उत्पादनशीलभन्दा आश्रित जनसंख्या थोरै भएको यो अवस्था न इतिहासमा थियो, न भविष्यमा रहनेछ । उत्पादनशील अथवा १५ देखि ६४ वर्ष उमेरसमूहको जनसंख्या अहिले ६२.६८ प्रतिशत पुगेको छ । आश्रितभन्दा उत्पादनशील जनसंख्या धेरै भएको यो दुर्लभ समय देश निर्माणमा प्रयोग हुन्छ कि खेर जान्छ ? गम्भीर चासो र अविलम्ब पहलको आवश्यकता छ । आजकाे नयाँ पत्रिकामा जीवन बस्नेत लेख्छन् ।
सक्रिय जनसंख्या (काम गर्ने उमेर समूह) लाई देश विकासको आधार मानिन्छ । १५ देखि ६४ वर्ष उमेर समूहको यो जनसंख्या अधिक हुँदा देशले जनसांख्यिक लाभमार्फत विकासमा फड्को मार्ने संसारभरको अनुभव छ । नेपालमा यस्तो जनसांख्यिक लाभको अवसर अब २८ वर्ष मात्र बाँकी रहेको अध्ययनले देखाएको छ ।
राष्ट्रिय योजना आयोग र युनिसेफले संयुक्त रूपमा गरेको उक्त अध्ययन प्रतिवेदनअनुसार नेपालको जनसांख्यिक लाभको जम्मा अवधि ५५ वर्ष छ । यो सन् १९९२ देखि सुरु भएको हो । अर्थात् पछिल्लो २७ वर्षदेखि सक्रिय जनसंख्या (युथ कन्ट्री) को भएको देशका रूपमा नेपाल रहेको छ । यसको अन्त्य (घट्दो क्रम) सन् २०४७ देखि सुरु हुनेछ । यसको मतलब अबको २८ वर्षसम्म मात्रै नेपालले जनसांख्यिक लाभ पाउनेछ । विज्ञहरूका अनुसार नेपालले जनसांख्यिक लाभको ५१ प्रतिशत समयावधी बाँकी छ भने ४९ प्रतिशत समय व्यतित भइसकेको छ ।
जनसांख्यिक लाभको अवधि के हो ?
काम गर्ने उमेर (१५ देखि ६४ वर्ष) को जनसंख्या सबैभन्दा बढी भएको अवधिलाई जनसांख्यिक लाभको अवधि भनिन्छ । आश्रित जनसंख्या (० देखि १४ वर्ष र ६५ वर्षभन्दा माथि)को तुलनामा काम गर्ने उमेरको जनसंख्या जुन बिन्दूबाट बढ्न सुरु हुन्छ, त्यो वर्षबाट जनसांख्यिक लाभ सुरु हुन्छ । यो विधिअनुसार योजना आयोग र युनिसेफले गरेको अध्ययनअनुसार सन् १९९२ बाट नेपालमा जनसांख्यिक लाभ सुरु भएको हो । त्यस्तै, जुन बिन्दूबाट काम गर्ने उमेरको जनसंख्या घट्न थाल्छ, त्यही वर्ष जनसांख्यिक लाभको अन्त्य भएको मानिन्छ । अध्ययनअनुसार सन् २०४७ मा जनसांख्यिक लाभ अन्त्य हुनेछ । यसरी नेपालमा जनसांख्यिक लाभ ५५ वर्ष कायम हुने अध्ययनको निष्कर्ष छ ।
६५ वर्ष वा त्योभन्दा बढी उमेरको जनसंख्या कुल जनसंख्याको ७ प्रतिशत वा त्यो भन्दा बढी भएमा त्यसलाई बुढ्यौलीमा प्रवेश गरेको समाज भनिन्छ । नेपाल ९ वर्षपछि सन् २०२८ मा बुढ्यौलीमा प्रवेश गरेको देश (एजिङ सोसाइटी) मा प्रवेश गर्ने प्रक्षेपण छ । यसको अर्थ ९ वर्षपछि नेपालमा ६५ वर्ष वा त्यो भन्दा बढी उमेरका मानिसको संख्या कुल जनसंख्याको ७ प्रतिशत नाध्नेछ ।
६५ वर्ष वा त्यो भन्दा बढी उमेरको जनसंख्या कुल जनसंख्याको १४ प्रतिशत वा त्यो भन्दा बढी भएको समाजलाई वृद्ध मानिस रहने समाज भनिन्छ । नेपाल सन् २०५४ अर्थात ३५ वर्षपछि वृद्ध मानिसको समाज (एज्ड सोसाइटी) मा प्रवेश गर्दैछ । अर्थात देशभित्र कम्तिमा पनि १४ प्रतिशत मानिस वृद्ध भइसकेका हुनेछन् प्रतिवेदन अनुसार सन् २०२८ देखि २०५४ सम्मको २६ वर्ष नेपालको लागि ‘एजिङ’ देखि र ‘एज्ड’ समाजको संक्रमणमा रहनेछ ।
विज्ञहरूका अनुसार नेपालको एजिङ गति दु्रत छ । यसलाई धेरथोर जापानको जस्तै हुने देखिन्छ । जापान सन् १९७० देखि १९९४ सम्मको २४ वर्षमा एजिङ संक्रमणमा थियो । यस्तै अवस्था अन्य औद्योगिक देशहरू फ्रान्समा ११५, स्वीडेनमा ८५, बेलायतमा ४७ र जर्मनीमा ४० वर्षको रह्यो ।
किन महत्वपूर्ण छ ?
