका क्रममा गरेका महत्त्वपूर्ण फैसलाहरू पनि पुस्तकमा सारमा राखेकी छन्।
पुस्तक प्रकाशित भएसँगै उनले न्यायपालिकालाई सही बाटोमा ल्याउनकै लागि पनि आफूले ‘न्याय’ पुस्तक लेखेको दाबी गरेकी थिइन् । सेवाबाट अवकास प्राप्त गरेपछि तुरुन्तै उनले न्याय क्षेत्रकै विषयमा केन्द्रित रहेर पुस्तक लेखेका कारण पनि उनी चर्चामा रहिन् ।
सरस्वती प्रतीक्षा (नथिया)
साहित्यकार सरस्वती प्रतीक्षा पनि वर्ष २०७५ भर चर्चामा रहिन् । उनी वादी महिलाको कथामा लेखिएको उपन्यास ‘नथिया’ का कारण चर्चामा रहेकी हुन् ।
उपन्यासमा दाङको पश्चिम उत्तर क्षेत्रमा अपहेलित रूपमा रहँदै आएका वादी महिलाको कथा समावेश गरिएको छ । उपन्यासमा लेखिएको विषयलाई लिएर साहित्यकार सरस्वती प्रतिक्षाविरुद्ध अदालतमा मुद्दा परेपछि झनै चर्चा भयो ।
बादी समुदायको आत्मसम्मानमा ठेस पुर्याउने र राज्यले बादी समुदायमाथि प्रयोग गर्न नपाइने भनी किटान गरेका शब्दलाई महत्त्वका साथ प्रयोग गरेको भन्दै बादी अगुवाहरू सर्वोच्च अदालत पुगेका थिए ।
कृतिबाट त्यस्ता शब्द हटाएर स्रष्टाले बादी समुदायसँग क्षमा माग्न निर्देशनात्मक आदेश जारी गर्न माग गर्दै मीना नेपालीसमेतका बादी अगुवाहरूले सर्वोच्चमा रिट दायर गरेका थिए ।
सर्वोच्चको फैसलाले कृतिको अर्को संस्करण प्रकाशन गरेमा संशोधन गर्नु पर्ने भनेको छ। न्यायाधीश ईश्वर खतिवडा र बमकुमार श्रेष्ठको संयुक्त इजलासले फागुन १५ गते मुद्दा फैसला गरेका थिए। धेरै पाठकको मन जित्न सफल नथिया विवादमा आएपछि झनै चर्चामा रह्यो ।
विवेक ओझा (ऐलानी)
युवा साहित्यकार विवेक ओझा वर्ष २०७५ मा चर्चामा रहे । वर्ष २०७४ को अन्यतिर सार्वजनिक भएको उपन्यास ‘ऐलानी’का कारण उनी चर्चामा रहेका हुन् । बादी महिलाको पीडा समेटिएको ऐलानीलाई पाठकले निकै रुचाए ।
उपन्यासमा प्रयोग भएको शब्दमाथि आपत्ति जनाउँदै प्रतीक्षाको नथियासँगै उनको कृतिमाथि पनि सर्वोच्च अदालतमा मुद्दा दायर भएको थियो ।
बादी समुदायको आत्मसम्मानमा ठेस पुर्याउने र राज्यले बादी समुदायमाथि प्रयोग गर्न नपाइने भनी किटान गरेका शब्दलाई महत्त्वका साथ प्रयोग गरेको भन्दै बादी अगुवाहरू सर्वोच्च अदालत पुगेका थिए ।
कृतिबाट त्यस्ता शब्द हटाएर स्रष्टाले बादी समुदायसँग क्षमा माग्न निर्देशनात्मक आदेश जारी गर्न माग गर्दै बादी अगुवाहरूले सर्वोच्चमा रिट दायर गरेका थिए ।
फागुन १५ गते सर्वोच्चका न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा र बमकुमार श्रेष्ठको इजलासले कृतिको अर्को संस्करण प्रकाशन गरेमा संशोधन गर्नु पर्ने भनेको छ।
ऐलानी पनि विवादमा आएपछि झनै चर्चामा रह्यो ।
रामलाल जोशी ‘सखी’
मदन पुरस्कार विजेता लेखक रामलाल जोशी पनि यस वर्ष चर्चामा रहे । असोजमा सार्वजनिक भएको उनको उपन्यास ‘सखी’ले उनलाई चर्चामा ल्यायो । उनको उपन्यासमा लामो समयसम्म राज्य र शासक समूहबाट मानव सरह नै नठानिएका थारू जातिको कथा समावेश छ ।
नेपाली साहित्यमा अहिलेसम्म आइरहेको भन्दा फरक परिवेशको कथा प्रस्तुत गरिएको भएकाले पनि उनको उपान्यसले चर्चा पाएको समीक्षकहरू बताउँछन् । ‘ऐना’ कथासंग्रहबाट मदन पुरस्कार प्राप्त गरेका साहित्यकार रामलाल जोशीको कृतिले पाठकको मन जित्न सफल भयो ।
प्रकाशित मिति: सोमबार, वैशाख २, २०७६