हामी संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको सविधान कार्यान्वयनका चरणमा छौं । तीन तहका सरकार गठन भएर सबैले आआफ्नो काम आरम्भ गरेका छन् । यस हिसाबले हाम्रा सरकारहरूका लागि यी प्रारम्भिक वर्षहरू भनेको आधार वर्ष पनि हुन् । तीनै तहका सरकारका लागि बजेट बिनियोजनदेखि जनशक्ति व्यवस्थापन त छँदैछ । त्यसका अलावा नयाँ संविधानले परिकल्पना गरेका सयौँ कानुन पनि हामीले यही समयमा निर्माण गरिरहेका छौँ ।
हामीले सरकार फेरबदलको लामो शृंखला भोगेका छौँ । एउटा सरकार गठन भएर जब त्यसले काम आरम्भ गर्नै लाग्थ्यो फेरि अर्को सरकार गठनको प्रक्रिया सुरु भइहाल्थ्यो । प्रत्येक सरकार म्यादीको मानसिकतामा आउँथे र सोही बमोजिम चल्ते–चलातेको स्वरूपमा घर फर्किने गर्थे । ०४६ सालको परिवर्तनयता पहिलो पटक हामीले एउटा बलियो सरकार पाएका छौँ । दुई ठुला कम्युनिष्ट पार्टीको एकतापछि सम्भव भएको यो जनमत शान्ति, स्थिरता र विकासका लागि हो । मानिसहरूले हाम्रो सरकारलाई निकै बलियो सरकार र हाम्रा प्रधानमन्त्रीलाई राजा महेन्द्रपछिको शक्तिशाली कार्यकारी प्रमुखका रूपमा समेत विश्लेषण गरिरहेका छन् ।
हामीलाई थाहा छ, जनताका असीमित आवश्यक्ता छन् । हातमा विश्व देख्न र पढ्न सक्ने आजको समयमा विकास र समृद्धिका लागि कोही पनि पर्खिन तयार छैनन् । पूर्वाधार विकासको उत्कट चाहनाले मानिसलाई अधैर्य बनाइरहेको छ । जनताको अपार विश्वासलाई किञ्चित पनि तलमाथि पर्न नदिने गरी सरकारले पहिलो दिनबाटै आफ्नो काम थालनी गरिसकेको थियो ।
हामीलाई थाहा छ, जनताका असीमित आवश्यक्ता छन् । हातमा विश्व देख्न र पढ्न सक्ने आजको समयमा विकास र समृद्धिका लागि कोही पनि पर्खिन तयार छैनन् ।
सम्माननीय प्रधानमन्त्री केपी ओलीज्यूको नेतृत्वमा रहेको यो सरकारले सुखी नेपाली र समृद्ध नेपालको एक मात्र उद्देश्य राखेर काम गरिरहेको छ । प्रधानमन्त्रीज्यूको त्यही सपना हाम्रो सपना र सारा नेपालीको सपना त्यही हो । उहाँको नेतृत्वमा अत्यन्त सुझबुझपूर्ण तरिकाले हामीले निन्तर काम गरिरहेका छौँ । सरकारले भर्खरै आफ्नो एक वर्षे कार्यकाल सम्पन्न गरेको छ । एक वर्ष कार्यकाल सम्पन्न गरेपश्चात् प्रधानमन्त्रीज्यूले सरकारको एकवर्षे कार्यप्रगति विवरण जनताको बीचमा प्रस्तुत गरिसक्नुभएको छ । र हामी मन्त्रीहरूले पनि आफ्नो आफ्नो विभाग अन्तर्गत भएका महत्वपूर्ण कामहरूको फेहरिस्त जनसमक्ष पेस गरिसकेका छौँ । हाम्रो मन्त्रालयले पनि गएको ५ गते मन्त्रालयमै पत्रकार सम्मेलन गरेर भौतिक पूर्वाधारको क्षेत्रमा भएका महत्वपूर्ण उपलब्धिलाई यहाँहरू समक्ष प्रस्तुत गरिसकेका थियाँै । आमजनताले पूर्वाधार क्षेत्रमा भइरहेका उपलब्धिलाई विस्तारै महसुस गर्न पनि थालिसकेका छन् ।
