मधेसको सामान्य परिवारमा जन्मिएर देशको प्रथम राष्ट्रपति बन्ने अवसर पाउने भाग्यमानी व्यक्ति हुन् डा.रामवरण यादव । मधेस, हिमाल, पहाड उजाड बन्दै गइरहेकामा प्रथम राष्ट्रपति यादव चिन्तित देखिन्छन् । उनी चाहन्छन्- देशको पर्यावरणअनुसार विकास होस् । विकासका नाममा हिमाल, पहाड र तराईको विविधता संकटमा पर्दै गएकामा चिन्तित यादव पर्याप्त अध्ययन गरेर पर्यावरण सुहाउँदो विकास गर्नुपर्ने बताउँछन् । पछिल्लो समय जलवायु परिवर्तनले पारेको प्रभाव र उनैले सुरु गरेको चुरे संरक्षण कार्यक्रमका बारेमा केन्द्रित रहेर प्रथम राष्ट्रपति डा. यादवसँग आजको न्युजकर्मी जगन्नाथ दुलालले गरेकाे कुराकानीको अंशः
बारा र पर्सामा हावाहुरीका कारण धेरै मात्रामा जनधनको क्षति भयो । यसअघि मधेसमा यस प्रकारको हावाहुरी आएको थिएन । अहिले यसरी वितण्डा मच्चाउने गरी हावाहुरी आयो । यसबारे तपाईं के भन्नुहुन्छ ?
मेरो आफ्नो अनुभवका आधारमा केही भन्न सक्छु । विश्वव्यापी जलवायु परिवर्तनको असर विश्वव्यापी रूपमा र हाम्रो देशमा पनि देखिँदै छ । बाल्यकालदेखि अहिले ७७ वर्षको भएँ । म विज्ञ नै त होइन । पढेर, बुझेर, घुमेर मानिसले सिक्छ । केटाकेटीदेखि अहिलेसम्म ६०/६५ वर्षको हिमाल, पहाड, तराई घुम्दाको अनुभव मसँग छ । विश्वव्यापी तापक्रम बढिरहेको छ । वातावरणीय परिवर्तनको असर पनि हाम्रो देशमा परिरहेको छ । हाम्रो आफ्नो देशमा वातावरण, प्रकृतिलाई बचाउँदै कसरी विकासतर्फ जाने भनेर व्यवस्थापन कसरी गर्ने पनि भइरहेको छैन । यो दुवैका कारणले प्राकृतिक विपत् आइरहेको छ ।
हाम्रो भूगोलको विवधता छ र हिमाल छ । पहाड छ । तराई छ । चुरे छ । यो भूकम्पीय क्षेत्र पनि हो । चुरेको पाँच करोड वर्षको इतिहास भनिन्छ । हिमालको, महाभारतको आफ्नै इतिहास छ । बाराको बारेमा जुन प्रश्न गर्नुभयो त्यसबारेमा केही भन्छु । अहिले तराईमा गर्मी एकदमै बढेको छ । अघिल्लो वर्ष भैरहवामा ४४ डिग्री तापक्रम पुग्यो । जनकपुरमा ४२ डिग्री पुगेको रहेछ । ५५ वर्षअघि पढ्न आउँदा काठमाडौं हराभरा थियो । बागमती, विष्णुमतीमा कलकल सफा पानी बग्थ्यो । अहिले त्यो सपनाजस्तो लाग्छ । चुरिया ‘थिक फरेस्ट’ थियो । हात्ती, भालु, सिमसार क्षेत्रमा गैँडादेखि हरिण, मृग, निलगाई र पशुपक्षी र विभिन्न जातका वनस्पति थिए । घना जंगल भएकाले पानीको कमी थिएन । पानी सात÷सात दिनमा परिरहन्थ्यो । तर, अहिले त्यस्तो रहेन ।
