कठमाडौं : आइतबार बिहान ९ः५ मा लुक्लाबाट मन्थलीका लागि उडान भर्ने क्रममा समिट एयरको विमान दुर्घटना भयो । टेक अफ गर्ने क्रममा रोकिइराखेको मनाङ एयरको हेलिकोप्टरमा ठोकिएर उक्त विमान दुर्घटना भएको हो ।
समिट एयरको नाइनएनएएमएच कल साइनको विमान लुक्लाबाट मन्थलीका लागि टेक अफ गर्ने क्रममा चिप्लिएर हेलिकोप्टरमा ठोकियो । छोटो र ओरालो रनवे भएको तेन्जिङ–हिलारी विामानस्थल लुक्लाको रनवेको नजिकै हेलिप्याड पनि छ । हवाईजहाजले रनवेबाट उडान गर्न लाग्दा एक्कासि चिप्लिएर हेलिप्याडमा धस्सिएको प्रहरीले जानकारी दियो ।
जिल्ला प्रहरी कार्यालय सोलुका प्रहरी निरीक्षक प्रदीप सुवेदीका अनुसार विमानस्थल सुरक्षामा खटिएका प्रहरी विमानस्थल वरिपरि बसेका थिए । खटिएका प्रहरीमध्ये प्रहरी सहायक निरीक्षक रामबहादुर खड्कालाई अनियन्त्रित जहाजले ठक्कर दिँदा घटनास्थलमै मृत्यु भयो । समिट एयरका सहचालक सुविद ढुङ्गानाको पनि घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
मनाङ एयरको हेलिकोप्टर पनि उडान भर्नका लागि तयार रहेको र सोही बेला समिट एयरको पनि उडान समय रहेको र रनवेसँगै हेलिप्याड रहेका कारण एक्कासि विमान ठोकिन पुगेको प्रहरीको भनाइ छ । विमान ठोकिँदा मनाङ एयर हेलिकोप्टरका चालक चेतबहादुर गुरुङ पनि घाइते भए । ड्युटीमा रहेका प्रहरी सहायक निरीक्षक रुद्रबहादुर श्रेष्ठ, मनाङ एयरका कर्मचारी ल्हाक्पा शेर्पा र समिट एयरका सहचालक रविनाथ रोकाया पनि घाइते भएका थिए । श्रेष्ठको उपचारका क्रममा काठमाडौंको ग्राण्डी अस्पतालमा मृत्यु भएको छ भने अन्य घाइतेको अवस्था सामान्य रहेको अस्पताल स्रोतले बताएको छ ।
मृतकको शव त्रिवि शिक्षण अस्पतालमा पोष्टमार्टमका लागि पठाइएको छ भने घाइतेको उपचार ग्राण्डी अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, वैशाख १, २०७६