बबियाविर्ता (मोरङ) : २३ वर्षीय नारायण गुरुङ बोल्न सक्दैनन् । हिँडडुल गर्नुपर्यो भने घस्रिनुबाहेक कुनै विकल्प छैन । जन्मँदै अपांग जन्मिएका नारायण अरूले गरेको कुरा त बुझ्छन् तर बोलेर फर्काउन सक्दैनन् ।
नारायण अहिले एक्ला छैनन् । उनीसँग रातदिन बिताउने साथी भएका छन् आफ्नै भान्जा दीपेश गुरुङ । आठ वर्षीय दीपेशको हालत पनि मामा नारायणको जस्तै छ– न बोल्न सक्छन्, न त सहजै हिँडडुल गर्न नै । दुवै जना घस्रिएरै जीवन बिताइरहेका छन् ।
बबियाबिर्ता– २ को गुरुङ परिवारमा दुईको मात्र अवस्था यस्तो छैन । बनिबुतो गरेर जीवन गुजारा गरिरहेका योगेन्द्र गुरुङको परिवार अहिले यस्तैयस्तै थुपै समस्याको बीच जीवनमरणको लडाइँ लडिरहेको छ ।
ऐलानी जमिनमा बनाएको कच्ची घरको छानो जस्तापाताकै छ । बाँसको टाटीलाई माटोले पोतेर घामपानी, हुरीबतास रोके पनि दुःखी जीवनको कष्टपूर्ण हुरीबतासलाई भाग्यले भने रोक्न सकेको छैन । अँगेनामा आगो सल्काउन प्लाष्टिकको बोतलमा मट्टितेल राखिएको छ, छेवैमा थोत्रो एउटा ह्विलचेयर अलपत्र परेको छ तर त्यो ह्विलचेयर कसले प्रयोग गर्ने, मामाले कि भान्जाले ? गुरुङ परिवारले त्यो ह्विलचेयर त्यत्तिकै थन्क्याइदिएको छ ।
योगेन्द्रकी श्रीमती मन्दिरा गुरुङ उमेरले ५१ टेकिन् । तीन वर्षअघिसम्म जेनतेन परिवार राम्रोसँग चलेको थियो । छोरीको बिहादान दिएर नातिनातिनाको मुख हेर्ने उनीहरूको आशा थियो । योगेन्द्र पनि गाउँघरमा सानोतिनो काम गर्थे । मन्दिराले श्रीमानलाई भरथेग सहयोग गर्थिन् । छोरा अपांग भए पनि मायाले पालेर राखेकै थिए, उनीहरूले । तर विवाह गरेर पठाएकी छोरीको अवस्था पनि बिग्रिएर गयो । छोरीले पनि अपांग छोरा जन्माइन् । मन्दिराको ज्वाइँको पनि निधन भयो । त्यसपछि भने गुरुङ परिवारमा दुखका दिन सुरु भए ।
छोरी र नातिलाई आफैँले पालनपोषण गर्ने निधो गर्दै मन्दिराले दुवैलाई घरमा ल्याइन् । तैपनि घर व्यवहार ठीकै थियो । तीन वर्ष पहिले मन्दिराको स्तनमा सामान्य गाँठो देखापर्यो । त्यसलाई उनले सामान्य नै ठानिन् । बनिबुतो गरेर ल्याएर सात जनाको परिवार पाल्नुपर्ने अवस्था नै ठूलो थियो, त्यो बेला । त्यसैले उनले आफ्नो स्तनमा आएको गाँठोलाई ठूलो समस्याको रूपमा लिइनन् । नजिकैको ठूलो अस्पताल भनेको रंगेली अस्पताल थियो । त्यसपछि मात्र विराटनगरको कोसी अञ्चल अस्पताल । मन्दिरा रंगेली पनि पुगिनन्, अझ विराटनगर आउने प्रयत्न पनि गरिनन् किनकि उनीसँग पैसा थिएन उपचार गर्न ।
