पोखरा : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालीको परम्परागत सांस्कृतिक पर्व चैतेदसैँको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीको सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, आपसी सद्भाव, एकता, भ्रातृत्व एवं उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन् ।
नेपाली चाडपर्वमा चैतेदसैँको महत्वपूर्ण स्थान रहेको उल्लेख गर्दै जारी गरिएको शुभकामना सन्देशमा मुख्यमन्त्री गुरुङले असूर शक्तिमाथि दैवीशक्तिको विजय तथा असत्यमाथि सत्यको विजयका रूपमा हिन्दू धर्मावलम्बीले मनाउँदै आएको चैतेदसैँको महत्व रहेको बताएको छन् ।
नेपाली जनताको लामो संघर्षपश्चात् प्राप्त उपलब्धिसँगै मुलुक समृद्धितर्फउन्मुख भएको उल्लेख गर्दै मुख्यमन्त्री गुरुङले सन्देशमा विविधतायुक्त धार्मिक एवं सांस्कृतिक चाडपर्वले सामाजिक एकता, सद्भाव र धार्मिक सहिष्णुता कायम राख्दै राष्ट्रिय एकतालाई मजबुत हुने विश्वास व्यक्त गरे ।
विविध धर्म संस्कृति मान्ने नेपालीबीच आपसी सद्भाव, सामाजिक एकता र भ्रातृत्व कायम गर्ने अपेक्षा व्यक्त गर्दै उनले सन्देशमा चैतेदसैँ पर्वले नेपालीबीच बन्धुत्व, प्रेम र एकताको भावना बढाई शान्त र समुन्नत नेपाल निर्माणमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
प्रकाशित मिति: शनिबार, चैत ३०, २०७५