काठमाडौं : नेपाल फर्किने मनसाय बनिसकेको थियो । देशमा दोस्रो संविधानसभाको निर्वाचनको अन्तिम तयारी हुँदै थियो । विदेशमै भए पनि ड्युटी बिदा लिएर कोठामै टेलिभिजनमा निर्वाचन हेर्ने तयारीमा थिए उनी ।
काममा जानुपर्यो भन्दै साहुको फोन आउन सक्छ भनेर राती सुत्दा सधैँ फोन स्वीच अफ गरेर सुत्ने गर्थे । संविधानसभाको चुनाव हेर्नका लागि उनले बिदा पाएकाले पक्कै आज त फोन आउने छैन भन्नेमा ढुक्क थिए । मोबाइल पनि अफ गरेका थिएनन् ।
साहुले राती फोन गरे र भोलि १० बजेपछि मात्र बिदामा बस्न निर्देशन दिए । उनले साहुको कुरा काट्न सकेनन्, बिहानै काममा गए । बिदामा बस्नुअघि नै जीवनभर दुखाइरहने घटना हुन्छ भन्ने के थाहा उनलाई ?
साउदी अरबको जुलुपमा बिहान ७ बजेतिर नै उदयपुरका छविनध्वज कार्कीको जीवनमा सधैँ झस्काइरहने घटना भयो । उक्त घटनाले उनको जीवन नै कहालीलाग्दो बनाइदियो अनि अस्पतालको शैयामा दिन काट्न बाध्य बनाइदियो ।
‘उहाँ हाम्रो जिल्लाको सांसद हुनुहुन्छ’, आँसु पुछ्दै भने, ‘मेरो घरमा पुग्दा उहाँले अप्ठ्यारो पर्यो भने सहयोग गरौँला भन्नुभएको थियो । त्यसपछि सम्पर्क भएको छैन । एक पटक सम्पर्क गराइदिनुहोस् न है !’
देशमा चुनाव भयो कि भएन, चुनाव कसले जित्यो भन्ने कुरा त खै कता गयो कुिन्न !
एउटा निर्माणधीन हस्पिटलका लागि कंक्रिट लैजाने गाडीमा उनी चालकका सहयोगी थिए । माल बोकेर गाडी हस्पिटलतर्फ जाँदै थियो । रोड क्रस गरेर हस्पिटलको कच्ची बाटोमा पस्नेवित्तिकै मालबाकहक गाडी पल्टियो ।
‘गाडी दुर्घटना हुँदा सुरुमा गाडीतर्फ हेरियो । विदेशको ठाउँ, साहुले के भन्लान् भन्ने भयो । गाडीमा खासै क्षति भएको रहेनछ’, उनी भन्छन्, ‘केही समयपछि मात्र थाहा पाएँ– गाडी त आफूपट्टि नै पल्टिएर स्प्रिङले आफ्नो दाहिने गोडाको तिघ्रामा नराम्ररी थिचेको रहेछ ।’
त्यति मात्र कहाँ हो र ! उनको जीवनभरका लागि पीडा दिने चोट पनि लागेको रहेछ । ‘त्यसपछि अप्रेसन भएको तीन दिनपछि मात्र अरू कुरा थाहा पाएँ’, उनले भने ।
उनी घटना भएको तीन दिनपछि मात्र होसमा आए उनी अनि थाहा भयो– तिघ्राकाे हड्डी एघार टुक्रा भएको ।
आँखाभरी आँसु पार्दै उनी भन्छन्, ‘सहयोग गरेको कुरालाई गरेनन् भन्नुहुन्न । कम्पनीका मालिकले मलाई राम्रै सहयोग गरेका हुन् । उनले मलाई त्यहाँको अलजमाल भन्ने हस्पिटलमा सात दिन उपचार गराए ।’
यहाँको जस्तो डे«सिङको सुविधा भएको भए यस्तो हुँदैनथ्यो होला भन्दै उनी भक्कानिए । त्यहाँका अस्पताल निकै महँगा छन् । हस्पिटलले अप्रेसन गरेको तीन वा सात दिनमा डिस्चार्ज गरिदिन्छ । ‘मलाई हस्पिटलले सात दिनमा डिस्चार्ज गरिदियो । त्यतिबेला ३२ हजार ४०० रियाल खर्च भएको थियो । त्यो साहुले नै व्यहोरे । कोठामा लगेर सेवा सुविधासहित राख्नू भनेर पठाइदिए ।’
