विराटनगर : आफ्ना बाजे, बुबाबाट अहिले पनि अंश लिने चलन नेपाली समाजमा छ । पैतृक सम्पतिको रूपमा तपाईंले के अंश पाउनुभएको छ ? यसको सहजै जवाफ पाउन सकिन्छ– जग्गा, जमिन, जायजेथा । तर नेपाली समाजमा यस्तो जाति छ, जो अंशको रूपमा पुर्खाले दिएको जायजेथा त लिन्छ नै, सँगसँगै जंगली जनावर बराँठको सिङ पनि उसले लिने गरेको छ ।
त्यसरी कृष्णसार अर्थात् बराठको सिंह लिने जाति तपाईं हाम्रो घरमा रातीराती फेरि लगाउँदै हिँड्ने जोगी जाति हो । जोगी जातिको समुदायमा पितापुर्खाले आफूसँग भएको पैतृक सम्पति छोरानातिलाई दिने गरेका छन् । त्यसका साथै परम्परा र संस्कार धान्न भन्दै आफूसँग भएको बराँठको सिङ पनि दिने गरेका छन् ।
थोरै संख्यामा रहेका जोगी समुदाय अहिले पनि गाउँ, शहरका घरमा रातीराती बराँठको सिङ बजाउँदै, मन्त्र फुक्दै हिँड्ने गरेका छन् । शदियौँदेखि चलिआएको परम्परा धान्न नेपाली समाजमा जोगीले राती फेरि लगाउने र बिहान सिदा मागेर हिँड्ने चलन छ । जंगली जनावरलाई मार्न तथा त्यसको अवैध कारोबार रोक्न राज्यले कडाइ गरेपछि अहिले बराँठको सिङ पाउन मुस्किल छ । मोरङ पथरीका राजेन्द्र जोगीले भने, ‘हाम्रो चलन यस्तै छ । पाँच भाइ छोरा छौँ भने यही सिङ अंश लाग्ने हो । एक जना छौँ भने पनि यही ।’
पिताकै पालामा संखुवासभाबाट बसाइँ सरेर झापा झरेका सन्तोष जोगीको कथा भने बेग्लै छ । उनीहरू पाँच जना दाजुभाइ । एक भाइ कमाउन विदेशतिर भासिए । एक भाइ यातायात मजदुरको रूपमा कार्यरत छन् । तीन भाइले भने पितापुर्खाले गर्दै आएको फेरी लगाउने पेसालाई अँगालेका छन् ।
उनीहरूले पिताबाट अंश स्वरूप केही जायजेथा लिएनन् । तीन भाइलाई पिताले अंश दिए, त्यही बराँठको सिङ । सन्तोष भन्छन्, ‘अंश लाग्ने त्यही सिङ हो । बुबाले आफूसँग भएको त्यही एउटा सिङलाई नै टुक्रा बनाएर अंश दिनुभयो । यो निकै लामो थियो, अहिले टुक्रा बनाएर यो सानो भएको छ । मैले पनि त्यही अंश पाएको हो ।’
रातीराती जोगिएर हिँड्ने जोगी जाति कात्तिक र चैत महिनामा फेरी लगाउन गाउँ, शहर छिर्ने गर्छन् । उनीहरूको उँधौली र उभौली पर्व परेको बेला कात्तिक र चैतमा फेरी लगाउने चलन छ । नेपाली समाजले विश्वास गरे पनि, नगरे पनि भुतप्रेत हटाउने, झारफुक गरिदिने जस्ता कार्यहरू जोगीले गर्दै आएका छन् ।
रातीदेखि बिहान झिसमिसे उज्यालो नहुन्जेलसम्म जोगी मन्त्र फुक्दै, बराँठको सिङ बजाउँदै गाउँघर डुल्ने गर्छन् ।
पेसा संकटमा
जोगी जातिको पेसा भनेकै फेरी लगाउनु हो । प्रायः फेरि लगाउने जोगीले यो पेसा आफ्नै पिताबाट सिक्ने गरेका छन् । कतिले त १६ वर्षको उमेरदेखि नै यो पेसा अँगालेका छन् भने धेरैले यो पेसालाई त्याग्दै गएका पनि छन् ।
बुबाबाट यो पेसा सिकेको बताउने सन्तोष भन्छन्, ‘मलाई पनि बुबाले नै सिकाउनुभयो । मैले पनि आफ्नो जीउ बाँध्नेदेखि लिएर मन्त्र पनि बुबाबाटै सिकेँ । अहिले पनि यही पेसामै छु । हजुरबुबाले पनि यही गर्नुहुन्थ्यो ।’
नेपाली जोगीको प्रमुख गन्तव्य भनेको भारतको दार्जिलिङ, सिक्किम र भूटान हो । उनीहरू ६–६ महिनामा भारत र भूटान गएर बस्थे र फेरी लगाएर संकलन भएका विभिन्न सामग्री जम्मा गरेर नेपाल ल्याउँथे । तर अहिले अवस्था फेरिएको छ ।
अहिलेका नयाँ पिँढी यो पेसामा उतिसारो आकर्षित देखिँदैनन् । अध्ययन अध्यापनसँगै रोजगारीको विभिन्न विकल्प भएपछि युवापुस्ताले यो पेसा अँगाल्न तयार छैनन् । त्यसैले अहिले फेरि लगाउने पेसा संकटमाा पर्दै गएको छ ।
फेरी लगाउने पनि आफ्नै विधि र परम्परा हुन्छ । वर्षमा दुई पटक फेरि लगाएर जीवन धान्ने जोगीहरू फेरी लगाउन गएर ल्याएको सामग्री एक स्थानमा जम्मा गरेर भैरव पूजा गर्ने गर्छन् । कुलथानमा लगेर फेरि बराँठको सिङ राखेर पूजापाठ गर्ने जोगीहरू हप्तामा दुई पटक मंगलबार र शनिबार जजमानले बोलाएको ठाउँमा जाने गर्छन् । अहिले पनि झारफुकबाट विभिन्न रोग निको हुने गरेको विश्वास नेपाली समाजमा रहेको छ ।
रिमालको घरमा जाँदैनन् जोगी
जोगीले हरेक ६–६ महिनामा फेरी लगाउने गर्छन् । फरक किसिमको झोला बोक्ने जोगीले आफ्नो किसिमको लौरो बोक्ने गर्छन् । उनीहरूले बोक्ने झोली नौ रंगको हुने गर्छ । रातभर फेरी लगाएर बिहान ‘जय गोरखानाथ’ भन्दै सिदा उठाउने जोगीहरूले पहेलो रङको फेटा लगाउने गर्छन् ।
कालो लुगा अनिवार्य लगाउने जोगीले कानमा कुन्डल लगाउने चलन छ भने झोला र लठ्ठीको नाम भने कसैलाई बताउँदैनन् । हरेक ६ महिना फेरि लगाएर जीविकोपार्जन गर्ने जोगी रिमाल थरको घरमा भने फेरि लगाउन जाँदैनन् । रातको समयमा रिमालकहाँ फेरी लगाए पनि बिहान सिदा लिने बेलामा भने रिमाल थर भएकाहरूले आफ्नो पहिचान जनाएपछि उनीहरू सिदा लिँदैनन् ।
परापूर्वकालमै रिमालसँग जोगीको विवाद भएपछि उनीहरूले रिमालकहाँ फेरी लगाउन छाडेको सन्तोष बताउँछन् । त्यसो त उनीहरू मुस्लिम र क्रिश्चियनको घरमा पनि फेरि लगाउन जाँदैनन् ।
प्रकाशित मिति: शनिबार, चैत ३०, २०७५