काठमाडौं : विक्रमको २०७५ साल समाप्त भएर २०७६ सुरु भएको छ । गत वर्ष सामाजिक सञ्जालदेखि संसदसम्म धेरै व्यक्तिहरू चर्चामा आए । कतिको सकारात्मक त कतिको नकारात्मक चर्चा भयो यसबीच । चर्चामा रहेका केही त्यस्ता पात्रहरू, केही विषय तथा घटनाहरू पनि छन्, जसलाई यहाँ उल्लेख गरिएको छ ।
पूर्व एमाले र माओवादी केन्द्रबीच एकता
गत वर्ष जेठ ३ गते राष्ट्रिय सभागृहमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच औपचारिक एकताको घोषणा गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को उदय भएको छ । यो एकताले नेपालमा मात्र नभई देश विदेशमा समेत ठूलो तरंग ल्यायो ।
दुवै पार्टीका अध्यक्षले पार्टीको अध्यक्षता गर्ने निर्णय गर्दै केन्द्रमा एकताको घोषणा गरिएको थियो । तर पार्टी एकता भएको ११ महिना पूरा हुन लाग्दा पनि तल्लो तहसम्मको संगठनात्मक संरचना पूरा हुन नसक्दा कार्यकर्ताहरूबीच निराशा छाएको छ ।
३३ किलो सुन काण्ड
२०७४ माघ ७ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साढे ३३ किलो सुन तस्करी भयो । फ्लाई दुबईको जहाजबाट माघ ७ मा आएको साढे ३३ किलो सुन विमानस्थलको भन्सार र सुरक्षा संयन्त्र छलेर बाहिर आइपुग्यो । तस्करीको सुन विमानस्थलबाट बाहिर ल्याउने जिम्मा थाई एयरका प्राविधिक सानु वनले लिएका थिए । सानुले जसलाई सुन हस्तान्तरण गरेका थिए, त्यो मान्छे अचानक बेपत्ता भयो । सुन र मान्छे बेपत्ता भएपछि योजनाकार आत्तिए ।
तस्करीका मुख्य योजनाकार गोरे भनेर चिनिने चूडामणि उप्रेती हुन् । आफ्नो सुन हराएपछि उनले वनलाई नियन्त्रणमा लिएर धापासीस्थित थ्री मोटर्स ग्यारेजमा लगे । अनेक यातना पाएर ड्युटीमा फर्किएका वन अचानक २२ माघमा विमानस्थलभित्रै दुर्घटनामा मारिए । यस विषयमा विमानस्थल प्रशासन र प्रहरी संगठनले गम्भीर अनुसन्धान गरेन ।
वनको मृत्यु दुर्घटनामा दर्ज भएकाले गोरेलाई आफ्नो सुन खोज्न समय र सुविधा भयो । उप्रेतीले आफ्ना पूर्व लेखा सहयोगी सनम शाक्यले सुन लगेको शंका गरे । आफूसँग काम गरेर तीन महिनाअघि अलग्गिएका शाक्यले षड्यन्त्रपूर्वक सुन गायब बनाएका हुन सक्छन् भनेर उनलाई नियन्त्रणमा लिइयो । सनमसँगै टेकराज मल्ल, कृष्ण भनिने नरेन्द्र कार्की र मोहन काफ्लेलाई नियन्त्रणमा लिएर काठमाडौंबाट मोरङ पुर्याइयो । गाडीमा उनीहरूलाई त्यति टाढा पुर्याउँदा पनि प्रहरीबाट कुनै हस्तक्षेप भएन ।
नियन्त्रणमा परेका चारै जना गोरेको सहयोगी र भरियाको रूपमा काम गरिसकेका थिए । सुन कहाँ छ ? भन्दै उनीहरूलाई यातना दिन थालियो । करेन्टको झड्का सहन नसकेर सनमको ज्यान गयो ।
यसपछि धेरैलाई प्रहरी नियन्त्रणमा लिएर अनुसन्धान गरिरहे पनि उक्त ३३ किलो सुन अझै पत्ता लाग्न सकेको भने छैन । बरु अनुसन्धान रहस्यमय बन्दै गएको छ ।
निर्मला पन्त बलात्कार र हत्या
गत साउनमा कञ्चनपुरको भीमदत्त नगरपालिका– २ की १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या भयो । घटनामा संलग्नलाई पक्राउ गर्न नसक्दा सरकारको चौतर्फी आलोचना भयो । हत्यारा पक्राउ गर्नुपर्ने माग गर्दै कञ्चनपुरमा भएको प्रदर्शनमा प्रहरी हस्तक्षेप हुँदा प्रहरीको गोली लागेर एक जनाको ज्यान गयो भने केही घाइते भए । घाइतेहरू सामान्य अवस्थामा फर्किसकेका छन् भने केही घाइते अझै अस्पतालमै उपचाररत छन् ।