जनसांख्यिक लाभ भनेको काम गर्न सक्ने उमेर समूहमा पर्ने जनसंख्याको बाहुल्यता हुने अवधी हो । अहिले नेपाल जनसांख्यिक लाभको दोस्रो र परिपक्व चरणबाट गुज्रिरहेको छ । यो अवधीमा राज्यले सही नीति अवलम्बन गरी लगानी गर्ने हो भने जनसांख्यिक फाइदा उठाउन सकिने तथा मानव विकास र आर्थिक वृद्धि ल्याउन सक्नेछ ।
अहिले देशमा सक्रिय/युवा जनसंख्या सबैभन्दा बढी छ । जनसाख्यिक संक्रमणको लाभको अवस्थालाई प्रभावकारी रुपमा प्रयोग गर्न सक्दा समुन्नत देश बन्ने अवसर छ । यस्तो चरणको अवधीमा आवश्यक थप लगानी गर्न नसकेमा आर्थिक वृद्धि असम्भव हुन्छ । बरु अवसरको अभावले युवामा नैराश्यता ल्याउछ । साथै राजनीतिक अस्थिरता र द्धन्द्ध वृद्धि गर्छ उक्त अवधीमा लाभ उठाउन नसकेमा त्यो जनसांख्यिक लाभको अन्त्य हुनेछ ।
अन्य देशसँगको तुलना
नेपालको जनसांख्यिक लाभको अवधी अन्य दक्षिण पूर्वी देशहरूको हाराहारीमा रहेको छ । जहा जापानको ६०. ५ वर्ष, मलेशिया ५५, ताइवान ५१ र हङकङ र दक्षिण कोरिया ५० वर्षको जनसांख्यिक लाभको अवधी थियो । जनसांख्यिक लाभ उठाउनेमा सिंगापुर, हङकङ, साउद कोरिया, ताइवानलगायत छन् । जनसांख्यिक संक्रमणको नेपालको यो अवस्था मलेसिया, ताइवान, जापान र इण्डोनेसियासँग मिल्दोजुल्दो छ ।
जनसांख्यिक लाभ कसरी प्रवेश गर्यो ?