सरकार गठन भएका बेला राजधानी काठमाडौँका अधिकांश सडकहरूको हालत के थियो ? आज कलंकी–नागढुंगा र बौद्ध–साँखु सडकबाहेक प्रायः अन्य सबै सडक सहज भइसकेका छन् । ती दुई सडक पनि छिटै स्तरोन्नतिसहित निर्माण सम्पन्न हुने चरणमा छन् । मुग्लिन–नारायणगढ सडक निर्माण सम्पन्न नहुँदा जुन सास्ती आमजनताले भोग्नुपरेको थियो, आज त्यो हटिसकेको छ । सरकारले तीव्र गतिमा आफ्नो काम नगरेको भए ती कामहरू सम्पन्न हुने थिएनन् ।
हो हामीलाई थाहा छ, जनताको व्यापक चाहना र सरकारका सीमितताका बीच कहीँ न कहीँ तालमेल नमिलेको चाहिँ पक्कै हो । फेरि आज भौतिक विकासको जुन सन्दर्भ छ, त्यो संघीय सरकार एक्लैले मात्रै गर्ने गरी तय भएको छैन । संघीय सरकारका अतिरिक्त प्रदेश र स्थानीय सरकारसमेत यही भौतिक पूर्वाधार विकासका लागि केन्द्रित छन् । हामी तीनै तहका सरकारले आआफ्नो सीमामा रहेर विकास गर्नुपरिरहेको यथार्थ हाम्रासामु विद्यमान छ ।
सरकार गठन भएका बेला राजधानी काठमाडौँका अधिकांश सडकहरूको हालत के थियो ? आज कलंकी–नागढुंगा र बौद्ध–साँखु सडकबाहेक प्रायः अन्य सबै सडक सहज भइसकेका छन् । ती दुई सडक पनि छिटै स्तरोन्नतिसहित निर्माण सम्पन्न हुने चरणमा छन् ।
काम नहुँदाको अपजस जति सबै केन्द्र सरकारलाई दिनुपूर्व हामीले सोच्नुपर्छ कि हामी तीन तहका सरकार आफ्नो अधिकार र जिम्मेवारी अनुसार काम गरिरहेका छौँ । यहाँ बुझ्नुपर्ने कुरा के छ भने हाम्रो संविधानको व्यवस्थाबमोजिम प्रदेश र स्थानीय सरकारहरू संघीय सरकारको मातहत होइनन् । तीनटै सरकार जब समन्वयका साथ काम अघि बढाउँछन्, तब मात्रै सोचेअनुसारको तीव्र विकास हुने देखिन्छ ।
अब प्रदेश र स्थानीय सरकारहरूले पहिलोपटक सरकारको अभ्यास गरिरहेका छन् । बजेट र कर्मचारी व्यवस्थापनको काम अहिलेसम्म चलि नै रहेको छ । तर सबै सरकारहरूले अत्यन्तै सकारात्मक सोच र इमान्दारीका साथ कामको आधारशिला खडा गरिरहेका छन् । त्यसमा पनि संघीय सरकारले त हरेक क्षेत्रमा यो एक वर्षको अवधिमा रेकर्डतोड काम गरेको छ ।
