भिक्टोरियन नेप्लिज क्रिकेट एसोसिएसन भीएनसीएको आयोजनमा अष्ट्रेलियाको मेलबर्नमा हुने टी १० प्रतियोगितामा आठवटा टोलीले सहभागिता जनाउने भएका छन्।
एक्सपर्ट एजुकेसन एण्ड भिसा सर्भिसेसको मुख्य प्रायोजनमा अप्रिल १३ र १४ तारिकमा मेलबर्नको बोइङ रिजर्भ हुने खेलमा तीन लाख रुपैयाँ राशिको पुरस्कारका लागि आठवटा टोलीबीच खेल हुने भीएनसीएका अध्यक्ष एवं राष्ट्रिय क्रिकेट टोली नेपालका पूर्वखेलाडी यश्वन्त सुवेदीले बताए।
उपाधि भिडन्तका लागि एक्सपर्ट क्रिकेट क्लब, सगरमाथा ए, सगरमाथा बी, गोर्खाली क्रिकेट क्लब, द हिमालयन क्रिकेट कल्ब, रोयन राइनोज, नारे किङ्स र ब्रिलियन्ट क्रिकेट क्लव मैदानमा उत्रने भएका हुन्।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूले अजि फाइनान्सको तर्फबाट आकर्षक पुरस्कार पाउनेछन् भने स्टडिज स्पोर्ट्सको तर्फबाट क्रिकेटसम्बन्धी सामग्री प्राप्त गर्नेछन्।
यसअघि एक दिवसीय र टी २० प्रतियोगिता गर्दै आएको भीएनसीएले यस पटक टी १० स्वरूपमा प्रतियोगिता गरेको हो । प्रतियोगिता उत्साहजनक बनाउन नयाँ स्वरूपमा आयोजना गर्न लागिएको राष्ट्रिय क्रिकेट टोली नेपालका पूर्वखेलाडी एवं भीएनसीका अध्यक्ष सुवेदीले बताए ।
प्रकाशित मिति: बुधबार, चैत २७, २०७५