मेरो गाउँमा पश्चिमतिरबाट पूरै करिब सय बिघामा आँपको गाछी थियो । अहिले सबै काट्या छ । पश्चिमबाट हावाहुरी आउँछ भनेर त्यसो गरिन्थ्यो होला । उत्तर र पश्चिमतिर बढी आँपको बगैँचा, बाँसको घारी, सिसौ हुन्थ्यो । त्यसले पनि हावा रोक्थ्यो । अहिले त्यो मासिएको छ ।
पहिला यस्तो प्रकारको हावाहुरी आउँदैनथ्यो । गाउँमा रूखहरू हुन्थे । आँपको गाछी हुन्थ्यो । मेरो गाउँमा पश्चिमतिरबाट पूरै करिब सय बिघामा आँपको गाछी थियो । अहिले सबै काट्या छ । पश्चिमबाट हावाहुरी आउँछ भनेर त्यसो गरिन्थ्यो होला । उत्तर र पश्चिमतिर बढी आँपको बगैँचा, बाँसको घारी, सिसौ हुन्थ्यो । त्यसले पनि हावा रोक्थ्यो । अहिले त्यो मासिएको छ । रूख हुन्थ्यो भने त्यसले पनि हावाहुरीको असर कम गथ्र्यो । जंगल फँडानी गर्दा, आँपका गाछी, बाँसका घारीहरू समाप्त गरिएकाले पनि बारामा हावाहुरीले बढी असर गर्यो भन्ने मेरो अनुभवले भन्न सक्छु । म सानो हुँदा पनि हावा आउँथ्यो । तर, यस्तो क्षति गरेको मैले थाहा पाएको थिइनँ ।
अब अहिले जलवायु परिवर्तनको असर त विश्वव्यापी रूपमै देखिएको छ । नेपाल यसबाट अछूतो रहन सक्छ र ?
अतिवृष्टि, अनावृष्टि, खडेरी, चक्रवात, हुण्डरीजस्ता प्रकोप हाम्रो देशमा भइरहेको छ । यसको मुख्य कारण नै विश्वको तापमान वृद्धिलाई मानिन्छ । नेपाल जलवायु परिवर्तनको विश्वव्यापी प्रकोपबाट टाढा रहन सक्दैन । वातावरणीय विसंगति बढ्ने क्रम नेपालमा पनि जारी छ । हाम्रो देशमा पहिला पनि आँधी आउँथ्यो । बिहारी आउँथ्यो । तर, अहिले बाराको कुरा सोध्नुभयो, यस्तो मैले यसअघि कहिल्यै थाहा पाएको थिइनँ । पक्की घरनै फोड्ने, गाडी नै पल्टाइदिने गरी हुण्डरी आएको पहिलो पटक सुनिरहेको छु मधेसमा ।
संसारमा सुनामी, समुद्री आँधी आउने क्रम बढ्दै गएको छ । अमेरिका, जापान, फिलिपिन्समा यस्तो देखिएको छ । हामीकहाँ पनि हावाहुरीको बेग बढी देखिरहेको छु । प्रि–मनसुनमा अहिले धेरै पानी परिरहेको छ । मनसुनमा गएर फेरि सुख्खा हुन्छ कि ? यसपालि बढी पानी पर्छ भनेको सुन्छु । पहिला बंगालको खाडीबाट आएको मनसुन पूर्वी पहाडबाट पस्थ्यो । मेची–कोसी अञ्चलबाट पानी आउँथ्यो । एक दशकयता अरब सागर बढी सक्रिय छ हाम्रो देशमा । यो पर्यावरणको परिवर्तन हो । मौसमको अन्तर्राष्ट्रिय परिवर्तनको असर हो । त्यस्तै, आन्तरिक रूपमा हामीले हाम्रा प्राकृतिक स्रोत साधनमाथि चरम दोहन गर्दा त्यसको पनि असर परेको छ ।
तपाईंले राष्ट्रपति भएपछि चुरे संरक्षणका लागि काम अघि बढाउनुभयो । कसरी त्यस्तो सोच आयो ?
