काठमाडाैं : उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल शिक्षालाई व्यावहारिक बनाउन आधारस्तम्भ तयार गरिसकेको बताएका छन् ।
टङ्गाल माध्यमिक विद्यालय, हाँडीगाउँको ५६औँ वार्षिकोत्सव कार्यक्रममा उनले शिक्षालाई परिवर्तन गर्नका लागि व्यावहारिक शिक्षा बनाउन लागिएको बताए । व्यावहारिक शिक्षा बनाउन हामीले आधारस्तम्भ बनाइसकेका छौँ , उनले भने, अब ती आधार स्तम्भलाई टेकेर देशभरि नै हामी प्राविधिक शिक्षा लागू गर्ने तयारीमा छौँ ।
मन्त्री पोखरेलले नेपालको शिक्षा प्रणाली व्यावहारिक नभएकाले परिवर्तन गर्न आवश्यक रहेको बताए । व्यावहारिक शिक्षा नभएकाले अहिलेको जनशक्ति बेरोजगार हुनुपरेको उनको भनाइ थियो । उनले सरकारले परिमाण देखिने गरी विकासका आयोजना गर्न थालेको समेत जानकारी गराए ।
जनताले अब विकासका परिमाण कुर्न धेरै समय पर्खनु पर्दैन , उनले भने, चाँडै नै सरकारले देखिने गरी विकास निर्माणका काम गर्दछ । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक राजेन्द्र अधिकारीले विद्यालयले शिक्षा क्षेत्रमा पुर्याएको योगदानको चर्चा गर्दै विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गरिरहेको बताए । कार्यक्रममा मन्त्री पोखरेलले उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीलाई सम्मान गरेका थिए ।
प्रकाशित मिति: शुक्रबार, चैत २९, २०७५