बैतडी : सुदूरपश्चिममा साली–भेना, देवर–भाउजू सिस्नोपानी हानेर रमाइलो गर्दै मनाइने पर्व मनाइएको छ । नयाँ वर्र्षको पहिलो दिन सुदूरपश्चिममा बिसु पर्वको रौनक छाएको छ । नयाँ वर्षको पहिलो दिनलाई धूमधामका साथ बिसु पर्वका रूपमा मनाउने चलन छ ।
बिसु पर्व विशेषगरी सुदूरपश्चिमका सात पहाडी जिल्लामा मनाइने गरिएको छ । बैतडी, अछाम, डोटी, डडेल्धुरा, बझाङ, बाजुरामा यो पर्व वैशाख १ गते मनाउने प्रचलन छ । देवर–भाउजू, नन्द–भाउजू र साली–भिनाजुले एकापसमा सिस्नोपानी छ्यापेर यो पर्व मनाइन्छ ।
देवर नहुने र नन्द नहुने, भाउजु नहुने देवर, भिनाजु नहुने साली र साली नहुने भिनाजुले बिसु तिहारको दिनमा आफैँले भए पनि शरीरमा सिस्नो लगाउनुपर्ने परम्परा रहेको संस्कृतिका जानकार जयानन्द भट्टको भनाइ छ ।
हिन्दू सम्राट विक्रमादित्यको पराक्रम र जन्मोत्सवको खुसियालीस्वरूप पौराणिककालदेखि नै बिसु पर्व मनाउने गरिएको विश्वास छ । सूर्यले पृथ्वीको परिक्रमा वैशाख १ गते पूरा गरेको विश्वासमा पनि यो पर्व मनाइने गरेको किंवदन्ती पाइन्छ ।
हरेक वर्ष बिसु पर्वमा मिठामिठा खानाका परिकार बनाउने र विशेष गरेर सिस्नो लगाउने प्रचलन छ । बिसुका दिन सिस्नो लगाउँदा वर्षभरि शरीरमा कुनै पनि रोग नलाग्ने जनविश्वास छ ।
शरीरमा सिस्नो लगाउँदा छालामा भएका खटिरा निको हुने र छालासम्बन्धी रोग निर्मूल हुने जनविश्वास पनि छ । पछिल्लो समय भने बिसु पर्वमा सिस्नो लगाउने चलन विस्तारै कम हुँदै जान थालेको छ । पहिलेको जस्तो रमाइलो गर्ने चलन हराइसकेको छ ।
सुदूरपश्चिमको महत्वपूर्ण पर्वका रूपमा रहेको बिसु पर्व आउनुपूर्व नै जिल्लामा रहेका सबै घर रातोमाटो र कमेरो माटोले लिपपोत गर्ने (स्थानीय भाषामा घर छिप्ने) गरिन्छ । विशेषगरी घर छिप्ने कार्यमा महिला सक्रिय हुन्छन् । नयाँ वर्ष आउनुभन्दा पहिले नै घर छिपेमा वर्षभरि नै सुख, शान्ति र समृद्धि हुन्छ भन्ने जनविश्वास छ ।
बिसु पर्व विषेशः सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा बढी मनाइने गरिन्छ । पहाडबाट बसाइँ सर्ने क्रम बढेसँगै तराईका कैलाली, कञ्चनपुरमा समेत यो पर्व मनाउने गरिन्छ ।
प्रकाशित मिति: आइतबार, वैशाख १, २०७६