काठमाडौं : शिक्षालाई हरेक राज्यले प्राथमिकतामा राखेको हुन्छ । शिक्षित जनशक्ति दक्ष हुन्छ भन्ने मान्यता पनि रहिआएको छ । यसर्थ हरेक राज्यले आफ्ना नागरिकलाई शिक्षित र दक्ष बनाउन निकै ठूलो लगानी गरेको हुन्छ ।
शिक्षा र स्वास्थ्यलाई धेरैजसो देशले जनताका मौलिक हकका रूपमा संविधानमै सुरक्षित पनि गरेका हुन्छन् । र, शिक्षा तथा स्वास्थ्य राज्य मातहत र कतिपय मुलुकमा निःशुल्क पनि गरिएको पाइन्छ ।
हामीकहाँ अर्थात् नेपालमा पनि शिक्षा र स्वास्थ्यका क्षेत्रमा राज्यको लगानी कम छैन । यद्यपि, २०४६ सालको राजनीतिक परिवर्तनसँगै शिक्षा र स्वास्थ्य क्षेत्रमा निजीकरणको व्यापक प्रभाव पर्यो । गाउँगाउँ, टोलटोलमा समेत निजी विद्यालय र अस्पताल खुल्ने क्रम जारी रह्यो र यो क्रम अद्यापि कायम छ ।
निजी क्षेत्रले शिक्षाका क्षेत्रमा यसबीचमा गरेको लगानी कम छैन । साँच्चै भन्ने हो भने अहिले सरकारी शिक्षालयभन्दा निजी शिक्षालय बढी ‘पावरफुल’समेत देखिएका छन् । महँगो रकम लिएर अध्यापन गराउने यस्ता निजी शिक्षालयहरूले आफूले गुणस्तरीय शिक्षा दिएको दाबी पनि गर्दै आएका छन् । मूलतः पछिल्लो पुस्ता उच्चशिक्षा अध्ययनका लागि होस् वा कमाइका लागि विदेश जान रुचाउँछ । र, यस्तो पुस्ताको रुचिअनुसारको शिक्षा निजी शिक्षालयहरूले दिइरहेका देखिन्छ ।
निजी शिक्षालय विदेशका लागि जनशक्ति उत्पादन गरिदिने कारखाना जस्ता हुँदैै गएको आरोप पनि लागिरहेकै छ । स्वदेशका लागि उपयुक्त जनशक्ति उत्पादनमा निजी शिक्षालयहरू चुकेका, व्यावसायिक शिक्षामा कम ध्यान दिइएको भन्ने आरोेप त सुनिरहिएकै छ ।
सँगसँग निजी शिक्षालयहरूमा कार्यरत शिक्षक/शिक्षिकाको चरम श्रमशोषण हुने गरेका विषय पनि समय समयमा बाहिर आउने गरेका छन् । बाहिरबाट हेर्दा चिटिक्क देखिने निजी विद्यालयभित्र पीडा र बेथितिका चाङ नै रहेका त्यहाँ कार्यरत शिक्षक/शिक्षिकाहरू नै बताउँछन् । यस्ता विद्यालयमा अध्ययन गर्ने विद्यार्थी, अध्यापन गराउने शिक्षक अनि अभिभावकका पीडा आआफ्नै छन् । चर्को शुल्क लिएको आरोप लाग्ने गरेका निजी विद्यालयका शिक्षकका पीडा दर्दनाक नै छन् । घरैपिच्छे जस्तो देखिने विद्यालयभित्र ज्ञान बाँडिरहेका शिक्षकहरूका गुनासै गुनासा छन् ।
नयाँ शैक्षिक सत्र सुरु हुनै लाग्दा विद्यालयहरूबीच विद्यार्थी तानातान गर्ने होडबाजी जस्तै चलेको छ । पार्टटाइम पढाउने शिक्षकहरूलाई एउटा विद्यालयका विद्यार्थी अर्को विद्यालय पुर्याउने गरेको आरोप पनि लाग्ने गरेको छ ।
