झापा : नयाँ वर्ष लागेसँगै पूर्वी तराईका आदिवासी कोच समुदायको सिरुवा पर्व सुरु भएको छ । नयाँ वर्षको आगमनलाई स्वागत गर्दै राजवंशी, ताजपुरिया गनगाई, मेचे माझीलगायत कोच जातिका समुदायले तीन दिनसम्म सिरुवा पर्व मनाउँछन् ।
वर्षभरिको रिसराग पखाल्ने भन्दै एकआपसमा पानी छ्यापेर मनाइने यो पर्वले कोच समुदायमा निकै महत्व बोकेको छ । पहिलो दिन पानी सिरुवा, दोस्रो दिन आफ्नो कुल देवीदेवताको पूजा गर्ने गरिन्छ ।
वर्षको एक दिन माटोसँग खेलेमा शरीरका रोग नास हुने मान्यता रहेकाले आपसमा हिलो लगाएर काद सिरुवा खेल्ने र सिरुवाको अन्तिम दिन नयाँ वर्षलाई हर्सोल्लासका साथ रङ खेलेर समापन गरिने प्रचलन रहेको कमल गाउँपालिका–६ का आदिवासी समुदायका अग्रज नित्यानन्द ताजपुरियाले बताए ।
परापूर्वकालदेखि आदिवासी समुदायले मनाउँदै आएको सिरुवा पर्व विगतका केही वर्षहरूमा सामूहिक रूपमा मनाउँदै आएको नेपाल आदिवासी जनजाति महासङ्घका केन्द्रीय महासचिवसमेत रहेका ताजपुरिया बताउँछन् ।
यो पर्वमा विभिन्न परिकार खाने र संस्कृति झल्कने नाचगान गर्ने चलन छ । झापा, मोरङ र सुनसरी जिल्लामा मात्र बस्दै आएका राजवंशी, थारू, गनगाई, ताजपुरिया, माझीलगायतका जातिले सिरुवा मनाउने गर्छन् ।
पर्वको अवसरमा यी जिल्लामा विशेष सांस्कृतिक कार्यक्रमसहित सिरुवा मेला पनि लाग्ने गर्दछ । पूर्वका तीन जिल्लामा करिब तीन लाख ५० हजार कोच जनसंख्या रहेको अनुमान गरिएको छ । सिरुवाको अवसर पारेर जिल्लाको आदिवासी कोच बाहुल क्षेत्रका गौरादह, गौरीगन्ज, कचनकवललगायतका स्थानीय सरकारले वैशाख ३ गते सार्वजनिक बिदासमेत दिएका छन् ।
प्रकाशित मिति: आइतबार, वैशाख १, २०७६