काठमाडौं : सर्वोच्च अदालतले प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका मध्यकमाण्ड इन्चार्ज हेमन्तप्रकाश ओली ‘सुदर्शन’की छोरीले दिएको बन्दीप्रत्यक्षीकरणको रिट खारेज गरेको छ । अदालतले रिट खारेज गरेसँगै सुदर्शन ततकाल रिहा हुने सम्भावना टरेको छ ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय अनिलकुमार सिन्हा र टंक मोक्तानको संयुक्त इजलासले बुधबार ओलीकी छोरी विपनाले दिएको रिट खारेज गरेको हो ।
ओलीलाई गत चैत ९ गते काभ्रेबाट काठमाडौं आउँदै गर्दा उनी सवार गाडीबाटै प्रहरीले पक्राउ गरेको थियो । फागुन १० गते नख्खुस्थित एनसेल कार्यालयको गेट अगाडि एकल जनाको ज्यान जानेगरि भएको बम बिस्फोटको जिम्मा सो पार्टीले लिएको थियो । सो घटनामा मुख्य योजनाकारका रुपमा राख्दै प्रहरीले सुदर्शनको खोजी गरेको थियो ।
विपनाले चैत १३ गते आफ्ना बुवालाई प्रहरीले गैरकानुनी थुनामा राखेकाले थुनामुक्त गर्न आदेश माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन् । महानगरीय प्रहरी अपराध महाशाखा, काभ्रे प्रहरी र विशेष ब्युरोको टोलीले उनीसहितसुदर्शनसहित आठ जना नेकपाका नेतालाई गाडीबाटै पक्राउ गरेको थियो ।
नख्खु बिस्फोटमा लमजुङका ४९ वर्षीय सिंहप्रसाद गुरुङको मृत्यु भएको थियो भने ललितपुर–४ की २६ वर्षीया प्रतिक्षा खड्का र बनेपाकी २५ वर्षीया उरुसा मानन्धर घाइते भएका थिए।त्यस्तै, सोही दिन कमलपोखरीको आँगन मिठाइ पसलअगाडि प्रेसर कुकर बम राखिएको थियो। त्यस्तै वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङको सामाखुसीस्थित घरमा बम बिस्फोट गराइएको थियो। सबै घटनामा सुदर्शन योजनाकार रहेको प्रहरीको दाबी छ ।
प्रकाशित मिति: बुधबार, चैत २७, २०७५