जन्मदर र मृत्युदर उच्च भएका देशहरू विस्तारै न्यून जन्मदर र न्यून मृत्युदरको चरणमा प्रवेश गर्दा जनसांख्यिक लाभको अवस्थामा प्रवेश गर्छन् । जन्मदर र मृत्युदर दुवै न्यून हुनजाँदा समग्र रूपमा क्रियाशील जनसंख्या (१५–६५ उमेर समूह) को अनुपात उच्च हुनजान्छ । नेपालले जन्मदर/प्रजनन दर, मृत्युदर र आयुमा पछिल्लो ३५ वर्षमा यसरी प्रगति गरेको छ ।
१) सन् १९८० मा एक जना नेपाली महिलाले औसतमा झण्डै ६ (५ दशमलव ६२) जना बच्चा जन्माउने गरेकी थिइन् । यो २०१५ मा आइपुग्दा २ ( २ दशमलव ३२) जना बच्चा जन्माउने गरेको पाइयो । यसरी कुल प्रजनन् दरमा आश्चर्यजनक रुपमा घट्यो ।
२) त्यस्तै, कोरा मृत्यु दरमा पनि आधाले घट्न पुग्यो । अर्थात् १९८० मा १ हजार जनामा १ वर्षभित्र १७ जनाको मृत्यु हुने गरेकोमा २०१५ मा आइपुग्दा ७ जना मानिसमा झरेको पाइयो ।
३) आयुमा पनि नेपालले ठूलो सुधार गर्न सफल भएको छ । १९८० मा नेपालीको कुल औसत आयु ४८ वर्ष थियो । ३५ वर्षपछि सन् २०१५ मा ६९ वर्ष पुर्याउन सफल भयो । यसरी नेपालले जन्मदर÷प्रजननदर र मृत्युदरलाई आश्चर्यजनक रुपमा घटाउन र आयुलाई वृद्धि गर्न सफल हुँदा जनसांख्यिक लाभको चरणमा प्रवेश गर्न सफल भएको हो ।
४) साथै, जनचेतना, शिक्षा, स्वास्थ्य र शहरीकरण सफाई, पेशागत परिवर्तन लगायतका विभिन्न क्षेत्रमा आएको सकारात्मक परिवर्ननको समष्टि प्रतिफलको रूपमा नेपाल जनसांख्यिक संक्रमणको युगमा प्रवेश गर्न सफल भएको हो ।
नेपाल जनसांख्यिक लाभ लिने चरणमा छिटो प्रवेश
नेपालले हासिल गरेको मुत्युदर र जन्मदरको अवस्थमा अन्य देशहरू मध्यम आय भएका देशमा पुगिसकेका थिए । तर, नेपाल जनसांख्यिक लाभको चरणमा अतिकम विकसित रहकै अवस्थामा प्रवेश गरिसकेको छ । यो तुलनात्मक रुपमा छिटो हो । अन्य देशहरू प्रायः मध्यम आय भएका अवस्थामा मात्र यो चरणमा प्रवेश गरेको उदाहरण छ । तर, यसको खतरा भनेको नेपालको जनसंख्या चाडै बुढ्यौलीमा प्रवेश गर्नेछ । किनकि नेपालीको आयु छोटो छ र देश विकासको प्रारम्भिक अवस्थामै छ । यसकारण पनि नेपालले आगामी दिनमा आवश्यक र प्रभावकारी रणनीति र लगानी गरी स्रोतको परिचालनमा ध्यान दिनुपर्नेछ ।
प्राथमिकता के हुनुपर्छ ?
प्रतिवेदनअनुसार बालबालिकाको स्वास्थ्य, पोषण, पिउने पानी, सरसफाइ, शिक्षा, विकास र संरक्षणमा प्राथमिकता दिनुपर्नेछ । किनकि भविष्यमा निष्क्रिय हुने जनसंख्यालाई हेरचाह गर्न सक्ने गरी तयार गर्नुपर्नेछ । अहिलेदेखि नै बुढ्यौली समाज खेपिरहेका देशको अनुभवबाट सामाजिक सुरक्षा प्रणालीको व्यवस्था गर्नुपर्नेछ । यसले बुढ्यौली उमेरमा सहयोग पुर्याउनेछ । अबको ५० वर्षमा प्रत्येक ३ जना सक्रिय मानिसको भागमा १ जना आश्रित (वृद्ध) मानिसलाई हेर्ने दायित्व पर्नेछ । जुन अहिले ११ जनाको भागमा १ जना परिरहेको छ । यसकारण बालबालिकामा उच्च प्राथमिकतामा राखी लगानी गर्नुपर्ने विज्ञहरूको भनाइ छ ।
जनसांख्यिक लाभको अवधि सकिएपछि के हुन्छ ?
जनसांख्यिक लाभको अवसरलाई देश विकासमा उपयोग गर्न नसकेमा अरूमा आश्रित (वृद्ध र बालबालिका) निष्क्रिय जनसंख्या अधिक हुनेछ । जुन विकासको बाधकका रूपमा लिने गरिन्छ । तीव्र गतिमा पाका उमेरको जनसंख्या वृद्धि हुँदै जाँदा सक्रिय व्यक्ति (जनसंख्या) को दायित्वमा आश्रितको भार थपिँदै जान्छ । तीव्र गतिको संक्रमणले सामाजिक आर्थिक असर पार्नेछ भने आश्रित जनसंख्यालाई साथ सहयोग गर्नुपर्नेछ । त्यसले आउँदा दशकमा ठूलो मात्रामा आश्रितलाई हेर्ने जिम्मेवारी बढ्नेछ ।
प्रकाशित मिति: आइतबार, वैशाख १, २०७६