काठमाडौं : वर्ष २०७५ बिदा लिने संघारमा आइपुगेको छ । २०७५ मा थुप्रै गीतहरू बजारमा आए । केहीले निकै चर्चा कमाए त केही गुमनाम भए । गीतले चर्चा कमाएको, चलेको, नचलेको कुराको मापन युट्युबको भ्युजका आधारमा पनि हुन थालेको छ ।
यस वर्ष प्रदर्शनमा आएका वा नआएका चलचित्रहरूका गीतहरूले पनि राम्रै बजार पाए । जमघट, विवाह ब्रतबन्ध, पिकनिक आदिमा चलचित्रका गीत राम्रैसँग घन्किए । पछिल्लो समय लोक शैलीका गीतहरू रुचाउन थालिएको छ । दर्शक र श्रोताको मनमा छिट्टै बास बस्न सफल यस्ता गीत वर्ष २०७५ मा थुप्रै सार्वजनिक भएका छन् । यहाँ यस वर्ष सार्वजनिक भएर चर्चामा आएका केही गीतहरूलाई फर्केर हेर्ने प्रयास गरिएको छ ।
लुट्न सके लुट
वर्ष २०७५ मा लोक गायक पशुपति शर्माको गीत ‘लुट्न सके लुट कान्छा लुट्न सके लुट’ चर्चा र आलोचनामा रह्यो । बेथितिमाथि व्यंग्य गरिएको यो गीत युट्युबाट हटाउनुपर्ने अवस्था नै आयो ।
देशमा चलिरहेको भ्रष्टाचार, हत्या, हिंसा र बलात्कार जस्ता विषयलाई पशुपतिले गीतमा निकै मार्मिक ढंगले समेटेका छन् ।
गीतमा शब्द अनि संगीत गायक शर्माको आफ्नै रहेको छ । गीतको म्युजिक भिडियोमा पशुपति शर्मा, मञ्जु विक र प्रज्योल भण्डारीलगायत छन् ।
गत फागुनमा युट्युबमार्फत् सार्वजनिक भएको केही समयमै व्यापक चर्चा पाएको यस गीतको बोल जनजीब्रोमा झुण्डिएको छ ।
सालको पात टपरी हुनी
यसै वर्ष सार्वजनिक भएको गायक कुलेन्द्र विश्वकर्मा र गायिका विष्णु माझीको गीत ‘सालको पात टपरी हुनी’ले निकै चर्चा कमायो ।
नवराज पन्तको शब्द, वसन्त थापाको संगीत रहेको यस गीतको ‘भिडियो’मा नायिका मरिष्का पोखरेलसँगै गायक विश्वकर्मा र सङ्गीतकार थापाको अभिनय छ । शिव विक निर्देशित गीतलाई हालसम्म युट्युबमा तीन करोड ९९ लाख ८८ हजार ८१४ पटक हेरिएको छ ।
यो गीतले ब्रतबन्ध, विवाहका भोज, विभिन्न कार्यक्रम र जमघटमा निकै मानिसलाई नचाउन सफल भयो । छिट्टै दर्शक र श्रोताको मन जित्न सफल पनि बन्यो ।
पिरिम नलाउने
यस वर्ष सार्वजनिक भएको आशिष सचिन र मेलिना राईको स्वरमा रहेको ’पिरिम नलाउने’ गीत चर्चामा रह्यो । उक्त गीतमा दीपक शर्माको शब्द तथा संगीत रहेको छ । यो गीत करोड क्लबमा प्रवेश गरेको गीत बन्यो ।
भिडियोमा गायक आशिष सचिन र वर्षा राउतको अभिनय रहेको यस गीतले निकै चर्चा बटुल्न सफल भयो । यो गीत तीन करोड ६२ लाख ४७ हजार ४०९ पटक हेरिएको छ ।
लोक शैलीकोे यो गीत वर्षभरि नै चर्चामा रह्यो ।
पहिलो नम्बरमा
यसै वर्षको दशैँमा सार्वजनिक भएको कमेडी चलचित्र ‘छक्का पञ्जा ३’को ‘पहिलो नम्बरमा’ बोलको गीतले राम्रै चर्चा कमायो । लोकलयको गीतमा गायक डेभिड शंकर तथा बिन्दु परियारको स्वर रहेको छ । दीपक शर्माको संगीत तथा राजेन्द्र थापाको शब्दमा तयार भएको गीतमा चलचित्रका मुख्य कलाकारहरूको अभिनय रहेको छ ।
लोक लयको यस गीतले दर्शक तथा श्रोताको मन जित्न सफल भयो । यो गीत वर्षभर नै चर्चामा रह्यो । निकै रुचाइएको यस गीतलाई हालसम्म युट्युबमा तीन करोड ५७ लाख २३ हजार ८५० पटक हेरिएको छ ।
वनकी चरी
चलचित्र ‘प्रसाद’को ‘वनकी चरी’ बोलको गीतले निकै चर्चा पायो । रूपक डोटेल र अञ्जु पन्तको स्वरमा सजिएको यस गीतमा सुवास भुसालको शब्द रहेको छ भने बी. पाण्डेले संगीत गरेका छन् ।