जनताद्वारा निर्वाचित सरकारले संविधानका व्यवस्था र भावनालाई समेत खयाल गर्दै आफ्ना काम अगाडि बढाइरहेको छ । हामी लोकतान्त्रिक व्यवस्थामा छौँ । त्यसैले सबैका भावना, विचार र अधिकारहरूलाई समेत हामीले सम्मान गर्नुपर्ने हुन्छ । तर एउटा कुरा के भने हामी विषयको गइराइसम्म पुग्दै नपुगी सतही बिश्लेषण गर्न थाल्यौँ र विरोधका लागि विरोध मात्रै गर्न थाल्यौँ भने हामी कहाँ पुगौँला र ? सरकार गम्भीर ढंगले काम गरिरहेको छ । विकास र समृद्धि कुनै रातारात हुने कुरा पनि होइन । यसका लागि स्पष्ट योजना, दृढ इच्छाशक्ति र त्यतिकै कार्यान्वयन क्षमता पनि आवश्यक छ । र हामीले विकासका लागि योजना सार्वजनिक गरिसकेका छौँ ।
त्यो योजना कार्यान्वयन गर्न दृढ इच्छाशक्तिकै साथ अघि बढिरहेका छौँ । सकारात्मक परिणाम देखिन सुरु भइसकेका छन् । पूर्ण परिणामका लागि त हामीले धैर्य गर्नु नै पर्ने हुन्छ । तर तपाईंलाई थाहा छ यो सरकार गठन भएको केही महिनाभित्र चौतर्फी आलोचना सुरु भयो । हिजो लामो समय सरकारका सबै अवयव नियन्त्रण गरेर बसेकाहरू नै हिजो रामराज्य भएजसरी आलोचना र उपदेशका वाणी बर्साउन थाले । आफ्नो निम्छरो विगतलाई समेत बेवास्ता गर्दै हिजो के के न भएको थियो, केपी ओली सरकार आउनेबित्तिकै बर्बाद भएझैँ अभिनय गर्न थाले । उनीहरूकै आलोचना र उपदेशलाई तथ्य सम्झिँदै केही मिडियाहरू समेत ओरालिए र यो सरकारको छवि धुमिल बनाउने काममा कम्मर कसेर लागे । तर आधारभूत तहका जनताको अपार विश्वासले गठन भएको यो सरकार कसैका आलोचनाउपर टिप्पणी गर्नुभन्दा आफ्नो निर्दिष्ट लक्ष्य प्राप्तिमा निरन्तर इमानका साथ अघि बढिरहेको छ ।
दृढ इच्छाशक्तिकै साथ अघि बढिरहेका छौँ । सकारात्मक परिणाम देखिन सुरु भइसकेका छन् । पूर्ण परिणामका लागि त हामीले धैर्य गर्नु नै पर्ने हुन्छ ।
हिजो के अवस्था थियो सबै नेपाली जनताले राम्रोसँग बुझेका छन् । केही मानिसका के स्वार्थ पूरा भइरहेका छैनन् त्यो मलाई थाहा छैन । अझ भनौँ हामीकहाँ केही यस्ता स्वार्थी तत्व छन्, जसले नेपाललाई स्थिर विकासको मार्गमा अघि बढेको हेर्नै चाहँदैनन् शायद । त्यसैले त सधैँ नकारात्मकताका खेती मात्रै गरिरहेका छन् । हामीले बुझ्नुपर्ने कुरा के हो भने मुलुक हामीले नै बनाउने हो । बाहिरको अरू कोही आएर हाम्रो मुलुक बनाइदिने होइन । हामी सधैँ र सबै विषयमा नकारात्मक भएर आफ्नो देशभित्र अराजकता मच्चाएर हिँड्ने हो भने मुलुक कसरी बन्छ र ? म दावाका साथ भन्छु यो सरकारले बनाउन नसकेको मुलुक अर्को कस्तो सरकारले बनाउँछ र ?