घटनामा प्रहरीको अनुसन्धान फितलो देखिएको भन्दै तत्कालीन प्रहरी उपरीक्षक डिल्लीराज विष्टसहित केही प्रहरीहरू निलम्बनमा परे ।
गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय, राष्ट्रिय अनुसन्धान विभागसमेतको टोलीले अनुसन्धान गरिरहेको बताइए पनि अझैसम्म घटनामा संलग्नको पहिचान हुन सकेको छैन ।
रेशम चौधरीलाई सांसद पदको शपथ
कैलालीको टीकापुरमा प्रहरी र आन्दोलनकारीको झडपमा एक बालक र सुरक्षा अधिकारीसहित आठ जनाको ज्यान जाने गरी भएको घटनामा मुछिएका रेशम चौधरीलाई डिल्लीबजार जेलबाट सिंहदरबार लगेर शपथ खुवाइयो ।
उनी प्रतिनिधिसभा चुनावमा कैलाली क्षेत्र नम्बर– १ बाट निर्वाचित भएका थिए । हत्याका आरोपित भन्दै त्यतिबेला शपथ नखुवाइएको भए पनि सरकारलाई समर्थन गरेको राष्ट्रिय जनता पार्टी नेपालको दबाबका कारण सरकारले एक वर्षपछि गएको पुसमा चौधरीलाई शपथ खुवाएको थियो । चौधरीको शपथमा कानुनी राज्यको उपहास गरेको भन्दै विरोध भइरहँदा राष्ट्रिय जनता पार्टीले भने उत्सव मनाइरहेको थियो ।
तर शपथ खुवाएको दुई महिनापछि अदालतले चौधरीसहित घटनामा संलग्न ११ जनालाई जन्मकैदको सजाय सुनाएपछि सरकारलाई समर्थन गरिरहेको राजपाले समर्थन फिर्ता लियो ।
यस्तै, राजिव गुरुङ उर्फ दीपक मनाङेको शपथलाई लिएर पनि विवाद देखियो । मनाङ प्रदेशसभा ‘ख’बाट स्वतन्त्र उम्मेदवार बनेका गुरुङ प्रदेशसभामा निर्वाचित भएका थिए ।
राष्ट्रपति भण्डारी विवादमा
राष्ट्रपति विद्यादेवी भण्डारीले दोस्रो पटक शपथ लिँदादेखि नै विवादमा रहिन् । दशैँ टीकामा समेत राष्ट्रपतिले सुख पाइनन् । उनले टीका लगाइदिएको फोटो सामाजिक सञ्जालमा बाहिरिएपछि राम्रै चर्चा बटुल्यो । फोटोमा उच्चपदस्थ अधिकारीहरूले राष्ट्रपति सामु घुँडा टेकेको थियो । यसले राष्ट्रपतिलाई निकै आलोचित बनायो ।
राष्ट्रपति विद्यादेवी भण्डारी विलासी बन्दै गएको भन्दै विवादमा तानिइन् । सरकारले राष्ट्रपतिका लागि भन्दै एक अर्ब ५० करोड रुपैयाँको हेलिकोप्टर खरिद गर्र्नेे निर्णय गरेपछि राष्ट्रपतिको सर्वत्र विरोध भयो ।
सिके राउतसँग सम्झौता, विप्लवमाथि प्रतिबन्ध
मअलग मधेसको नारा दिएर देशलाई विखण्डन गर्ने अभियान चलाएका डा. सीके राउतलाई राजनीतिको मूलधारमा ल्याउन गरिएको सहमति र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाउने सरकारको निर्णयले राम्रै चर्चा पायो । सिके राउत जेलबाट रिहा भएको भोलिपल्टै फागुन २४ गते सरकार र राउतबीच सहमतिपत्रमा हस्ताक्षर भएको थियो ।
सीके राउतसँग सम्झौता गरेको चार दिनपछि सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका गतिविधिमाथि प्रतिबन्ध लगाउने निर्णय गरेपछि सरकारको थप आलोचना भयो ।
बम विस्फोट, चन्दा आतंक जस्ता घटनालाई लिएर सरकारले उसलाई प्रतिबन्ध लगाउने घोषणा गरेको थियो । विप्लवले वैशाख ५ गतेका लागि नेपाल बन्दको घोषणा गर्दै सरकारविरुद्ध कार्यक्रम गर्ने चेतावनी दिँदै आएको छ । यसले आमसर्वसाधारणमा त्रास बढाएको छ ।
एसईईमा करिश्मा र शान्ता
इच्छा भए उमेरले शिक्षाको भोकलाई रोक्दैन भन्दै अभिनेत्री करिश्मा मानन्धर र सांसद शान्ता चौधरीले एसईई परीक्षा दिएपछि यस विषयले रामै्र चर्चा पायो ।
२०७५ सालको एसईई परीक्षामा नेपालभरिबाट सहभागी कुल चार लाख ७५ हजार तीन जना परीक्षार्थीमध्ये मानन्धर र चौधरी पनि थिए ।
