हेटौँडा : सर्लाही र रौतहटलाई मकवानपुर र सिन्धुलीसँग जोड्ने गरी जलमार्ग निर्माण सम्पन्न भएपछि अब बागमती नदीमा व्यावसायिक रूपमा मोटरबोट सञ्चालन हुने भएको छ ।
जलमार्ग निर्माणसँगै नयाँ वर्ष २०७६ का अवसरमा विशेषतः मकवानपुर, सिन्धुली, सर्लाही र रौतहटवासीले मोटरबोटमा सयर गर्न पाउने भएका छन् । भोलि अर्थात् वैशाख १ गतेदेखि सञ्चालन हुने गरी रौतहटको बागमती क्यान्टिन बजारदेखि मकवानपुरको राईगाउँसम्म जलमार्ग व्यवस्थापन गरी मोटरबोट सञ्चालन गर्न लागिएको हो ।
सांसद् एवं अर्थ समितिका सभापतिसमेत रहेका कृष्णप्रसाद दाहालको पहलमा जलमार्ग निर्माण गरिएको हो । आगामी वैशाख १ गतेदेखि ११ सिट क्षमताको मोटरबोट सञ्चालन हुने बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलानले जानकारी दिए । उनका अनुसार तत्काल भाडामा ल्याइएको मोटरबोट सञ्चालन हुने र पछि संघीय तथा प्रदेश सरकारसँग सहकार्य गरेर आफ्नै मोटरबोट सञ्चालन गर्ने योजना छ ।
मोटरबोट सञ्चालनपछि बागमती गाउँपालिका तथा मकवानपुरको पर्यटन विकाससँगै सो क्षेत्रको आर्थिक विकासमा टेवा पुग्ने विश्वास छ । नेपालमा समुद्रसँग जोड्ने जलमार्गलाई संघीय सरकारले प्राथमिकता दिएको समयमा पर्यटन प्रबद्र्धक तथा स्थानीयवासीको दैनिकीलाई सहज बनाउनका लागि योजना ल्याइएको सांसद् दाहालले बताए ।
जलमार्गले दुर्गम राईगाउँको जीवनशैलीमा परिवर्तन आउने उनको भनाइ छ । सांसद् विकास कोषमा रहेको स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गत खर्च गरिने योजनामध्येबाट २० लाख रुपैयाँ खर्च गरी जलमार्गको निर्माण गरिएको हो । मकवानपुरको बागमती गाउँपालिकाअन्तर्गत राईगाउँदेखि रौतहटसम्म करिब सात किलोमिटर लामो पर्यटन जलमार्ग निर्माण गरिएको हो ।
प्रकाशित मिति: शनिबार, चैत ३०, २०७५