बर्दिवास : बढ्दो गर्मीसँगै महोत्तरी कारागारमा कैदीबन्दी बिरामी हुने क्रम ह्वात्तै बढेको छ । क्षमताभन्दा बढी कैदीबन्दी रहेको महोत्तरीको जलेश्वरस्थित कारागारमा पछिल्लोपटक गर्मी बढेसँगै बिरामीको सङ्ख्या ह्वात्तै बढेको हो ।
कारागारमा दम्मा (श्वासप्रश्वास), रुघाखोकी, ज्वरो, निमोनिया र लुतोलगायत रोगका बिरामी ह्वात्तै बढेको कारागार प्रशासनले जनाएको छ । न्यायिक निकायले थेग्नै नसक्ने गरी कैदीबन्दी पठाइदिने गरेपछि उनीहरूको बसाइ व्यवस्थापन गर्न गाह्रो भएको र योसँगै बिरामी हुने क्रम बढेकाले चुनौती थपिएको कारागार प्रशासनले जनाएको छ । अहिले दिनहुँ नियमित उपचार लिनेकोे सङ्ख्या १०० को हाराहारीमा रहेको कारागारका निमित्त प्रमुख (जेलर) समेत रहेका वरिष्ठ स्वास्थ्यकर्मी प्रदीपकुमार साहले बताए ।
कुल एक सय ३५ कैदीबन्दी राख्न सक्ने क्षमताको यो कारागारमा अहिले तेब्बरभन्दा बढी सङ्ख्याका कैदीबन्दी भएपछि उनीहरूको बसाइकै अप्ठ्यारोले बिरामी हुने क्रम बढेको निमित्त कारागार प्रमुख साहको भनाइ छ । कारागारमा पुरुष र महिलाका लागि दुई छुट्टाछुट्टै कक्ष छन् । अहिले महिलाकक्षमा दुई आश्रित बालबालिकासहित ४६ र पुरुषकक्षमा ४१९ पुरुष गरी कुल ४६५ कैदीबन्दी छन् ।
यसअघि पाँच सय १२ सम्म पुगेको यो सङ्ख्या कैदीलाई पछिल्लो चार महिनाभित्र क्रमशः अन्य कारागारमा सरुवा गरेपछि केही घटे पनि कैदीबन्दीको बसाइ अझै सहज नभएको कारागारका चौकीदार श्रीनारायण महतोले बताए । कारागारमा ठाउँ अभावसँगै सीमित शौचालय र धारा मात्र हुँँदा दिसापिसाब गर्न, नुहाउन र लुगा धुन घण्टौँ पालो कुर्नुपर्ने एवं सुत्नबस्न का लागि समेत ठाउँको अभाव हुँदा आफूहरूलाई निकै गाह्रो भइरहेको कैदीबन्दीको गुनासो छ । नियमित सरसफाइ गर्न नपाइएर नापेर दिएको चार हात जमीनमा खाँदिएर बस्नसुत्न पर्दा आफूहरूमध्ये धेरैलाई लुतो भएको पुरुष कक्षका एक कैदीले बताएका छन् ।
पछिल्लोपटक श्वासप्रश्वास, निमोनिया र चर्मरोगका बिरामीको उपचार राम्रो नहुँदा आफूहरूलाई बिरामी बनाउन नै कारागार ल्याइएको लाग्न थालेको पुरुष कक्षका एक थुनुवाको गुनासो छ । कैदीबन्दीका लागि जाडो र गर्मीयाममा मौसमअनुसारका दुईपटक लुगा दिइने कानुनी व्यवस्था भए पनि यहाँ कहिल्यै ठिक समयमा यो सुविधा नपाइएको कैदीबन्दीको भनाइ छ ।
कारागार प्रशासनले कैदीबन्दीको यो गुनासो स्वीकार गरेको छ । कारागारमा कैदीबन्दीका लागि आउने मौसमअनुसारका कपडा आइपुग्न ढिलाइ हुँदा ठिक समयमा बाँड्न सकिएको छैन , निमित्त कारागार प्रमुख साहले भने, उपचार रकम कैदीबन्दीको सङ्ख्याअनुसार समयमा प्राप्त नहुँदा औषधोपचारमा समेत समस्या हुने गरेको छ । कारागारको महिलाकक्षमा एक/एक धारा र शौचालय मात्र छ । यस कक्षमा अहिले ४६ कैदीबन्दी छन् ।
त्यसैगरी पुरुषकक्षमा चार/चार धारा र शौचालय मात्र प्रयोगमा छन् । यस कक्षमा अहिले कैदीबन्दीको सङ्ख्या चार सय १९ छ । शौचालय र धारा पर्याप्त नहुँदा दिसापिसाब र न्वाइध्वाइ गर्न घण्टौँ पालो कुर्नुपर्ने समस्याले नै बिरामी बढ्ने गरेका पुरुषकक्षका एक पाका कैदीले गुनासो गरे । घाउखटिरा र लुतोले धेरैजसो कैदीबन्दी पीडित भएका उनको भनाइ छ ।
कारागारको यो अवस्था अन्त्य गर्न क्षमताभन्दा बढीका कैदीबन्दी अन्यत्र लान र कारागारमा भौतिक व्यवस्थापन जुटाउन स्थानीय प्रशासन र कारागार व्यवस्था विभागमा कैयौँपटक आग्रह गरिए पनि सुनुवाइ नभएको गुनासो कारागार प्रशासनको छ । विशेषगरी न्यायिक निकायबाट न्याय सम्पादनमा हुने गरेको ढिलाइले पुर्पक्षका लागि थुनुवाको सङ्ख्या निकै बढेको र धनुषा जिल्लाका न्यायिक र अर्धन्यायिक निकायले समेत पठाउने गरेका कारण यहाँ कैदीबन्दीको सङ्ख्या निकै बढेको हो ।
कैदीबन्दीको सङ्ख्या अत्यधिक बढ्दा कारागारको भित्री व्यवस्थापन अस्तव्यस्त हुने गरेको पाइएको छ । महोत्तरी कारागारमा रहेका ४६५ कैदीबन्दीमध्ये ६० प्रतिशत पुर्पक्ष थुनुवा रहेका कारागार प्रशासनले जनाएको छ । त्यसैगरी कूल कैदीबन्दीको सोही प्रतिशत सङ्ख्या धनुषा जिल्लाका रहेको निमित्त कारागार प्रमुख साहले बताए ।
विसं १९१३ मा तत्कालीन राणा प्रधानमन्त्री जङ्गबहादुर राणाले निर्माण गराएकाे यो कारागार त्यसयता मर्मतसम्भार हुन नसक्दा दिनहुँ पर्खाल र छत उप्केर झरिरहेको छ । अन्य समस्यासँगै पुरानो भवनको पर्खालका इँटा झर्ने र छतका सिमेन्टको टुक्रा उप्केर झर्दा बसाइ डरलाग्दो भएको कैदीबन्दीले बताएका छन् । -रासस