करिश्मा मानन्धरले सानै उमेरदेखि नेपाली चलचित्रमा अभिनय गर्न थालिन् । शान्ता चौधरी पहिला कम्लहरी थिइन् । १८ वर्ष अर्काको घरमा काम गरेर बस्न बाध्य भइन् उनी । विभिन्न कारणले उमेर हुँदा उनीहरूले पढ्न पाएनन् ।
अहिले उनीहरू दुवै राजनीतिमा सक्रिय छन् । राजनीतिबाट समाज फेर्न सकिन्छ भन्ने उनीहरूको मान्यता छ । चौधरी प्रतिनिधिसभाकी सांसद हुन् भने मानन्धर नयाँ शक्ति पार्टी नेपालकी केन्द्रीय सदस्य हुन् ।
विवादमा नागरिकता विधेयक
नागरिकता ऐन संशोधन गर्न प्रस्तावित विधेयकमा महिला र पुरुषबीच विभेदकारी प्रावधान राखिएको भन्दै सांसदहरूले सरकारको चर्को आलोचना गरे ।
गृहमन्त्री रामबहादुर थापाले ऐन परिमार्जन गर्ने अधिकार संसद्लाई भएको भन्दै नागरिकताको विषय राष्ट्रिय सुरक्षासँग जोडिएकाले त्यसतर्फ पनि ध्यान दिनुपर्नेमा जोड दिएका थिए ।
नागरिकता लिनका लागि गरिएका कानुनी व्यवस्थामा विभेद रहेको भन्दै विगत केही समययता तिनमा सुधार गर्नुपर्ने आवाज उठ्दै आइरहेको पनि छ ।
विधेयकमा प्रस्ताव गरिएका व्यवस्था संविधानको समानताको हक र महिलाको हकसँग बाझिएको सांसदहरूले तर्क गरे । नागरिकता दिनका लागि आमाले पुष्टि गर्नुपर्ने, स्वघोषणा गर्नुपर्ने भनेर विभेदपूर्ण प्रावधान राखिएको भन्दै विवादमा मुछिएको हो ।
बालुवाटार जग्गा विवाद, नेकपा महासचिव नै आरोपित
यस वर्षको अन्तिम महिना चैत पनि चर्चाविहीन रहन सकेन । भूमाफियाहरूको चलखेलमा बालुवाटारमा रहेको सरकारी जग्गा व्यक्तिको नाममा पास भएको घटनामा सत्तारुढ दल नेकपाका महासचिव नै मुछिएपछि चर्चाको विषय बनेको हो ।
बालुवाटारमा रहेको सरकारी जग्गा किन्नेमा नेकपाका महासचिव विष्णु पौडेलसमेत रहेका देखिएपछि यो विषय निकै चर्चामा छ अहिले । यसै सन्दर्भमा सरकारका प्रवक्तासमेत रहेका संचारमन्त्री गोकुल बाँस्कोटाले नै पौडेलको बचाउमा पौडेललाई ठगिएको भनेपछि थप आलोचना सुरु भएको छ । पौडेलले आफूले कानुनसम्मत नै किनेको बताइरहे पनि यो निकै नै विवादित विषय बनेको छ ।
हवाई दुर्घटनामा पर्यटनमन्त्रीलगायतको मृत्यु, तराईमा हावाहुरी
यस वर्ष धेरै दुर्घटना भए । दुर्घटनाका कारण नेपालभर हजारौँले ज्यान गुमाए । दुर्घटनाका कारण धनजनको क्षति भयो तर यस वर्ष हेलिकोप्टर दुर्घटना र टोर्नाडो आँधी सबैभन्दा बढी चर्चामा रहे । बारा र पर्सामा २८ जनाको मृत्यु हुने गरी आएको विनाशकारी टोर्नाडोले लाखौँ रुपैयाँ बराबरको क्षति पुर्यायो साथै हजारौँलाई घरबारविहीन बनायो भने दर्जनौँलाई टुहुरा बनायो ।
त्यस्तै, ताप्लेजुङको फुङलिङ नगरपालिकामा पर्ने फुरुम्बु दारेढुङ्गा सिस्नेभीरमा भएको हेलिकोप्टर दुर्घटना हुँदा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित सात जनाको ज्यान गयो।
कर्मचारी समायोजन
नेपाल सरकारले संघ, प्रदेश र स्थानीय तहका कर्मचारीहरूको समायोजनको काम सम्पन्न गरेको छ । संघमा ४० हजार ७६९ जना, प्रदेशमा १४ हजार ६५९ जना र स्थानीय तहमा ३१ हजार ४३ जना गरी ९८ हजार ५३८ जनाको समायोजन गरेको हो । कर्मचारीको समायोजन सकिएसँगै सरकारले प्रशासनिक संक्रमणकाल सकिएको बताएको छ ।
तर समायोजनमा भेदभाव भएको भन्दै चिकित्सकहरू आन्दोलनमा उत्रिए । अन्य क्षेत्रका कर्मचारीमा पनि असन्तुष्टि देखिँदै आएको छ ।
प्रकाशित मिति: आइतबार, वैशाख १, २०७६