गीतको भिडियोमा अभिनेता विपीन कार्की गायक बनेका छन् । शिव विकको नृत्य निर्देशनमा तयार भएको भिडियोमा निश्चल बस्नेत र अन्जली अधिकारीको नृत्य देख्न सकिन्छ । छोटो समयमै लोकप्रिय बन्न सफल यो गीत निकै रुचाइएको गीतमध्ये एक हो, जुन करोड क्लबमा पर्न सफल भएको छ । यस गीतलाई युट्युबमा एक करोड ८० लाख २१ हजार ८२९ पटक हेरिएको छ ।
मन मगन
चर्चित पप गायक दीपक बज्राचार्यको गीत ‘मन मगन’ले वर्षभर नै चर्चा बटुल्यो । वर्षको पहिलो दिन सार्वजनिक भएको यो गीत नेपाली भाषामा मात्र नभएर हिन्दीलगायतका विभिन्न भाषामा रेकर्र्ड गरियो ।
नेपाली मौलिक बाजाको प्रयोग भएको यस गीतको धून गायक दीपकले रिक्की शाक्यसँग मिलेर तयार पारेका हुन् । गीतमा शब्द पनि शाक्यकै रहेको छ । सुव्रत आचार्यले निर्देशन गरेको भिडियोको अवधारणाकर्ता भने चेरिसा बज्राचार्य हुन् ।
देशभर हुने विभिन्न जात्रा तथा पर्वहरूमा बजाइने बाजा र नाचलाई प्रयोग गरेर भिडियो बनाइएको छ । भिडियो करिब १५० कलाकारको सहयोगमा बनेको छ । हालसम्म यस गीतलाई युट्युबमा एक करोड ४९ लाख २७ हजार ७२६ पटक हेरिएको छ ।
भिजिट भिसामा
२०७६ को वैशाख १३ गतेलाई प्रदर्शन मिति तय गरिएको चलचित्र ‘दालभात तरकारी’को गीत ‘भिजिट भिसामा’ यस वर्ष चर्चामा रह्यो ।
गीतमा अन्जु पन्त र निशान भट्टराईको स्वर रहेको छ । हरिवंश आचार्यको शब्द र शम्भुजित बाँस्कोटाको संगीतमा बनेको यस गीतको भिडियोमा कविराज गहतराजको नृत्य निर्देशन रहेको छ । गीतमा हरिवंश आचार्य, निरुता सिंह, आँचल शर्मा, पुष्प खड्का, राजाराम पौडेललगायतले अभिनय गरेका छन् ।
छोटो समयमा लोकप्रियता कमाएको यस गीतलाई युट्युबमा एक करोड ५६ लाख ७१ हजार ६६९ पटक हेरिएको छ ।
बाजा
गायक हिमाल सागरको म्युजिक भिडियो ‘बाजा’ले पनि यस वर्ष राम्रै चर्चा बटुल्यो । यसै वर्ष सार्वजनिक गरिएको भिडियोमा नायिका प्रियंका कार्की र सुनील क्षेत्रीको अभिनय रहेको छ ।
गीतमा अमर थापाको शब्द र अर्जुन पोखरेलको संगीत रहेको छ । सुनीलकै कोरियोग्राफी रहेको यस गीतलाई उत्सव दाहालले छायांकन गरेका हुन् ।
भरत रेग्मीको सम्पादन रहेको यस गीतको भिडियोलाई सुव्रत आचार्यले निर्देशन गरेका हुन् । सार्वजनिक भएको केही समयमै चर्चामा रहेको यो गीत वर्षभर नै चर्चामा रह्यो ।
दोेहोरी ब्याटल २
वर्ष २०७५ को अन्यतिर सार्वजनिक भएको ‘दोहोरी ब्याटल’ले चर्चासँगै आलोचना पनि कमाएको छ । चर्चित गायक प्रकाश सपुत र गायिका प्रीति आलेको दोहोरी ब्याटल छोटो समयमै चर्चामा आएको हो ।
यो समाचार तयार पार्दासम्म दोहोरी ब्याटल २ युट्युब ट्रेन्डिङको दोस्रो नम्बरमा रहेको छ । युवापुस्ता लक्षित दोहोरी ब्याटल ३३ लाख ६३ हजार ९५७ पटक हेरिएको छ ।
ब्याटल २ मा प्रकाश सपुतकै शब्द र संगीत तथा निर्देशन रहेको छ । यस गीतले धेरै सकारात्मक प्रतिक्रिया पाएको छ भने आलोचना पनि बटुलेको छ ।
गत वर्ष सार्वजनिक भएको दोहोरी ब्याटलले पनि निकै चर्चित बनेको थियो ।
माया ओई ओई
यसै वर्ष प्रदर्शनमा आएको चलचित्र ‘बुलबुल’को माया ‘ओई ओई’ गीत पनि चर्चामा रह्यो ।
लोक लयको गीतमा निश्चल बस्नेत र रजिना रिमालको स्वर रहेको छ । गीतको रचना र संगीत कोसिस क्षेत्रीले गरेका हुन् । गीतमा स्वस्तिमा खड्का र मुकुन भुसालको मुख्य अभिनय रहेको छ । भक्तपुरको हेलमेट डाँडामा २५ वटा टेम्पो र १०० जनाको कोरससहितको नृत्य रहेको भिडियोको कोरियोग्राफी कविराज गहतराजले गरेका हुन ।
गीत सार्वजनिक भएसँगै यसको चर्चा चुलिएको थियो । हालसम्म युट्युबमा ६४ लाख ३९ हजार ९१४ पटक हेरिएको छ ।
प्रकाशित मिति: शनिबार, चैत ३०, २०७५