काठमाडौं : नववर्ष २०७६ संघारमा आइपुगेको छ । वर्ष २०७५ मा कला क्षेत्रमा थुप्रै नयाँ कलाकार प्रवेश गरे । सँगसँगै यस क्षेत्रले केही मूर्धन्य व्यक्तिहरूलाई गुमायो पनि । लामो समय गीत, संगीत र चलचित्र क्षेत्रमा योगदान दिएका कलाकारहरूको निधनले नेपाली कला क्षेत्रलाई अपूरणीय क्षति पुगेको छ ।
बुद्धिकृष्ण लामिछाने
देशले यस वर्ष ‘घाँस काट्ने खुर्केर, आयो जोवन हुर्केर’, ‘पिँढीमा बसेर मेरै बाटो हेरेर’लगायतका थुप्रै चर्चित गीतका गायक बुद्धिकृष्ण लामिछानेलाई गुमायो । लामो समयदेखि पक्षघात र विभिन्न रोगले थलिएका लोकगायक लामिछानेको पुस १३ गते भक्तपुरको चाँगुनारायण नगरपालिका– ७ स्थित आफ्नै निवासमा ६६ वर्षको उमेरमा निधन भएको हो ।
गीत, संगीतबाहेक विभिन्न समयमा उनले केही नेपाली टेलिशृंखलामा अभिनय पनि गरेका थिए ।
भीमबहादुर थापा
यस वर्ष कला क्षेत्रले गुमाएको अर्का मूर्धन्य व्यक्ति हुन्, वरिष्ठ कलाकार भीमबहादुर थापा । खोटाङको लामिडाँडामा जन्मिएका थापाकोे जेठ २९ गते ९३ वर्षको उमेरमा काठमाडौंमा निधन भयो ।
उनले वृटिस सेनामा भर्ती भएर दोस्रो विश्वयुद्धसमेत लडेका थिए । पछि उनी नेपाली सेनामा कार्यरत रहे । रेडियो नेपाल, नेपाल टेलिभिजनमा कार्यक्रम सञ्चालन गरेका थापाले सैनिक सेवामा हुँदा नै ‘के घर के डेरा’लगायतका चलचित्रमा अभिनय गरिसकेका थिए ।
उनले हाँस्य टेलिसिरियल ‘तीतो सत्य’मा काम गरेपछि थप चर्चा बटुलेका थिए । थापाले ५० बढी नेपाली चलचित्र, १०० बढी टेलिसिरियल तथा एक दर्जन बढी नाटकमा अभिनय गरेका छन् । थापा कलाकार तथा निर्देशक दीपाश्री निरौलाका ‘धर्म बा’ पनि थिए ।
हरिप्रसाद रिमाल
यस वर्ष कला क्षेत्रले गुमाएको अर्का व्यक्ति हुन्, वरिष्ठ कलाकार तथा रेडियो नेपालका प्रथम गायक हरिप्रसाद रिमाल । काठमाडौंको लगनटोलमा जन्मिएका रिमालको भदौ १५ गते ९३ वर्षको उमेरमा आफ्नै निवास काठमाडौं बानेश्वरमा निधन भयो ।
उनले १४ वर्षको उमेरमा नै नाटककार बालकृष्ण समको नाटक ‘मुकुन्द इन्दिरा’बाट अभिनय यात्रा सुरु गरेका थिए ।
रिमालले मुनामदन, संयोग, क्रसमा टाँगिएको जिन्दगी जस्ता नाटकमा अभिनय र निर्देशन गरेर ख्याति कमाएका थिए ।
उनले पहिलो चलचित्र आमा, मनको बाँध, परिवर्तन, के घर के डेरा, सन्तानलगायतका चलचित्रमा अभिनय गरेका छन् । साथै ‘सपना’ नामक नेपाली चलचित्रको निर्देशनसमेत गरेका छन् ।
