काठमाडौं : ‘समिट एयरलाइन्सका ३४ वर्षे सहचालक सुजित ढुंगाना निक्कै मिजासिला, असल र भलाद्मी व्यक्ति थिए’, समिट एरलाइन्सका अपरेसन म्यानेजर सागर आचार्यले भने, ‘भर्खरै उनले अन्तर्राष्ट्रिय स्तरमा गएर प्रशिक्षण पनि लिएका थिए ।’ १२ फेब्रुअरी २०१७ मा समिट एरलाइन्समा प्रवेश गरेका सहचालक ढुंगाना रामेछापबाट यात्रु लुक्ला पुर्यायाएर फर्किने क्रममा यस्तो दुर्घटना लुक्लामा भएको थियो ।
विदेशमा पढाइ पंरा गरेर पहिलो पटक उनले समिट एरलाइन्समै जागिर खान सुरु गरेका थिए । उनले अहिलेसम्म नेपालमा ६०० बढी उडान गरिसकेका थिए । अपरेसन म्यानेजर आचार्यका अनुसार जोमसोम, डोल्पा, सिमिकोट, लुक्ला, रामेछापलगायतका स्थानमा समिट एरलाइन्सले उडान भर्दै आएको थियो । फिलिपिन्समा पाइलट कोर्ष गरी फर्किएका ढुंगानाले १६ जनवरी २०१९ मा सहचालक मल्टिग्रुप कोअर्डिनेसन तालिमसमेत लिएका थिए ।
समिट एरलाइन्सले उनलाई चेकोस्लोभाकियामा सो तालिम लिन पठाएको थियो । त्यसबेला उनले २५ घण्टाको ग्राउण्ड तथा छ घण्टा फ्लाइट ट्रेनिङ गरेका थिए । बुबा ब्राह्मण (ढुंगाना) तथा आमा लामा भएका कारण उनले आफ्नो नामको पछाडि सुजित लामा ढुंगाना राखेका छन् । चाबहिल निवासी ल्हेमी लामाले छोरा ढुंगानालाई पाइलट पढ्न विदेश पठाएकी थिइन् । घर चाबहिल भए पनि उनकी आमा ल्हेमी फाप्लुमा व्यावसाय गर्दै आएका छन् । ढुंगानाले भर्खरै विवाहसमेत गरेका थिए ।
लुक्लाबाट उड्ने क्रममा क्याप्टेन रवीन्द्रबहादुर रोकाया, सहचालक ढुंगाना र एयर होस्टेस रश्मि लामा रहेका थिए । क्याप्टेन रोकायाको ग्राण्डी अस्पतालमा उपचार भइरहेको आचार्यले जानकारी दिए । उनको अवस्था खतरामुक्त रहेको छ । त्यस्तै, एयर होस्टेस लामा सकुसल अवस्थामा अहिले लुक्लामै छन् । समिट एयरलाइन्सको टोली आजै घट्नास्थलतर्फ जान लागेको छ । सोही टोलीसँग लामा काठमाडौं फर्किने समिट एरलाइन्सले जनाएको छ ।
आइतबार बिहान लुक्ला विमानस्थलमा भएको विमान दुर्घटनाका घाइते अझै त्रासमा छन् । घाइतेहरूलाई उपचारका लागि काठमाडौंको ग्राण्डी अस्पताल ल्याइएको छ । उनीहरूको अवस्था सामान्य नभए पनि अवस्था खतरामुक्त रहेको अस्पतालका मेडिकल डाइरेक्टर चक्रराज पाण्डेले जानकारी दिए ।
अस्पतालको इमर्जेन्सी वार्डमा घाइते चार जनाको उपचार भइरहेको छ । ५१ वर्षे स्याङ्बोचे कार्कीको अवस्था अन्य घाइतेको भन्दा सामान्य छ । इमर्जेन्सी वार्डमा रहेका घाइतेहरू घटनाका बारेमा केही बताउन सक्ने अवस्थामा छैनन् । रवीन्द्र रोकाया, चेत गुरुङ र लाक्पा शेर्पा अझै दुर्घटनाकै त्रासमा देखिन्छन् ।
‘रनवेमा रहेको समिट एयरको हेलिकोप्टरले टेक अफ लिनै लाग्दा कसरी ठोक्कियो थाहै पाइनँ’, मनाङ एयरका पाइलट चेत गुरुङले भने । घाइते रोकायाले आफू घटनाबारे केही बताउने अवस्थामै नरहेको बताए । समिट एयरका डाइरेक्टर मोहन कार्कीले दुर्घटनाबाट आफूहरू दुखी रहेको बताए । ‘दुखद् घटना भयो । घाइतेहरूको राम्रोसँग उपचार गर्ने कुरामा हाम्रो ध्यान छ’, कार्कीले भने ।
घाइतेहरूले सञ्चारकर्मीले तस्वीर र भिडियो लिन खोज्दा आफूहरू त्यसका लागि तयार नभएको बताएका छन् । अहिले ग्राण्डी अस्पतालमा घाइतेका तस्वीर र भिडियो खिच्न सञ्चारकर्मीहरू पर्खाइमै छन् । दुर्घटनामा निधन भएका प्रहरी सहायक निरिक्षक रामबहादुर खड्काको घर दोलाखा हो भने अर्का असई रुद्रबहादुर श्रेष्ठको घर भोजपुर रहेको छ ।

पहिलो तस्वीर : आफ्नो गुरु तथा क्याप्टेन रोकायाका साथमा मृतक ढुंगाना ।
दोस्रो तस्वीर : आमासँग मृतक ढुंगाना
तस्वीरहरू : सुजित ढुंगानाको फेसबुक
प्रकाशित मिति: आइतबार, वैशाख १, २०७६