उनीहरूको दैनिकी यसरी नै चलिरहेको थियो । मन्दिराको स्तनमा भएको गाँठो पनि विस्तारै बढ्दै गयो तर पनि उनी कुनै अस्पताल पुगिनन् । गरिब परिवार, त्यसमाथि अशिक्षाका कारण स्तनमा आएको गाँठो के हो भन्ने भेउ नपाउँदै उनीहरूले ध्यान नै दिएनन् । जब स्तनको गाँठो पाक्दै मात्र गएन, पाकेर कालो हुँदै गएपछि मात्र उनीहरूको होस हवास् उड्यो ।
नजिकैको रंगेली अस्पतालमा गएर देखाएपछि चिकित्सकले स्तनमा आएको गाँठो क्यान्सर भएको बताएपछि भने गुरुङ परिवारमा सन्नाटा छायो । ‘दुई तीन वर्णअघि गाँठो पलायो, मलाई केही होइन जस्तो लाग्यो ।’ क्यान्सर पीडित मन्दिराले भनिन्, ‘जब डाक्टरले क्यान्सर भएको भने, त्यसपछि भने म रुँदैरुँदै घर फर्किए ।’
छोरा, नाति अपांग, ज्वाइँको मृत्यु भएपछि छोरीको माइती बसाइ । अन्य दुई छोरीको लालनपालन, त्यसमाथि मन्दिरामा स्तन क्यान्सर भएपछि उनका श्रीमान् योगेन्द्र मानसिक रोगले विक्षिप्त बनेका छन् । ‘चितवनमा उपचार हुन्छ भनेर भनेका छन् । न चितवन देखेको छ, न त अस्पताल । घरको सबै गर्ने म नै थिएँ, मलाई नै यस्तो भयो’, रुँदै आजको न्यूजसँग मन्दिराले भनिन्, ‘यो हालत भएपछि मेरो श्रीमान् पनि बौलाहा जस्तो हुनुभएको छ । म कहाँ जाऊँ, उपचार गर्ने पैसा छैन । म बाँच्न चाहन्छु । मलाई बचाइदिनुहोस् ।
मन्दिराको उपचारको प्रमुख समस्या भनेको आर्थिक अभाव हो । आर्थिक अभावकै कारण उनले स्तन क्यान्सरको उपचार गर्न सकेकी छैनन् । मन्दिराले हरेक दुःखको सामना गर्दै आएको बताउँदै आफ्नै भरमा परिवार रहेको बताइन् । उनले भनिन्, ‘यत्रो समय कसैलाई केही भनेकी थिइनँ तर अब मलाई सहयोग गरेर बचाइदिनुहोस् । म मरेँ भने मेरो परिवारमा सबैले दुःख पाउँछन् । तपाईंहरूले जति सहयोग गर्नुहुन्छ, त्यसले मैले नयाँ जिन्दगी पाउँछु ।’
बिराटनगर अस्पतालका वरिष्ठ प्रसुतिरोग विशेषज्ञ डा. भानुभक्त न्यौपाने स्तन क्यान्सरको उपचार सम्भव भएको बताउँछन् । क्यान्सरको अवस्था हेरेर उपचार हुने बताउँदै डा. न्यौपानेले भने, ‘स्तन क्यान्सरको उपचार भनेको सर्जरी र रेडियोथेरापी हो, जुन सम्भव छ ।’ उनका अनुसार क्यान्सरको अवस्था हेर्न विभिन्न चेकजाँच गरेपछि मात्र अन्य उपचार गर्नुपर्छ । न्यौपानेले स्तनमा भएको क्यान्सर फोक्सो, कलेजोसम्म पुगेको हुनसक्ने बताउँदै भने, ‘त्यसको स्टेज हेरेर उपचार हुन्छ ।’
सरकारले क्यान्सर पीडितको उपचारका लागि एक लाख रुपैयाँसम्म छुटको व्यवस्था गरेको छ तर गुरुङ परिवारलाई अहिलेसम्म उपचारमा कति रकम लाग्छ भन्नेसम्म थाहा छैन । राम्रोसँग चिकित्सकलाई समेत नदेखाएको बताउने उनीहरू पैसाको जोहो भएमा भरतपुरको क्यान्सर अस्पतालमा उपचार गर्ने सोचमा छन् ।
प्रकाशित मिति: बुधबार, चैत २७, २०७५