लामो समयदेखि चाबहिलको एक निजी विद्यालयमा अध्यापन गराइरहेका एक शिक्षक भन्छन्, ‘थोरै विद्यार्थीहरू भएका विद्यालयमा अध्यापन गराउने शिक्षकहरू त निरीह प्राणी जस्तै हुन् ।’
ठूला भनाउँदा विद्यालयहरूले पनि समयमा शिक्षक कर्मचारीलाई तलब दिन नसकेको उनले बताए । ‘यस्ता विद्यालयले त समयमा सेवा सुविधा उपलब्ध गराउँदैनन् भने थोरै विद्यार्थी लिएर सञ्चालन भइरहेका विद्यालयहरूबाट के आशा गर्न सकिन्छ र ?’, उनले प्रश्न गरे । उनका अनुसार पुरानो तलबको आशामा त्यहीँ काम गर्दै जानुपर्ने बाध्यता छ । ‘त्यहाँ छाडिहाल्दा त झनै अघिल्लो महिनाको तलब पनि माया मार्नुपर्ने हुन्छ’, उनले भने ।
सबै कुरामा महँगी बढ्दै छ तर यस्ता विद्यालमा भने शिक्षक/शिक्षिकाले छदेखि आठ हजार रुपैयाँमै बिहान ९ बजेदेखि बेलुकी ५ बजेसम्म बस्नुपर्ने बाध्यता छ । कमाइका अन्य उपाय नभएकाहरूले त्यति तलबमा राजधानीमा बस्न सक्ने अवस्था छैन तर अन्यत्र रोजगारीको अवसर नपाउँदा यस्तै निजी विद्यालयमा यसरी नै पीडा सहेरै बस्नुको विकल्प पनि उनीहरूमा देखिँदैन ।
थोेरै विद्यार्थी भएका धेरैजसो यस्ता विद्यालय पारिवारिक रूपमा सञ्चालन हुने गरेका छन् । ‘बुबा प्रिन्सिपल, आमा एकाउण्टेन्ट, एसएलसी पास गरेका छोराछोरी शिक्षक/शिक्षिका’, उनले तीतो यथार्थ सुनाए ।
भक्तपुरमा रहेको एक विद्यालयकी शिक्षिकाको कथा भने फरक छ । आफ्नो आठ महिने छोरो रहेको बताउने उनले निजी विद्यालयमा पढाउँदाका दुःखका कुरा सुनाइन् । ‘बिदाको दिन पनि विद्यालयमा मिटिङ छ, बिहान चाँडै आउनुस् है भन्दै बोलाउनुहन्छ’, उनले भनिन् ।
काखे बच्चा घरमै छाडेर आँखा मिच्दै विद्यालय पुग्दा सञ्चालकहरू भने फुर्सदले आउने बताउँदै उनले भनिन्, ‘आफ्नो मन भतभती पोलेको उहाँहरूलाई के थाहा ?’ त्यति मात्र कहाँ हो र ! बिदाको दिन पनि परीक्षाको तयारी, रिजल्टलगायतका थुप्रै काम पर्दा विद्यालय आउनै पर्छ अनि लामो समय खटिनुपर्छ । उनका अनुसार त्यसको चाहिँ कुनै लेखाजोखा हुँदैन ।
आफूलाई अत्यावश्यक बिदा माग्दा भने तलब काटिएर आउने उनले गुनासो गरिन् । ‘दश हजारका लागि महिनाभर खट्दा पनि तलब काटिएर आउँदा भने साह्रै नमज्जा लाग्छ’, उनले भनिन् ।
कलेज पढ्दै निजी विद्यालयमा अध्यापन गराउने विद्यार्थी शिक्षकहरूको पीडा पनि त कहाँ कम छ र ? आफ्नो एक पिरियड पढाइ छाडेर हतार हतार गर्दै विद्यालय दौडियो, विद्यालयमा १०–१५ मिनेट ढिलो पुग्दा प्रिन्सिपलको नराम्ररी गाली खाइने अनि दिनभर नै मुड खराब हुने बानेश्वरमा रहेको एक निजी विद्यालयका शिक्षकको भनाइ छ । ‘त्यसको असर विद्यार्थीलाई पर्छ’, बिहान कलेज पढ्दै दिउँसो बोर्डिङ पढाउँदै आएका उनले बताए ।
