काठमाडौं : आईसीसी यू–१९ विश्वकप छनोटमा नेपालले विजयी सुरुवात गरेको छ ।
मलेसियाको सेलाङ्गर टर्फ क्लबमा शुक्रबार भएको खेलमा नेपालले सिंगापुरलाई २१७ रनको भारी अन्तरले पराजित गरेको हो ।
नेपालले दिएको २८३ रनको लक्ष्य पछ्याएको सिंगापुर ३२ ओभरमा ६५ रन बनाउँदा अलआउट भयो । नेपाली बलरको धारिलो बलिङका सामू सिंगापुरका कुनै पनि खेलाडीले खुलेर प्रदर्शन गर्न सकेनन् ।
सिंगापुरका इसान शानीले २८ र साई भेनुगोपालले १८ रन जोड्नुबाहेक सिंगापुरका कुनै खेलाडीले दोहोरो अंकको स्कोर गर्न सकेनन् ।
नेपालका पवन सर्राफले ६ ओभर बलिङ गर्दै ५ मेडन राखेर ५ रन दिँदै ३ विकेट लिए । यस्तै कुशल मल्ल र सूर्य तामाङले समान २–२ र रसिद खानले १ विकेट लिए ।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ४६ ओभरमा अलआउट हुँदै २ सय ८३ रन बनाएको थियो ।
नेपालका लागि कप्तान रोहितकुमार पौडेलले सर्वा्धिक ९५ रनको योगदान दिए भने रसिद खानले ४८, पवन सर्राफले ४७, कमल सिंह ऐरीले ३१ तथा भीम सार्कीले २६ रनको योगदान दिए ।
नेपालले विशाल योगफलतर्फ अघि बढिरहेको अवस्थामा ४६ औं ओभरमा ३ विकेट गुमाउन पुगेको थियो ।
कप्तान रोहितकुमार पौडेल सतक बनाउन चुके । उनले नेपाललाई बलियो स्कोरमा डोहो¥याएका थिए । एक सय ५ बलको सामना गरेका उनले सात चौका र एक छक्का प्रहार गरे ।
सिंगापुरका लागि अथर्व गुनेले सर्वा्धिक चार विकेट लिए भने राउल शर्माले २, विनित मेहताले २ र प्रमेश सांघवीले एक विकेट लिए ।
प्रकाशित मिति: शुक्रबार, चैत २९, २०७५