भक्तपुर : मध्यपुर थिमि नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठ मनोमानी ढंगले ‘मौखिक बजेट’ बाँड्दै हिँड्न थालेका छन् । कुनै कार्यक्रम, प्रस्तावबिना नै अगुवापछुवा कार्यकर्तालाई उनले मनलाग्दी काममा बजेट बाँड्न थालेको बताइन्छ ।
जनप्रतिनिधि समेत नियम र प्रक्रिया मिचेर बजेट बाँड्ने मेयरको कार्यशैलीप्रति अचम्मित छन् । न कार्यपालिका बैठक बसेको छ, न त बजेट पारित नै भएको छ, न त त्यो शीर्षकमा बजेट नै छ । तर आफू निकटका कार्यकर्तालाई मौखिक आदेशले बजेट बाँड्दै हिँडेको आरोप लागेको छ मेयर श्रेष्ठलाई ।
बिस्केट जात्राका लागि भन्दै आफ्नै अगुवा पछुवा कार्यकर्ता सम्मिलित उपभोक्ता समितिलाई निर्माण स्वीकृति दिएका दुई पोखरी, विष्णु कुण्डलदेखि तीनधारा–शंखधर–हनुमन्ते सडकको भुक्तानी दिन भने मेयरलाई चुनौती रहेको बताइन्छ । उपभोक्ता समितिका नाममा विभिन्न सहकारीसँग ऋण लिएर ब्याज तिर्छु भन्दै विभिन्न निर्माणमा लागेका मेयरले आसेपासेलाई काम दिने र बजेटमा ब्रह्मलुट मच्चाउन खोजिरहेको आरोप लाग्न थालेको छ ।
यसअघि पनि एक मन्दिरमा सुनको गजुर हाल्ने नाममा बजेट र कार्यक्रम नै नभएको शीर्षकमा चेक काट्न तत्कालीन प्रशासकीय अधिकृत कमल ज्ञवालीलाई चर्को दबाब दिएपछि मेयर श्रेष्ठ र ज्ञवालीबीच सम्बन्धमा दरार पैदा भएको थियो । कार्यक्रम, बजेट बनाएर मात्रै निकासा गर्नुपर्ने ज्ञवालीको भनाइ नसुनी जथाभावी भुक्तानी दिन दबाब दिएपछि ज्ञवालीले इन्कार गरे । सोही इन्कारको सजाय स्वरूप अन्ततः ज्ञवाली सूर्यविनायक नगरपालिका सरुवा भए ।
यसबारेमा ज्ञवालीसँग जिज्ञासा राख्दा उनले आफूले नियमविपरीतको काम गर्दिनँ भन्दा सरुवामा परेको पुष्टि गरे । उनले भने, ‘मैले अख्तियार लाग्ने गरी त काम गर्न सक्दिनँ नि । कुनै कार्यक्रम, प्रस्तावबिना मौखिक आदेशका भरमा भुक्तानी गर्न मिल्दैन भन्दा मलाई सरुवा गरियो ।’
ज्ञवालीको सरुवा भएदेखि हालसम्म पनि नगरपालिकाको चेक चलेको छैन भने आर्थिक कारोबार ठप्प छ । एक कर्मचारीले भने, ‘मेयरका रबैयाका कारण हामीले तलब समेत खान पाएनौँ ।’ यसबारेमा नगरपालिकाका सूचना अधिकारी केशव सिलवालसँग जानकारी माग्दा उनले केही समय आर्थिक कारोबार ठप्प भएको स्वीकार गरे । उनले भने, ‘केही समय त्यो समस्या भएकै हो । तर अहिले नयाँ प्रशासकीय अधिकृत सर आइसक्नुभएको छ, तलब भुक्तानीदेखि अन्य आर्थिक कारोबार पनि अघि बढिसकेको छ ।’