रिमालका ‘फगत एक नजरमा कसैले लियो मन’, ‘बिना बादल असिना आउँदैन’ जस्ता गीत चर्चित छन् ।
बीएस राणा
वरिष्ठ कलाकार बीएस राणाको माघ १८ गते ७६ वर्षको उमेरमा निधन भयो । २०४१ सालमा ‘अन्याय’बाट चलचित्र क्षेत्रमा प्रवेश गरेका राणाले १०० बढी चलचित्रमा अभिनय गरेका छन् ।
उनले करोडपति, नेपालीबाबु, कोसेली, दक्षिणा, दुई थोपा आँसु, दासढुंगा, वसन्ती, दाग, साथी म तिम्रो, आई एम सरी, कसले चो¥यो मेरो मन, हवल्दार, सुन्तली, काफल पाक्यो, सेतो बाघ, दर्पण छाया– २ लगायतका चलचित्रमा अभिनय गरेका छन् । पछिल्लो फिल्म ‘लभ स्टेसन’मा पनि बीएस छोटो भूमिकामा देखिएका छन् ।
उनले दर्जनौँ नाटकमा अभिनय गरेका छन् । श्वासप्रश्वासमा समस्या देखिएपछि त्रिवि शिक्षण अस्पताल भर्ना गरिएका बीएसको उपचारका क्रममा निधन भएको थियो ।
गणेश न्यौपाने ‘मुनाल’
सशक्त अभिनय र वजनदार आवाजका कारण ख्याति कमाएका कलाकार गणेश न्यौपाने ‘मुनाल’को माघ ७ गते निधन भयो । दमका रोगी मुनालको ६८ वर्षको उमेरमा काठमाडौंको बौद्ध महांकालस्थित आफ्नै घरमा निधन भएको थियो ।
उनले थुप्रै रेडियो तथा स्टेज नाटक, ‘तीतो सत्य’लगायतका दर्जनौँ टेलिसिरियल तथा चलचित्रमा अभिनय गरेका छन् ।
नारी, दिदीभाइ, नौ डाँडापारि, प्रेमयुद्ध, मिस्टर डन, सेतो बाघ, लभ लभ लभ, घामपानी, शिरीषको फूललगायतका चलचित्रमा अभिनय गरेका छन् उनले । उनी पछिल्लो पटक माघमा प्रदर्शनमा आएको चलचित्र ‘गोपी’मा छोटो भूमिकामा देखिएका थिए ।
रामकेशर बोगटी
रामकेशर बोगटीको असोज २३ गते ५८ वर्षको उमेरमा ललितपुरको टीकाथलीमा निधन भएको हो । आफ्नै घर नजिकै रूख काटेको हेर्ने क्रममा बिजुलीको पोलले लागेर घाइते भएका उनको उपचारको क्रममा निधन भएको थियो । उनी दुई वर्षअघि चलचित्र कलाकार संघको अध्यक्षमा विजयी बनेका थिए ।
सानैदेखि अभिनयप्रति रुचि राख्ने रामकेशर नाटक हुँदै चलचित्र क्षेत्रमा पाइला राखेका थिए । दर्जनौँ चलचित्रमा अभिनय गरेका रामकेशरले ‘स्वाभिमान’ र ‘माया गर ल’ नामक चलचित्रको निर्माण गरेका छन् ।
अमृत लामा
यसै वर्ष ट्र्याक्टर दुर्घटनामा परी तामाङ सेलो गायक अमृत लामा योञ्जनले ज्यान गुमाए । दोलखाको बिगु गाउँपालिका– ३ भिरमुनीमा भएको ट्र्याक्टर दुर्घटनामा परी उनको ४४ वर्षको उमेरमा निधन भयो । गायक लामाले पुरानो माया, दौँतरी, होई च्याङ्बालगायतका आधा दर्जन गीत गाएका छन् ।
प्रकाशित मिति: शनिबार, चैत ३०, २०७५