भोजपुर : नेपालमा शहरीकरण भएर विकासले गति लिएको धेरै भएकै छैन । केही दशकअघिसम्म प्रायः जुन गाउँ जाँदा पनि जाँतोमा मकै पिस्दै गरेको वा ढिकीमा धान कुट्दै गरेको भेटिन्थ्यो ।
तर प्रविधि यति छिटो अगाडि बढिदियो कि अब तिनै ढिकी र जाँतो देख्न मुस्किल हुन थाल्यो । अहिलेका अधिकांश युवा वर्गलाई त ‘ढिकीजाँतो भनेको के हो ?’ भन्ने अवस्था आइसक्यो । यसका बारेमा कसैलाई बताउनुपर्यो भने पनि हत्तपत्त भेटिने गरी छैनन्, गाउँगाउँमा पनि ।
हिजोआज शहर बजार मात्रै होइन दूरदराजका गाउँघरमा समेत मौलिक मिलको रूपमा रहेका ढिकीजाँतो देख्न पाइँदैन । दुर्गम पहाडी जिल्ला भोजपुरको कुरा हो यो । अहिले प्रायः गाउँगाउँमा विद्युत् सुविधा पुगेको र गाउँमा नै कुटानीपिसानी मिलको पनि संख्या बढेकाले पुर्खौंदेखि चल्दै आएका ढिकीजाँतो लोप हुँदै गएका हुन् ।
भोजपुर नगरपालिका–८ की गृहिणी सीता कार्की भन्छिन्, ‘पहिलेपहिले पो ढिकीजाँतो, ओखलीहरू चल्थे त । अहिले त सदरमुकाममा मात्र होइन, गाउँगाउँमा पनि बिजुली पुगेर मिल खोलेका छन् । अब पहिलेको जस्तो ढिकीजाँतो कसले चलाउने ?’
थोरै अन्न पिस्न घण्टौँ लगाएर ढिकीजाँतो चलाउनुभन्दा सस्तो दरमै मिलमा लगेर सजिलै पिस्न सकिने भएकाले गाउँघरबाट समेत परम्परागत अवस्थाका सामग्रीहरू हराउँदै जान थालेको हो । पहिले धान, गहुँ, कोदो र पिठोका लागि ढिकीजाँतो प्रयोग हुने गर्थे । तर अत्याधुनिक प्रविधिले परम्परागत ढिकीजाँतोलाई विस्थापित गर्दै विद्युतीय मिलको प्रयोग हुृन थालेपछि यी ‘मौलिक मिल’ खोज्दा पनि पाउन मुस्किल हुने अवस्थामा पुगेका छन् ।
गाउँघरका केही घरमा ढिकी देखिए पनि ती प्रयोगमा छैनन् । ‘केही घरमा पुराना ढिकी त देखिन्छन्, तर प्रयोगमा भने छैनन्’, भोजपुर नगरपालिकाका–२ की यशोदा प्रधान भन्छिन्, ‘१०÷११ वर्षअघिसम्म घरघरमा ढिकी जाँतो देखिन्थ्यो, रातिदेखि ती चलेको आवाज सुनिन्थ्यो । तर अहिले ती सबै लोप भैसके ।’
विगतमा गाउँका मानिस वर्षा लाग्नुअघि निकै फुर्सदिला हुन्थे र एकै ठाउँमा भेला भएर पालैपालो एउटै ढिकी जाँतोमा अन्नहरू कुट्ने÷पिस्ने गर्थे । तर त्यो पनि अहिले किंवदन्ती जस्तै बन्दै गएको छ । विद्युत् सुविधा गाउँगाउँमा पुगेपछि मिलको संख्यामा समेत वृद्धि भएको छ ।
भोजपुर बजारमा अत्तर राइस मिल सञ्चालन गर्दै आएका जीवन श्रेष्ठ ढिकीजाँतो मात्रै नभएर गाउँगाउँमा मिल खोलेर अहिले त बजारमा मिलमा कुटानी पिसानी गराउन आउनेको संख्या समेत घटेको बताउँछन् । उनले भने, ‘मिलको संख्या पनि बढ्यो, खेती गर्नेभन्दा किनी खानेको संख्या बढ्यो ।’
आधुनिक कुटानी पिसानी मिलले समय र श्रमको बचत हुने भएपछि पुरानो ढिकी जाँतो पनि हराउँदै गयो । ‘मिल आएपछि समय र श्रम दुवैको बचत भा’को छ’, पौवादुम्मा गाउँपालिका बास्तिमका काजीमान राई भन्छन् । बढ्दो आधुनिक प्रविधिको आकर्षण र प्रयोजनले गर्दा गाउँघरका परम्परागत ढिकीजाँतो लोप हुने क्रममा रहेको घरेलु तथा साना उद्योग विकास समिति भोजपुरका वरिष्ठ उद्योग अधिकृत चेतनाथ गौतमले बताए ।
गौतम भन्छन्, ‘अत्याधुनिक प्रविधिका मिलहरू गाउँगाउँमा खुल्नु र अहिले गाउँघरमा ढिकीजाँतो गर्ने मनिस पनि नहुने भएकाले ढिकीजाँतो जस्ता परम्परागत शैली र पहिचानका सामग्रीहरू लोप हुँदै जान थालेको हो ।’ घरेलु तथा साना उद्योग विकास समिति भोजपुरको तथ्यांक अनुसार हाल जिल्लामा एक सय ८२ वटा कुटानी पिसानी मिल सञ्चालित छन् ।
प्रकाशित मिति: बिहीबार, चैत २८, २०७५