‘तत्कालीन अधिकृत ज्ञवालीले अवैधानिक भनेर गर्न नमानेका भुक्तानीका बारेमा नयाँ प्रशासकीय अधिकृत महेश बरालले कसरी कार्यान्वयन गर्छन् भन्ने हेर्न बाँकी छ’, नरपालिकाकै एक कर्मचारी भन्छन्, ‘मध्यपुर थिमिलाई अख्तियारले पनि आँखा लगाइरहेको छ ।’
दुई पोखरीदेखि विष्णु कुण्डलसमेतको निर्माणमा योजना छनौट र पारित समेत नगरीकन हचुवाको भरमा निर्माण स्वीकृति दिएकाले उक्त बजेट कसरी पारित गर्ने र प्रशासकीय अधिकृतले कसरी भुक्तानी दिन्छन् भन्नेमा अन्योल र चुनौती देखिन्छ । बरालले भुक्तानी दिए उनीविरुद्ध अख्तियारमा उजुरी हाल्ने तयारीमा त्यहींका कर्मचारी रहेको बताइएको छ ।
यसबारेमा मेयर श्रेष्ठसँग सम्पर्क गर्न खाेज्दा उनले प्रयाेग गर्ने कार्यालयकाे वेबसाइटमा दिइएकाे ९८५१२०१३०५ र सूचना अधिकारी केशव सिलवालले उपलब्ध गराएकाे ९८५१०९२८८७ दुवै नम्बरमा फाेन उठेन ।
कमेरोटारबाट हटाइए सत्यसुन्दर
मेयर श्रेष्ठले तलबबाहेक उपभोक्ता समितिमा रहेका समेतले भत्ता, तेल खर्च, पत्रपत्रिका, अनुगमन र कमिसन लगायत विभिन्न शीर्षकमा व्यापक भ्रष्टाचार हुँदै आएको कमेरोटार जग्गा एकीकरण आयोजना प्रमुख सत्यसुन्दर श्रेष्ठलाई हटाएका छन् । आफ्ना नातेदारसमेत रहेका श्रेष्ठलाई नियमविपरीत आयोजना प्रमुख बनाएर थप विवादमा आएका मेयरले अन्ततः आर्थिक कारोबार नै रोकिएपछि श्रेष्ठलाई हटाएर नयाँ आएका प्रशासकीय प्रमुख बराललाई नै मंगलबार साँझ आयोजना प्रमुख नियुक्त गरेको नगरपालिकाका एक कर्मचारीले जानकारी दिए ।
इन्जिनियरको लाइसेन्स समेत खारेजीमा परेर विवादित बनेका सत्यसुन्दरलाई आयोजना प्रमुख बनाएर मेयरले गलत काम गरेको भन्दै व्यापक विरोध भइरहेका बेला सत्यसुन्दरलाई हटाउनुको सट्टा उल्टै आर्थिक अधिकारसमेत दिन लेखा प्रमुख र कानुन अधिकृत केशव सिलवाललाई समेत दबाब दिएका थिए । त्यसले विवाद बढ्दै गएर आर्थिक कारोबार नै रोकिएपछि अन्ततः मेयरले आयोजनाबाट सत्यसुन्दरलाई हटाएर बराललाई नियुक्ति दिएको बुझिएको छ । आयोजना प्रमुख नियुक्ति गर्ने अधिकारसमेत नगर विकास आयोजनालाई हुनुपर्नेमा मेयरले आफैँले अधिकारको दुरुपयोग गरेको बुझिएको छ ।
व्यापक भ्रष्टाचार भएको र लेखा प्रतिवेदन एवं अडिट समेत नगरी ब्रह्मलुट मच्चाएर करोडौँको भ्रष्टाचार भएको आयोजनामा नयाँ प्रशासकीय अधिकृत बरालले कसरी भुक्तानी दिन्छन् र के गर्छन् भन्ने हेर्न बाँकी छ । मेयरले भन्दैमा जथाभावी भुक्तानी दिए अख्तियारको फन्दामा बराल समेत पर्ने निश्चित छ ।
प्रकाशित मिति: बिहीबार, चैत २८, २०७५