मैले देशका लागि जति गरेँ त्योभन्दा बढी पाइसकेको छु । देशले, नेपाली जनताले मलाई धेरै दिइसक्नुभएको छ । एउटा सामान्य परिवारबाट आएको म देशको प्रमुख पद राष्ट्रपतिसम्म बनेँ । राष्ट्रपति पद संवैधानिक पद हो । पदमा रहेर कति गर्न सकेँ, भोलिको पुस्ताले त्यसको मूल्यांकन पक्कै गर्ला । राजनीतिमा लाग्दा मलाई एउटा विश्वास थियो कि राजनीतिको शीर्ष स्थानमा पुग्छु होला भनेर । तर, राष्ट्रपति हुन्छु भनेर त मैले सोच्या थिइनँ ।
लोकतान्त्रिक व्यवस्थामा राष्ट्रपति भएपछि रिटायर्ड त हुनुपर्छ । त्यसले गर्दा राजनीतिक अनुभव त छँदै छ, त्योबाहेक अरू जीवविज्ञान अध्ययन गर्दाको अनुभव पनि थियो । पढेर डाक्टर भएँ । दुईपटक मन्त्री हुँदा केही काम पनि गरेँ । पहिले गाउँमा हुँदा एउटा रूख काट्न पनि माया लाग्थ्यो । ‘प्लान्ट साइन्स’ प्रति मेरो झुकाव पहिलेदेखि नै थियो होला ।
पहिला स्वर्गजस्तो तराई अहिले नरक बनिसक्यो । म राष्ट्रपति होला भनेर मानिसहरूले सोचेका पनि थिएनन् । गिरिजाप्रसाद जी, प्रचण्ड जी राष्ट्रपति हुनुहुन्छ होला भनेर मानिसहरूले सोचिरहेका थिए । तर, देशवासीको आशीर्वादले होला, मेरो कर्मले होला म राष्ट्रपति भएँ । लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने मेरो जिम्मेवारी थियो । मधेस आन्दोलनका बेलामा मैले मुद्दा पनि उठाएँ । ०६२/६३ को जनआन्दोलनपछि देशमा जुन परिवर्तन भयो त्यो भूतो न भविष्यति ।
म कांग्रेसको महामन्त्री थिएँ, त्यतिबेला जनआन्दोलनबाट आएको परिवर्तन मिलेर संस्थागत गर्नुपर्छ भनेँ । पहाड र मधेसलाई फुटाएर राजनीति गर्नुहुन्न भन्ने मेरो अडान थियो । लोकतान्त्रिक पद्धतिमार्फत् नै हामीले मिलेर जानुपर्छ भन्ने मेरो मान्यता थियो त्यतिबेला । पहाड र मधेस मिलेरै जानुपर्छ भनेर मैले भनेँ । लोकतान्त्रिक गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता आएको छ । २००७, ०४६, ०६२ को परिवर्तनको लामो बलिदान र संघर्षले यहाँसम्म आइपुगेका छौँ । विधि विधानबाट नै हामीले परिवर्तनलाई संस्थागत गर्नुपर्छ भन्ने मेरो धारणा थियो ।
एउटा स्थायी काम केही गर्नुपर्यो भन्ने लाग्यो । मेरो काम बोल्ने हो । राष्ट्र संकटमा पर्दा मैले लोकतन्त्र, राष्ट्रियता, राष्ट्रिय अखण्डताका बारेमा बोल्ने होला । म बोलिरहन्छु । त्यो मेरो धर्म हो । अरू मेरो अनुभवले न्युट्रल क्षेत्रमा केही गर्नुपर्छ भन्ने सोचेँ । वातावरण संरक्षणको क्षेत्रमा केही गरौं भन्ने सोचअनुसार नै चुरे संरक्षण कार्यक्रम सुरु गरेको हुँ । राष्ट्रपति भएका बेला चुरे संरक्षणका लागि मैले अग्रसरता लिएँ ।
तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल, अर्थमन्त्री सुरेन्द्र पाण्डे, वन मन्त्रालयका अधिकारीहरूसँग छलफल गरेँ । उहाँहरू पनि त्यसमा सकारात्मक देखिनुभयो । त्यसपछि राष्ट्रपति चुरे संरक्षण कार्यक्रम सुरु भयो । त्यसको २० वर्षे गुरुयोजना बनिसकेको थियो । बिडम्बना अहिले त्यो त्यत्तिकै थन्किँदा दुःख लागेको छ ।
तर, चुरेको दोहन त झन्झन् बढ्दै गएको छ । चुरे संरक्षण अभियान कमजोर बन्दै गएकोप्रति के भन्नुहुन्छ ?
