काठमाडौं : टेलिभिजन प्रसारणको अनुमति लिएका कम्पनीलाई बिनाप्रतिस्पर्धा इन्टरनेटका लागि फ्रिक्वेन्सी दिने तयारी गरेपछि त्यसप्रति आपत्ति जनाउँदै इन्टरनेट सेवा प्रदायक संस्थाहरूले सरकारविरुद्ध आन्दोलन सुरु गरेका छन् ।
टेलिभिजन प्रसारक संस्थालाई बिनाप्रतिस्पर्धा नियमविपरीत इन्टरनेटका लागि फ्रिक्वेन्सी दिने तयारी गरेपछि त्यसप्रति आपत्ति जनाउँदै उनीहरूले शुक्रबार काठमाडौंको कमलादीमा रहेको नेपाल दूरसञ्चार प्राधिकरणको कार्यालयमा धर्ना दिए ।
नियमविपरीत सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले इन्टरनेट सेवा टिभी प्रसारणको अनुमति लिएका कम्पनीलाई दिने निर्णय गरेपछि त्यसको विरोधमा आन्दोलन गर्नुपरेको इन्टरनेट सेवा प्रदायक संघ, नेपालका अध्यक्ष भोजराज भट्टले जानकारी दिए ।
सरकारले हाल नेपाल दूरसञ्चार प्राधिकरणबाट इन्टरनेट सेवा सञ्चालन गर्ने अनुमति दिइरहेको छ । अब सञ्चार तथा सूचना प्रविधि मन्त्रालय आफैले सो काम गर्न लागेकामा पनि आफूहरूको आपत्ति रहेको संघको भनाइ छ । इन्टरनेट सेवा प्रदायक संस्थाहरूले आफूहरूले सहज रुपमा इन्टरनेट सेवा उपलब्ध गराइरहँदा पनि सरकारले विकल्प खोजेको भन्दै आक्रोश पनि व्यक्त गरेका छन् ।
उनीहरूले इन्टरनेट सेवा आफूहरूबाट सञ्चालन गर्ने कानुनी व्यवस्थाको उल्लंघन नगर्न सरकारलाई सचेत गराउँदै शुक्रबार नै नेपाल दूरसञ्चार प्राधिकरणमा ज्ञापनपत्र पनि बुझाएका छन् । संघका अध्यक्ष भट्टले सरकारले आफूहरूको माग सम्बोधन नगरे कडा आन्दोलन गर्न बाध्य हुने चेतावनी पनि दिए ।
प्रकाशित मिति: शुक्रबार, चैत २९, २०७५