विराटनगर : नेपाल पत्रकार महासंघ प्रदेश १ को भवन निर्माण हुने भएको छ । विराटनगर महानगरपालिकाले बरगाछीको चाँदनी चोकमा उपलब्ध गराएको जमिनमा भवन निर्माण गरिने भएको हो ।
रामनवमीको अवसर पारेर शनिबार विराटनगरका मेयर भीम पराजुलीले भवनको शिलान्यास गरे । महानगरले महासंघको नाममा एक कठ्ठा जग्गा उपलब्ध गराएको थियो । प्रदेश सरकारले उपलब्ध गराएको ४० लाख रुपैयाँको लागतमा भवन निर्माण गर्न लागिएको महासंघ प्रदेश १ का अध्यक्ष विक्रम लुइँटेलले आजको न्युजलाई बताए ।
एक वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ निर्माण सुरु गरिएको भवनमा प्रदेशको कार्यालय, सभाहल, व्यावसायिक सटर र पुस्तकालय रहने छन् । भवनको भुइँतल्लामा व्यावसायिक सटर र पुस्तकालय, पहिलो तल्लामा कार्यालय र दोस्रो तल्लामा करिब तीन सय जना अट्न सक्ने सभाहल निर्माण गरिने छ ।
प्रकाशित मिति: शनिबार, चैत ३०, २०७५