डिस्चार्जपछिको अवस्थाले पो दर्दनाक रूप लियो । हस्पिटलले अप्रेसन गरेर गोडामा स्टिल राखेर पठाइदियो । डाक्टरले नजिकैको स्वास्थ्य चौकीमा लगेर ड्रेसिङ गराउनु भनेका थिए । डेसिङ नगराएको पनि होइन । गर्मी ठाउँ, कोठामै बस्दा इन्फेक्सन भएछ । त्यसपछि पुनः हस्पिटल जाँदा गोडा काट्नुपर्छ भन्ने कुरा भयो ।
साहुले पाँच–छ महिनामा सर्जरी गरेर अर्को खुट्टा लगाइदिन्छु, त्यतिन्जेलसम्मको तलब पनि दिन्छु भनेका भए पनि त्यो उनलाई मान्य भएन । गोडा फाल्नै परे पनि आफ्नै देशमा फाल्ने निर्णय गरे उनले । ‘खुट्टा काट्दा धेरै माथिसम्म काट्नुपर्थ्यो । अहिले थाहा भयो उनीहरूले गलत कुरा गरेका रहेछन् । त्यसो गरेको भए अर्को समस्या हुनेरहेछ’, यति भन्दा उनका आँखामा आँसुको धारा बगेको थियो । धेरै पटक भक्कानिए उनी यी कुरा सम्झँदा ।
उनको भिसाको म्याद सकिइसकेको थियो । नेपाल फर्कनुअघि त्यहाँको सरकारले दिने सुविधा लिनका लागि कागजपत्र मिलाइदिन उनले दूताबासलाई आग्रह गरेका थिए । २८ दिनमा बनाइदिनुपर्ने पासपोर्ट ४५ दिनमा मात्र आयो ।
एम्बेसीले २४ घण्टे पासपोर्ट बनाइदिएपछि मात्र उनी नेपाल फर्किन पाए ।

‘एम्बेसीका कर्मचारीले ठूलो लापरवाही गरे । २८ दिनमा बनाइदिन्छु भनेको पासपोर्टका लागि ४५ दिन लगाइदिए’, उनले दुखेसो पोखे, ‘पछि साथीहरूमार्फत् पासपोर्ट त पाएँ, साउदी सरकारबाट पाउने २४ हजार रियाल उतै छाड्नुपर्यो । सुविधाबाट वञ्चित भएँ, त्यो साउदी सरकारकै नाममा गयो।’
नेपाल फर्किएपछि उनी बी एण्ड बी, नोवेल, मेडिकल कलेज, टिचिङलगायतका थुप्रै हस्पिटल धाए । सबै हस्पिटलबाट गोडा काट्नै पर्छ भन्ने सुझाव आयो ।
‘त्यसपछि नेपाल अर्थोपेडिक आइपुग्दा यदि तपाईं खर्चले धान्न सक्नुहुन्छ भने तीन वर्षमा लौरो टेकेर हिँड्न सक्ने बनाउन सकिन्छ भनेपछि यहाँ बसेँ । चार वर्ष त एउटै बेडमा बिताएँ ।’
उनले भक्कानिँदै भने, ‘मेरो सम्पति भनेको अब तीनवटा छोराछोरी अनि श्रीमती छन् । आठ–दश कठ्ठा जग्गा र घर पनि अर्कैको नाममा गइसकेको छ । मान्छेको यहाँभन्दा बढी केही सकिन्छ र ?’
साउदीमा राखेको रडले इन्फेक्सन भएपछि त्यो रड फालियो । अप्रेसन गर्ने, रड हाल्ने, पाक्ने अनि रड निकाल्ने क्रम चलिरह्यो । ‘एक वर्ष रड बोकेरै बसेँ । एक वर्षपछि अलिक कन्ट्रोल भयो । अहिले सामान्य रूपमा बैसाखी टेकेर बाथरुमसम्म पुग्न सक्छु’, उनले भने ।
इन्फेकसन भएकाले धैरै नै दुःख भयो उनलाई । अब अप्रेसन गर्नुपर्छ, केही समय फ्रेस भएर आउनुहोस् भनेर डाक्टरले घर पठाइदिए । चार वर्षको हस्पिटल बसाइपछि दशैँ मान्न घर गए । ‘चार महिनापछि सुन्निएर घाउ पाक्दै आयो अनि पुनः अर्थोपेडिक आएको हिजो बुधबार एक महिना पुग्यो’, उनले आफ्नो पीडा पोखे ।
‘चार चार वर्ष हस्पिटल बसेपछि के नै रहन्छ र ?’ आँखामा आँसुका धारा बगाउँदै भने, ‘मैले साउदीमा बस्दा कमाएको रकमले ३२–३५ लाखको जेथा जोडेको थिएँ । त्यो सबै सकियो ।’
उनले भक्कानिँदै भने, ‘मेरो सम्पति भनेको अब तीनवटा छोराछोरी अनि श्रीमती छन् । आठ–दश कठ्ठा जग्गा र घर पनि अर्कैको नाममा गइसकेको छ । मान्छेको यहाँभन्दा बढी केही सकिन्छ र ?’