‘ठूला भनिने विद्यालयहरू कानुनी रूपमा पारदर्शी जस्तो देखिन्छन् तर पशुपति शर्माको लुट्न सके लुट कान्छा लुट्न सके लुट भन्ने गीत जस्तै त हुन्छ यहाँ’, कोेटेश्वरको एउटा निजी स्कुलमा पढाउँदै आएका शिक्षकले भने । विभिन्न बहानामा विद्यार्थीबाट महँगो शुल्क असुल गरिने गरेको उनको आरोप छ । ‘बाहिर महँगो शुल्क लियो भन्ने चर्चा पनि हुन्छ । तर शिक्षक शिक्षिकाको सुविधा त उस्तै हो’, निराशा मिश्रित उनको अभिव्यक्ति थियो ।
सरकारले निजी विद्यालयका शिक्षकहरूको न्यूनतम पारिश्रमिक १३ हजार रुपैयाँ तय गरे पनि सो पारिश्रमिक सबैले पाउन नसकेको गुनासो गर्छन् ।
निजी विद्यालयले आफ्नो विद्यालयमा रोजगारी दिने भन्दै एक महिना काम लगाएपछि पर्फर्मेन्स राम्रो नभएको भन्दै तलब नै नदिई बिदा गर्ने गरेको पीडित बताउँछन् । राजधानीका केही निजी विद्यालयमा महिनैपिच्छे शिक्षक परिवर्तन हुने उनीहरूको भनाइ छ । केही विद्यालयको नीति नै ‘महिना हेरौँ, शिक्षक फेरौँ’ रहेको उनीहरूको भनाइ छ ।
जोसेफ स्कुलका प्रिन्सिपल सूर्यबहादुर कार्की भने यो कुरा स्वीकार्दैनन् । उनी भन्छन्, सरकारले तोकेको र विद्यालय र शिक्षकबीचको आपसी समझदारीअनुसार निजी विद्यालयले दिँदै आएको छ । कतै यस्तो भएको भए नियमअनुसार दिनुपर्ने उनले बताए ।
शिक्षक र विद्यालयको हक हितका लागि भन्दै गठन भएका छाता संगठनहरूले यस्ता विद्यालयलाई कार्बाही नगर्ने गरेको बताउँदै एक शिक्षकले भने, ‘छाता संगठनले कार्बाही नगर्नुको कारण चुनावमा एउटा मत कम हुन्छ भनेर हो । आफ्नै संगठनका नेता कार्यकर्ताको विद्यालयलाई कार्बाही गर्दा चुनावमा हारिने डर हुन्छ ।’
तर यस्ता संगठनले आफ्नो संगठनबाहिरका विद्यालयलाई भने कार्बाही गरेको पनि सुनेको उनले बताए । ‘यस्ता विद्यालयलाई कार्बाहीको दायरमा किन ल्याउनुहुन्न भन्दा हाम्रोमा गुनासो नै आएको छैन भन्नुहुन्छ’, उनले भने ।
राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपालका काठमाडौं जिल्ला अध्यक्ष विष्णु पराजुली भन्छन्, हामीले थाहा पाएसम्म यस्ता केसमा कार्बाही गरेका छौँ, हाम्रो काम शिक्षक, विद्यार्थीको हक हितमै काम गर्ने हो र यो काम गरिरहनेछौँ ।
प्रकाशित मिति: बुधबार, चैत २७, २०७५