काठमाडौं : धुम्बाराहीस्थित स्मार्ट क्याफेमा मंगलबारदेखि ‘अन्तर्राष्ट्रिय ब्युटी वर्कसप’ सुरु भएको छ । एक्सपोज नेपालले आयोजना गरेको वर्कसपको उद्घाटन काठमाडौं महानगरपालिकाका उपमेयर हरिप्रभा खड्गीले गरेकी थिइन् ।
कार्यक्रममा खड्गीले सौन्दर्य मानिसको व्यक्तित्वसँग जोडिएको उल्लेख गर्दै आफ्नो व्यक्तित्व विकास चाहनेले न्यूनतम भए पनि सौन्दर्यको ज्ञान राख्नु पर्ने बताइन् ।
सुरसुधा तथा तबला वाधक सुरेन्द्र श्रेष्ठले सौन्दर्यसम्बन्धी अन्तराष्ट्रिय ब्युटी वर्कसपको महत्त्वको विषयमा चर्चा गर्दै बेलाबेलामा आयोजना हुने वर्कसपले सौन्दर्य व्यवसायीलाई आफ्नो पेसाप्रति मर्यादित बनाउन सहयोग गर्ने बताए ।
८० व्युटिसियनहरूको सहभागिता रहेको वर्कसप तीन दिनसम्म चल्नेछ । वर्कसपमा भारतीय मूलकी अन्तर्राष्ट्रिय ब्युटिसियन पारु पटेलले विशेष प्रशिक्षण दिनेछन् ।
अन्तर्राष्ट्रिय जगतमा सौन्दर्य क्षेत्रमा भएको उतार चढाव जानकारी गराउने उद्देश्यले वर्कसप आयोजना गरिएको एक्सपोज नेपालकी सिइओ अर्चना बस्नेतले जानकारी दिइन् । ‘विश्व बजारमा भएका सौन्दर्यको विकास, सौन्दर्यमा आएका नयाँनयाँ टेक्निकको जानकारी वर्कसपमा मिल्नेछ’, बस्नेतले भनिन्, ‘आधुनिक सौन्दर्यतिर उन्मुख हुन यस्ता वर्कसप महत्त्वपूर्ण हुन्छन् ।’
पिस कस्मेटिक नेपाल, बायो ब्युटी, बेरिनाले सहकार्य गरेको वर्कसपको सहयोगीमा रमिता श्रेष्ठ (विभूति ब्युटी केयर ट्रेनिङ सेन्टर), गङ्गा श्रेष्ठ (रिफ्रेस ब्युटी पार्लर), निरुपा गड्तौला (टिन क्रियटिभ) र शारदा नापित (इन्द्रेणी सिप विकास तालिम केन्द्र) रहेका छन् ।
प्रकाशित मिति: बुधबार, चैत २७, २०७५