राष्ट्रपति रहँदा मैले देशका लागि के दिनसक्छु भनेर धेरै सोचेँ । मेरै जीवनकालमा चारकोसे झाडी सकियो । चुरे दोहन बढ्यो । चुरे संरक्षणका लागि केही गर्नुपर्छ भन्नेमा म चिन्तित थिएँ । चुरेको संरक्षणको कार्ययोजना अहिले थन्किएको छ । सरकार पनि त्यसमा संवदेनशील देखिँदैन । अहिले त संघ, प्रदेश र स्थानीय गरी तीन तहका सरकार छन् । सबैले आ आफ्नो ठाउँबाट चुरे संरक्षणमा पहल गर्ने हो भने काम प्रभावकारी हुनसक्छ भन्ने मेरो विश्वास छ ।
मध्यपहाडी र चुरे क्षेत्रमा ५० प्रतिशतभन्दा बढी पानीका मुहान सुकिसकेका रिपोर्टहरू आएका छन् । चुरेको दोहन अनियन्त्रित रूपमा दोहन भइरहेको छ । अझै रोकिएको छैन । यसकारण मैले चुरे संरक्षणमा जोड दिएको हुँ । चुरे र तराईको भूभाग करिब ३० प्रतिशत छ । तराईमा करिब ५१ प्रतिशत बसोबास छ । चुरेसहित ६० प्रतिशत बस्ती र जमिनको भविष्य बचाउन पनि चुरे संरक्षण अत्यावश्यक छ ।
चुरे क्षेत्र भएर विभिन्न राजमार्ग निर्माण पनि अघि बढेको छ । यसलाई चाहिँ कसरी लिनुभएको छ ?
पहिला जंगल फडानी भयो । अहिले बाटो ढुँगा खनेर दोहन भइरहेको छ । पहाडमा पनि त्यस्तै छ । इन्द्रावतीमा पनि नदी दोहन भएको समाचार पढ्दा दुःख लाग्यो । पहाडमा मध्यपहाडी लोकमार्ग बनिरहेको छ । चुरे भएर मदन भण्डारी राजमार्ग बन्ने कुरा सुनेको छु । महेन्द्र राजमार्ग छ लेनको बनाउने कुरा सुनेको छु । पूर्वपश्चिम रेलमार्ग निर्माणको कुरा आएको छ । विकास निर्माण हुनु राम्रो कुरा हो । विकास हुनुहुन्न भन्ने मेरो भनाइ होइन तर हामीले यसका लागि कतिको अध्ययन गरेका छौं ? यो मेरो जिज्ञासा हो ।
यसले वातावरणीय, पर्यावरणीय र मानवजातिमा पार्न सक्ने असरका बारेमा अध्ययन भएको छ कि छैन ? यो अहम् प्रश्न हो । विकास नै गर्नुहुन्न भन्ने होइन । तर, विकासका नाममा विनास चाहिँ रोकिनुपर्छ । नेपाल स्वर्गको टुक्रा हो । हिमाल, पहाड, तराई यहीँ छ । यस्तो सुन्दर देश अन्यत्र कहाँ छ ? तर, हामीले प्रकृतिले दिएको स्वर्गको टुक्रालाई बचाउन पर्याप्त ध्यान दिइरहेका छैनौं ।
प्रकृतिले दिएको प्राकृतिक सुन्दरतालाई जोगाउँदै विकास निर्माण गर्नेतर्फ अब हाम्रोे ध्यान जानुपर्छ । स्वीजरल्यान्ड, चीन, जर्मनी, भारतजस्ता मुलुकले पहाडमा कसरी विकास गरेका छन् ? त्यसको अध्ययन गर्नुपर्छ । हामीले यहाँ वैज्ञानिक रूपमा वातावरण सुहाउँदो विकास गर्न सके कम क्षतिमा हामीले भनेको समृद्धि ल्याउन सक्छौं । मैले विकासका नाममा हाम्रा हिमाल, पहाड, तराईलाई कुरूप नबनाऔं भन्दै आएको छु । पहाड र चुरेको भविष्यसँग तराईको पनि भविष्य र अस्तित्व जोडिएको छ । यसतर्फ सबैले ध्यान दिनु जरुरी छ । चुरे विनास भयो भने भोलि मधेसमा प्राकृतिक स्रोत साधनका लागि द्वन्द्व सुरु हुनसक्छ । त्यसतर्फ बेलैमा सोच्न सक्नुपर्छ ।
प्रकाशित मिति: शनिबार, चैत ३०, २०७५