काठमाडौं : भोलि शनिबारदेखि टोखा नगरपालिकामा लिच्छविकालीन बिस्केट जात्रा हुने भएको छ । टोखा बिस्केट जात्रा मूल व्यवस्थापन समितिका अध्यक्ष देवराज डंगोलले मेला व्यवस्थित र मर्यादित बनाउनका लागि स्थानीय सुरक्षा निकायको सहकार्यमा तीन सय स्वयंसेवक खटाइएको बताए ।
चैत मसान्तका दिन बिहान भक्तजन नुहाइधुवाइ र मीठो भोजन गरी बागद्वार जान्छन् र बेलुका सपनतीर्थ र विनायक चण्डेश्वरी माईको मूर्तिलाई खटमा राखेर टोखा नगरलाई परिक्रमा गरी जात्रा सुरु गर्छन् । जात्राको दोस्रो दिन वैशाख १ गते मध्यरातमा सपनतीर्थ पोखरीमा स्नान गर्ने प्रचलन छ ।
वैशाख २ गते बिहान सबै देवगण चण्डेश्वरी, सपनतीर्थ, महादेव, सरस्वती र मसानकालीलाई एलागटोलमा बिसाइन्छ । वैशाख ३ गते बिहान सिन्दूरजात्रासहित रथ बोकी टोखा नगर परिक्रमा गराई हासलेमा रथ बिसाइन्छ ।
वैशाख ४ गते पुनः रथ बोकी नगर परिक्रमा गराई गछेँ टोलमा राखेर पूजाआजा गरिन्छ र अपराह्न ४ बजेतिर सिन्दूरजात्रा सहित रथलाई आआफ्ना घरमा राखेपछि जात्रा समापन गरिन्छ ।
जात्राका लागि लाग्ने आठ लाख रुपैयाँ यसअघि नै टोखा नगरपालिकाले समितिलाई प्रदान गरिसकेको छ । नगरपालिकाका उपप्रमुख ज्ञानमाया डंगोलले इतिहास र संस्कृतिको धनी सो नगरपालिकालाई पर्यटनको मुख्य केन्द्र बनाउनका लागि छिमेकी नगरसँग सहकार्य गरी अघि बढ्न आवश्यक रहेकामा जोड दिए ।
प्रकाशित मिति: शुक्रबार, चैत २९, २०७५