सङ्खुवासभाः चैनपुर रङ्गशालामा शुक्रबार भएको प्रदेश नम्बर १ स्तरीय दोस्रो चैनपुर मेयर गोल्डकप खुल्ला पुरुष फुटबल प्रतियोगिताको उपाधि चैनपुर नगरपालिकाले जितेको छ । चैनपुर नगरपालिकाले उदयपुरको कटारी नगरपालिकालाई ३–० गोलले हराएको हो ।
फाइनल खेलमा चैनपुरका लागि फ्रेन्चेस डोइले १८औँ मिनेटमा गोल गरेका थिए । ३१ मिनेटपछि वर्तमान राईले अर्को गोल गरे । खेल सकिन तीन मिनेट बाँकी छँदा चैनपुरका लागि विलसन लिम्बूले तेस्रो गोल गरे । उक्त खेलमा मोरङको उर्लावारी नगरपालिका र इलामको सूर्यदयन नगरपालिका क्रमशः तेस्रो र चौथो भए ।
प्रतियोगिताको विजेतालाई पाँच लाख ५५ हजार ५५५, द्वितीय हुने टोलीलाई तीन लाख ३३ हजार ३३३, तृतीय तथा चौथो टोलीलाई एक लाख ११ हजार १११ रुपैयाँ नगदसहित पुरस्कृत गरिएको थियो ।
सर्वोत्कृष्ट खेलाडीलाई १५ हजार, उत्कृष्ट गोलरक्षकलाई १० हजार तथा प्रत्येक खेलमा ‘म्यान अफ द म्याच’ घोषित खेलाडीलाई पाँच हजार पुरस्कार प्रदान गरिएको मूल आयोजक समितिका सदस्य सचिव टङ्क रोक्काले जानकारी दिए ।
प्रकाशित मिति: शनिबार, चैत ३०, २०७५