काठमाडौं : प्रतिपक्षी दलको भूमिकामा निरीह देखिएको नेपाली कांग्रेस आन्तरिक पार्टी सञ्चालनमा पनि अन्योलग्रस्त देखिएको छ । पार्टीका भ्रातृसंस्था लथालिंग देखिएका छन् भने मातृपार्टीको हालत पनि उस्तै छ ।
बल्लबल्ल अनुशासन र निर्वाचन समितिमा सहमति जुटे पनि केन्द्रीय कार्यसम्पादन समिति गठनमा सहमति जुटाउने प्रयास सफल हुनसकेको छैन । सोही विषयमा अलमल हुँदा केन्द्रीय समिति बैठक नै अनिश्चित बन्न पुगेको छ । गत शनिबारका लागि बोलाइएको बैठक स्थगित भएको थियो । २०७२ फागुन अन्तिम साता काठमाडौंमा सम्पन्न १३औँ महाधिवेशनमा शेरबहादुर देउवा सभापति निर्वाचित भए । तीन महिनाभित्रै सबै समिति गठन गरिने उनको प्रतिबद्धता तीन वर्ष बवतिसक्दा पनि पूरा हुन सकेन ।
केही सहमति र केही बहुमतका आधारमा निर्णय गर्दै अगाडि बढिरहेका देउवा सहजै अरूलाई सुन्ने पक्षमा अहिले पनि देखिएका छैनन् । कार्यसम्पादन समितिमा महाधिवेशनमा देउवालाई नै सघाएको तर हाल उनको विरुद्धमा देखिएको कृष्ण सिटौला समूहलाई उनले बेवास्ता गरिदिए । सिटौलाले बीचैमा बैठक छाडेर हिँडेपछि सहमति जुटिसकेको भनिएको कार्यसम्पादन समिति गठन थप ढिला हुन पुगेको छ ।
के हो पछिल्लो विवाद ?
नेपाली कांग्रेस एउटा पार्टी भन्दा पनि गुटहरुको महासंघ जस्तो देखिएको राजनीतिक वृत्तमा चर्चा हुने गरेको छ । भ्रातृसंस्थादेखि पार्टीका विभागहरूमा समेत भागवण्डा हुन्छ कांग्रेसमा । अहिले नमिलेको कुरा पनि त्यही भागवण्डाकै हो । जब कांग्रेसको नेतृत्व गिरिजाप्रसाद कोइरालाले गरेका थिए, त्यति बेला ४० प्रतिशत भाग पार्टीभित्रकै तात्कालीन प्रतिपक्ष मानिने शेरबहादुर देउवाले लिँदै आएका थिए । अहिले देउवा आफैँ सभापति छन् । भाग माग्ने ठाउँमा पुरानो संस्थापन समूह छ । उसले सभापतिले एकलौटी गरे नमान्ने भन्दै अडान लिँदै आएको छ ।
१३औँ महाधिवेशनपछि कांग्रेसमा भागवण्डाको आयाम दुईबाट तीनमा पुगेको छ । महाधिवेशनमा सभापतिमा देउवासँग एकाकार भएको कृष्ण सिटौला समूहले पनि अलग भाग मागेपछि अहिले समस्या देखिएको हो । महाधिवेशनमा देउवासँग रहे पनि अहिले सिटौला उनको विरुद्धमा छन् । वरिष्ठ नेता रामचन्द्र पौडेल सिटौलालाई आफ्नो समूहमा राखेर भाग बाँड्न तयार छैनन् ।
आफूहरू भागवण्डाको विपक्षमा रहेको बताउने तर भागचाहिँ माग्ने गर्दा समस्या देखिएको बताउँछन्, नेता सिटौला । उनी आफू पार्टीभित्र बलियो एकताकै पक्षमा रहेको बताउँछन् । ‘तर त्यस्तो एकताको प्रस्ताव कसले ल्याउने हो ? शेरबहादुरजी, रामचन्द्रजी सबलाई भनेको छु, खै प्रस्ताव ?’, मंगलबार गणेशमान सिंहको स्मृतिमा आयोजित कार्यक्रममा उनले भने, ‘निर्वाचनको भन्दा ठूलो हार निर्वाचनयता पार्टी पंक्तिभित्र हुन थालिसक्यो । यो सबैभन्दा चिन्ताको विषय हो आजका दिनमा ।’
