काठमाडाै : आइतबार बिहान लुक्ला विमानस्थलमा भएकाे विमान दुर्घटनाका घाइते अझै त्रासमा छन् । घाइतेहरूलाई उपचारका लागि काठमाडाैंकाे ग्राण्डी अस्पताल ल्याइएकाे छ । उनीहरूकाे अवस्था सामान्य नभए पनि अवस्था खतरामुक्त रहेकाे अस्पतालका मेडिकल डाइरेक्टर चक्रराज पाण्डेले जानकारी दिए ।
अस्पतालकाे इमर्जेन्सी वार्डमा घाइते चार जनाकाे उपचार भइरहेकाे छ । ५१ वर्षे स्याङ्बाेचे कार्कीकाे अवस्था अन्य घाइतेकाे भन्दा सामान्य छ । इमर्जेन्सी वार्डमा रहेका घाइतेहरू घटनाका बारेमा केही बताउन सक्ने अवस्थामा छैनन् । रवीन्द्र राेकाया, चेत गुरुङ र लाक्पा शेर्पा अझै दुर्घटनाकै त्रासमा देखिन्छन् ।
रनवेमा रहेकाे समिट एयरकाे हेलिकोप्टरले टेक अफ लिनै लाग्दा कसरी ठाेक्कियाे थाहै पाइनँ , मनाङ एयरका पाइलट चेत गुरुङले भने । घाइते राेकायाले आफू घटनाबारे केही बताउने अवस्थामै नरहेकाे बताए । समिट एयरका डाइरेक्टर माेहन कार्कीले दुर्घटनाबाट आफूहरू दुखी रहेकाे बताए । दुखद् घटना भयाे । घाइतेहरूकाे राम्राेसँग उपचार गर्ने कुरामा हाम्राे ध्यान छ , कार्कीले भने ।
घाइतेहरूले सञ्चारकर्मीले तस्वीर र भिडियाे लिन खाेज्दा आफूहरू त्यसका लागि तयार नभएकाे बताएका छन् । अहिले ग्राण्डी अस्पतालमा घाइतेका तस्वीर र भिडियाे खिच्न सञ्चारकर्मीहरू पर्खाइमै छन् ।
प्रकाशित मिति: आइतबार, वैशाख १, २०७६