काठमाडौं : नेपालमा पर्यटन सिजन सुरु भएसँगै आरोहीले अनुमति लिने क्रम बढेको छ । पर्यटन विभागको तथ्याङ्कअनुसार आजसम्म नेपालका विभिन्न २० हिमाल आरोहणका लागि ६१६ जनाले अनुमति लिएका छन् ।
विभागको तथ्याङ्कअनुसार सबैभन्दा बढी सगरमाथा आरोहणको अनुमति लिएका छन् भने अनुमति लिने क्रम चलिरहेको पर्यटन विभागका सूचना अधिकारी सुरेन्द्र थापाले जानकारी दिए । सगरमाथा आरोहणका लागि २८८ विदेशी र १२ नेपाली गरी ३०० जनाले अनुमति लिएका छन् । त्यस्तै, लोत्सेका लागि ६६, मकालुका लागि ५३, आमादब्लमका लागि ४१, अन्नपूर्णका लागि २३, नुप्चेका लागि २७ जनाले अनुमति लिएको पर्यटन विभागले जनाएको छ ।
आरोहण अनुमति लिनेमा सबैभन्दा बढी भारतका ७६ जना पर्वतारोही रहेको पर्यटन बोर्डले जानकारी दिएको छ । अमेरिकाका ६३ जना, चीनका ४० र बेलायतका ३९ जना पर्वतारोहीले सगरमाथा चढ्ने अनुमति पाएका छन् ।
नेपालका हिमाल आरोहणका लागि अनुमति शुल्क तिर्नुपर्छ । यस वर्ष २० हिमालको आरोहण अनुमति शुल्कबाट ३९ करोड, १५ लाख ८४ हजार १४५ रुपैयाँ राजश्व जम्मा भएको छ । सगरमाथा आरोहणका लागि ३०० जनाले अनुमति लिँदा ३४ करोड ८३ लाख ७२ हजार २०२ रुपैयाँ राजश्व संकलन भएको छ । त्यस्तै, अन्नपूर्ण आरोहण अनुमति शुल्कवापत ४५ लाख ४८ हजार ५१० रुपैयाँ, हिमजुङ हिमाल आरोहण शुल्कवापत २० लाख १९ हजार ९७५ रुपैयाँ, लोत्से आरोहण अनुमति शुल्कवापत १३ लाख नौ हजार ६४० रुपैयाँ, आमादब्लम हिमाल आरोहण शुल्कवापत १८ लाख १० हजार २० रुपैयाँ, कंचनजंगा हिमाल आरोहण शुल्कवापत ५९ लाख ५५ हजार ५०० रुपैयाँ राजश्व संकलन भएको हो ।
नेपालका हिमालहरू आरोहणका लागि सबैभन्दा उपयुक्त समय बैसाख–जेठलाई मानिन्छ । तयारीका लागि आधारशिविर जानुपर्ने भएकाले माघदेखि नै अनुमति लिने काम सुरु भएको पर्यटन विभागले जनाएको छ । विभागका अनुसार आरोहण अनुमतिका लागि समयसीमा नभएकाले निरन्तर अनुमति लिने काम भइरहेको छ । यस वर्ष आरोहीहरू आउने र अनुमति लिने क्रम चलिरहेको छ भने केही आरोहीहरू सम्बन्धित हिमालका आधारशिविरमा पुगिसकेका छन् ।
गत वर्षको तथ्याङ्क हेर्दा अझै पनि बढ्न सक्ने अनुमान गर्न सकिने पर्यटन विभागले जनाएको छ । गत वर्ष सगरमाथा आरोहणका लागि ८९९, लोत्सेका लागि १८९ जना, आमादब्लमका लागि ८३ जना, कंचनजंगाका लागि ९६ जना, मकालुका लागि ५२ जनाले अनुमति लिएका थिए ।
प्रकाशित मिति: बिहीबार, चैत २८, २०७५