उनले सभापति देउवासँग आफूले भागवण्डा नखोजेको पनि स्पष्ट पारे । भने, ‘तर मलाई यति प्रतिशत चाहिन्छ भनेर उहाँहरू आफैँले प्रस्ताव राख्नुहुन्छ । म यति राख्छु, तिमी यति राख । मेरो सामुन्नेमा भयो यो घटना’, कार्यसम्पादन समिति गठनका बारेमा देउवा, पौडेल र आफूसहितको बैठकको घटना सिटौलाले सुनाए । उनले गोजीका मान्छे टिपेर ल्याएसम्म पार्टीमा एकता हुन नसक्ने पनि बताए ।
पौडेल महाधिवेशनमा आफूलाई असहयोग गरेको बदला लिन चाहन्छन् सिटौलासँग । उता देउवा सिटौला अहिले आफ्नो विरुद्धमा रहेकाले सिटौलालाई पेलेरै जाने नीतिमा देखिन्छन् । पौडेल र देउवा नै नकारात्मक बन्दा सिटौला समूह कार्यसम्पादन समितिमा बलियो अंशियार नपाइने त्रासमा रहेको सभापति देउवा निकट एक केन्द्रीय सदस्यले बताए । ‘सिटौलाजीहरू कहिले यता, कहिले उता गरेर तर मारिरहनुभएको छ’, उनले भने, ‘यस पटक त्यो बन्द हुने भयो भनेर आत्तिनुभएको छ ।’ सिटौला समूहले हैसियतभन्दा बढी भाग लिइसकेको भन्दै उनले जे भन्यो त्यही दिने गरी सहमति नगर्ने मुडमा सभापति देउवा रहेको बताए ।
पार्टीमा समीक्षाको खाँचो
वरिष्ठ नेता पौडेल पार्टीभित्र अब आफ्नै समीक्षा गर्ने बेला आएको बताउँछन् । उनको पनि निशानामा सभापति देउवा नै छन् । उनले महाधिवेशनलगत्तै कार्यकर्ताले आफ्नो मूल्यांकन हुन नसकेको गुनासो गरेका थिए । अहिले पनि त्यही कुरामा अडिएका छन् । ‘कांग्रेसले कांग्रेसलाई हराउने काम बन्द गर्नुपर्छ । अब नेताले कार्यकर्ताको मूल्याङ्कन गरेजस्तै कार्यकर्ताहरूले पनि नेताको मूल्याङ्कन गर्न जरुरी छ’, उनी भन्छन्, ‘पार्टीभित्र गुट होइन, नेपाली कांग्रेस भनेर संगठनमा लाग्नुपर्छ ।’
उनले सरकार असफल भए पनि कांग्रेसमा आकर्षण आउन नसकेको भन्दै त्यसका लागि कम्युनिष्ट भन्दा कांग्रेस राम्रो हो भन्ने सिद्ध गर्न जरुरी रहेको बताए । कांग्रेसले सडकदेखि सदनसम्मको भूमिका सशक्त बनाउनुपर्नेमा पौडेलको जोड छ ।
किन बस्न सक्दैन बैठक ?
पटक पटक कांग्रेस बैठक बोलाइन्छ तर अन्तिम समयमा स्थगित हुन्छ । आखिर किन ? कांग्रेसबारे जानकार विश्लेषक हरिविनोद अधिकारी भन्छन्, ‘अहिले कांग्रेसभित्र नै संक्रमणको अवस्था छ । यो संक्रमण रियलाइजेसनको हो ।’ उनका अनुसार कांग्रेस अहिले एकातिर सरकारले बल जबर्जस्त ढंगले प्रतिपक्षलाई बेवास्ता गर्दै अगाडि बढेको र कांग्रेस आफैँभित्र पनि विभिन्न समूह उपसमूहको बढ्दो सक्रियताले संक्रमणमा परेको छ ।
अधिकारीले यस्तो अवस्थामा कांग्रेसका विभिन्न समूह उपसमूहलाई व्यवस्थापन गर्नु र पार्टीभित्र एकता हुनु अनिवार्य रहेको सबैजसो नेताले महसुस गरिसकेको बताए । ‘तर यसका लागि पनि समय त लाग्छ नि !’, उनले भने, ‘यही कारण बैठक बस्न केही समय ढिला भएको हुनसक्छ ।’
प्रकाशित मिति: बुधबार, चैत २७, २०७५