सम्पति त सकियो, आफूलाई निको भएको भए अलिक सन्तुिष्ट त मान्न सकिन्थ्यो भन्ने लाग्छ उनलाई । ‘सम्पति पनि रहेन, निको पनि भएन’, बरर्र आँसु खसालेर भने ।
अहिले सुन्निएको चाहिँ छैन गोडा । घाउ सफा गरिएको छ । घाउ देखाउँदै भने, ‘हेर्नुहोस् न मासुको थुप्रो मात्रै छ । अबचाहिँ लगभग पैसाकै कारण अप्रेसन रोकिएको छ । नातागोता, दाजुभाइले धेरै सहयोग गर्नुभयो । उहाँहरूले पनि कति दिन गर्ने ? एक दुई दिन भए पो !’
हड्डीको अप्रेसन गर्ने भनिएको छ । कम्तीमा दुईदेखि अढाई लाख लाग्ने अनुमान छ उनको । ‘अप्रेसन गरेपछि घाउ पाकेन भने एक वर्षपछि हिँड्न मिल्छ भन्नुभएको छ डाक्टरले’, एकछिन रोकिँदै भने, ‘पाकिहाल्छ, समस्या त्यही हो ।’
‘यो मेरो अन्तिम अप्रेसन हो । अब निको भएन भने पनि गर्दिनँ’, निराशा मिश्रित स्वरमा भने ।
उनको आशा र अपेक्षा यसरी प्रकट भयो अचानक, ‘तपाईंले डाक्टर नारायण खड्कालाई चिनुहुन्छ ।’ प्रश्न सोध्दै उनी भक्कानिए । ‘उहाँ हाम्रो जिल्लाको सांसद हुनुहुन्छ’, आँसु पुछ्दै भने, ‘मेरो घरमा पुग्दा उहाँले अप्ठ्यारो पर्यो भने सहयोग गरौँला भन्नुभएको थियो । त्यसपछि सम्पर्क भएको छैन । एक पटक सम्पर्क गराइदिनुहोस् न है !’ उनले डा. खड्काले आफूलाई खर्च दिलाइदिनुहुन्छ भनेर भेट्न नखोजेको तर केही आड भरोसा होला भन्ने लागेको बताए ।
उनी गाउँमा खेतीपाती गर्थे । खान लाउन खासै समस्या थिएन । तीनवटा छोराछोरीलाई राम्रो स्कुलमा पढाउनका लागि २०५४ सालमा विदेसिएका थिए उनी ।
‘सरकारी विद्यालयमा पढाइ राम्रो पनि थिएन । अझै राम्रो छैन भनिन्छ । सरकारी स्कुलमा पढाइ राम्रो भइदिएको भए विदेश जानुपर्ने बाध्यता पनि हुने थिएन होला’, उनले भने, ‘छोराछोरी बोर्डिङ पढाउनका लागि विदेशिएँ ।’
विदेश जाँदा लागेको साहुको साँवा व्याज तिर्नमै तीन वर्ष लाग्यो । त्यतिबेला ४०० रियाल तलबमा गएका थिए उनी । घटना हुनु तीन वर्षअघि तलब १४ सय पुगेको थियो ।
‘लामो समय विदेश बसियो । छोराछोरीले पनि बरु सरकारीमै पढ्छौं, घर फर्कनु भनेका थिए । कागजपत्र नमिलेकाले रोकिएँको थिएँ’, उनले भने, ‘तर दुर्भाग्य, जीवन नै कता पुग्यो कता ।’
‘सरकारी विद्यालयमा पढाइ राम्रो पनि थिएन । अझै राम्रो छैन भनिन्छ । सरकारी स्कुलमा पढाइ राम्रो भइदिएको भए विदेश जानुपर्ने बाध्यता पनि हुने थिएन होला’, उनले भने, ‘छोराछोरी बोर्डिङ पढाउनका लागि विदेशिएँ ।’
घर फर्किएपछि साधारण पसल राखेर जोडेको जग्गामा तरकारी खेती गर्ने योजना थियो उनको, त्यो पनि चकनाचुर भयो ।
५३ वर्षीय कार्की भन्छन्, ‘चार वर्ष हस्पिटल बस्दा धेरै रकम खर्च भयो । सबै हस्पिटललले लिएको होइन । हस्पिटलले धेरै छुट दिएकै हो । अब खै कति लाग्छ ? यहाँबाट निस्कँदा मात्र थाहा होला ।’
उनी बीचमा भन्दै थिए, ‘बाबू, अब मलाई केही सहयोग हुन्छ त ?’
उनले अर्थोपेडिकको इन्फेक्सन वार्डमा बिताएको चार वर्षमा धेरै मान्छे आए । निको भए अनि फर्किए । ‘भूकम्पको समयको त के कुरा गर्नु, कति आए कति’, भन्छन्, ‘मलाई पनि घर फर्कन मन नलागेको कहाँ हो र ! हस्पिटल बस्न अझै पनि दिक्क लाग्छ । खै कति समय यसरी बस्नुपर्ने हो ।’
प्रकाशित मिति: बिहीबार, चैत २८, २०७५