काठमाडौं : सोलुखुम्बुको सगरमाथा क्षेत्रमा आएका पर्यटक वा स्थानीय हराएमा उनीहरूको अवस्था रहस्यमय हुने गर्छ । हराउनु मात्र रहस्यको विषय नभई हराएकाहरूको कुनै अत्तोपत्तो नहुनु झनै आश्चर्य बनेको छ ।
गत फागुन ६ गते नाम्चे बजारमा रहेको एक होस्टलमा बसेर पढ्दै गरेका नानीहरू आमाको साथमा होस्टलबाट निस्किए । उनीहरू घर जाने भन्दै निस्किए पनि घर नपुगेपछि खोजी सुरु भयो । आमालाई मृत भेटियो तर एक छोरा कुङ्गादोर्जी शेर्पा र छोरी ङिमाडोमा शेर्पाको अवस्था भने अझै अज्ञात छ ।
२०७४ को स्प्रिङ सिजनमा सगरमाथा क्षेत्र घुम्न आएका अमेरिकी बेलायती नागरिक क्याट अन पोथ आम्र्स सगरमाथा क्षेत्रबाटै हराए । उनी हराएको सूचना दूताबासले प्रकाशन गरेपछि मात्र प्रहरीलाई थाहा भयो । तर उनी कहाँनेरबाट हराए, कहाँ गए, केही अत्तोपत्तो छैन । उनको न लाश भेटियो, न सास नै ।
२०७१ पुसमा नाम्चेबाटै हराएका अमेरिकी नागरिक कोलिन स्क्यालर मेक्लेयरीको अवस्था पनि केही अझै पत्तो छैन । प्रहरीले खोजी कार्य भने जारी रहेको बताउँछ तर भेटिएको छैन ।
२०६९ वैशाखमा नाम्चे घुम्न आएका बेलायती नागरिक जिसिमोस अलेक्जेन्डर सफ्लास हराएपछि उनको खोजी भयो । तर उनको पनि आजसम्म कुनै अत्तोपत्तो छैन ।
त्यस्तै, २०७१ वैशाखमा खुम्जुङ– ७ दिङबुजेबाट हराएका स्लोभाकियाका नागरिक थोमस प्रिङ्केलको अवस्था पनि उस्तै रहेको छ ।
यति माउन्टेन होटलमा काम गर्दै आएकी फुर्णिमा शेर्पा २०६९ सालमा हराएकी भए पनि उनको अवस्था पनि उस्तै रहस्यमय रहेको छ । आफूले काम गरेको होटलमा आउने पर्यटकलाई स्वागत गर्न भनेर नाम्चेबाट करिव डेढ किलोमिटर तल तोपडाँडा भन्ने स्थानमा झरेर दुई जना अमेरिकी नागरिकलाई चिया खुवाएर होटल फर्केकी शेर्पाको हालसम्म कुनै अत्तोपत्तो छैन ।
२०६३ सालमा सगरमाथा प्रदूषण नियन्त्रण समितिका कर्मचारी जगत गिरी रातीको समयमा शौचालय जाँदा हराए तर हालसम्म उनको कुनै अत्तोपत्तो नभएको सगरमाथा प्रदूषण नियन्त्रण समितिले जनाएको छ ।
यस क्षेत्रमा मानिसहरू हराउने क्रम सुरु भएको इतिहास खुम्बुयुल्ला पिकबाट हो । सन् १९८० मा पाँच हजार ७७० मिटर अग्लो खुम्बुयुल्ला पिक चढ्न गएका पाँच जना जापानी नागरिक हराएपछि खोज्न गएका खुम्जुङका स्थानीयहरू नफर्किएपछि खुम्बुयुल्ला पिक चढ्नसमेत छाडेका छन् ।
यसरी मानिस हराएपछि खुम्बुयुल्लालाई देवताको रूपमा शेर्पा सामुदायले मान्दै आएका छन् भने हिन्दु धर्मअनुसार यसलाई सुमेरु पर्वतको रूपमा मान्ने गरिएकाले र पर्वतारोहण गर्दा देवताले नमान्ने भएकाले चढ्न गएकाहरू हराएको हुन सक्ने खुम्जुङका स्थानीय तेन्जिङ टासी शेर्पाको भनाइ छ ।
स्थानीयहरूका अनुसार हराउनेको संख्या उल्लेखितभन्दा धेरै भए पनि कुनै पनि निकायले तथ्याङ्क नराख्दा वास्तविक तथ्याङ्क आउन सकेको छैन । प्रहरीसँग कुरा गर्दा पर्यटक प्रहरी कार्यालयमा सिफारिस, पर्यटक प्रहरीसँग बुझ्दा पर्यटन विभाग, पर्यटन विभागसँग तथ्याङ्क माग्दा पर्यटन बोर्डसँग तथ्याङ्क छ भनेर झुलाइरहने काम भयो ।
तथ्याङ्क नै नभएपछि त्यस क्षेत्रमा हराउनेको खास संख्या यकिन हुन सकेन । खुम्बु क्षेत्रमा हराएकाको संख्या १०० बढी पुगेको हुनसक्ने स्थानीयहरूको अनुमान भए पनि प्रहरीसँग यकिन तथ्याङ्क नरहेको हो । तथ्याङ्क भएकाहरूको अवस्था पनि अझै पत्ता लाग्न सकेको छैन ।
खुम्बु क्षेत्रमा जहिलेदेखि पर्यटकहरू आउन थाले, त्यतिबेलादेखि नै खुम्बु क्षेत्रमा पर्यटकहरू हराउँदै आएको खुम्जुङका स्थानीयहरू बताउँछन् । खुम्बु क्षेत्रमा आफ्नो बाबुको पालादेखि नै पर्यटक हराउँदै आएको स्थानीय लामाकाजी लामा बताउँछन् । ‘जंगली जनावरले खाएको हो भने पनि थाहा हुनुपर्ने, भिडबाट लडे पनि लाश त पाउनुपर्ने तर हालसम्म हराएकाहरूको अवस्था अज्ञात छ’, उनी भन्छन् ।
खुम्जुङका स्थानीय टासी शेर्पाका अनुसार अहिलेसम्म खुम्बुमा हराउने पर्यटकहरू एक्लै रहेको अवस्थामा मात्र हराएकाले यतीले गायब बनाएको हुनसक्ने बताउँछन् । यती मान्छे जान नसक्ने स्थानमा मात्र बस्ने भएकाले लाशसमेत नपाएको धेरैको अनुमान छ ।
हालसम्म एक्लै आएका पर्यटकहरू मात्र हराएको पाइएकोले खुम्बु क्षेत्र गन्तव्य बनाएर आउने पर्यटकहरूलाई एक्लै नआउन प्रहरीको आग्रह छ । इलाका प्रहरी कार्यालय नाम्चेका प्रमुख देउप्रसाद लिम्बूले हराएकाहरू प्रायः एक्लै रहेकाले एक्लै नहिँड्न आग्रह गरे ।
प्रकाशित मिति: बुधबार, वैशाख ४, २०७६