कोही मानिसहरू या स्वार्थ समूहहरू यतिसम्म सत्यलाई पनि झुटो सावित गर्न तल्लीन हुन्छन् कि मानौँ उनीहरू त्यसो गर्ने शपथ लिएर बसिरहेका छन् । पूरै सरकारलाई असफल बनाउन गरिएका षडयन्त्रतर्फ म अहिले जान्नँ । तर एउटा मात्रै उदाहरण जो मसँग सम्बन्धित छ, बस त्यत्ति चाहिँ तपाईंहरूलाई सुनाउँछु । सरकार गठन भएलगत्तै हामीले बडो सुझबुझपूर्ण तरिकाले लामो समयदेखि विद्यमान रहेको यातायात क्षेत्रको गैरकानुनी सिन्डिकेट अन्त्य गर्ने निर्णय लियौँ । त्यो कुनै एकजनाको पहलबाट भएको काम थिएन । त्यसका लागि प्रधानमन्त्रीदेखि तालुकदार सबै मन्त्रालयहरूले लामो छलफल गरेर त्यसका परिणामहरूको समेत ख्याल गरेर सामूहिक रूपमा लिइएको निर्णय थियो ।
त्यस्तो साहसिक निर्णय लिने तालुकदार मन्त्रालयको नेतृत्व मैले लिइरहेको थिएँ । तर केही स्वार्थ समूहरूले त्यति ठूलो निर्णय लिने एक जना सहसचिव हुन् म चाहिँ त्यसको विरोधमा छु भन्ने आशयका झुट विषयहरू निरन्तर बढाइचढाइ गरेर सार्वजनिक गरिरहे । कतिसम्म अचम्म लाग्ने विषय भने सिंगो सरकारको निर्णय थियो र त्यसका लागि सरकारका सबै मन्त्रालयहरू सम्बन्धित हुनेसम्म सबै एकजुट भएर लागेका थिए । प्रधानमन्त्रीज्यूले चाहनुभएको थिएन भने उहाँको चाहनाबमोजिम म सक्रिय भएको थिइनँ भने त्यो सम्भव हुने थियो र ?
तर केही मानिसहरूले मलाई सिन्डिकेटको पक्षधर र हाम्रै मन्त्रालयको एक जना सहसचिवलाई सिन्डिकेट हटाउने साहसिक निर्णयकर्ताको रूपमा जनतामाझ भ्रम छरे । सामान्य मानिसले पनि बुझ्ने अतिसामान्य कुरा के भने सहसचिव या भनौँ कर्मचारीले मात्रै यस्तो निर्णय गर्न सक्ने भएको भए राजनीतिक नेतृत्व किन चाहिन्थ्यो र ? कर्मचारीले सरकारले गरेको निर्णय कार्यान्वयन मात्रै गर्ने हो । यद्यपि त्यो निर्णय कार्यान्वयन गर्ने सन्दर्भमा मन्त्रालय मातहतका सबै कर्मचारी साथीहरूको सक्रिय र उल्लेख्य भूमिका थियो र अहिले पनि छ ।
तर केही मानिसहरूले मलाई सिन्डिकेटको पक्षधर र हाम्रै मन्त्रालयको एक जना सहसचिवलाई सिन्डिकेट हटाउने साहसिक निर्णयकर्ताको रूपमा जनतामाझ भ्रम छरे । सामान्य मानिसले पनि बुझ्ने अतिसामान्य कुरा के भने सहसचिव या भनौँ कर्मचारीले मात्रै यस्तो निर्णय गर्न सक्ने भएको भए राजनीतिक नेतृत्व किन चाहिन्थ्यो र ?
हामी लोकतान्त्रिक सरकार हौँ । सिन्डिकेटधारी व्यवसायी पनि हाम्रै व्यवसायी हुन् । अब समय दिएर सबै कानुनी प्रावधानलाई समेत मिलाएर हामी त्यो सिन्डिकेट अन्त्यको निर्णयलाई व्यावहारिक रूपमा कार्यान्वयन गर्दैछौँ । जतिबेला हामीले निर्णय लिएका थियौँ । त्यतिबेला हामीलाई कैयन पक्षबाट लोकतन्त्र विरोधी समेत भनियो । हो हामी व्यक्तिगत सम्पत्तिको सम्मान गर्छौं, लोकतन्त्रलाई पूर्णरूपमा मान्छौं, त्यसैले सबै विषयलाई मध्यनजर गरेर त्यो निर्णयलाई कार्यान्वयन गर्न गइरहेका छौं ।
मैले भन्न खोजिरहेको कहाँ हो भने विषयको गहिराइमा पुगेर मात्रै निष्कर्ष निकाल्नुपर्छ नत्र न हामी गन्तव्यमा पुग्छौँ न मुलुकलाई नै गन्तव्यमा पुर्याउन सक्छौँ । यो त एउटा सामान्य उदाहरण मात्रै हो । यस्ता जनविरोधी समूह र राजनीतिक दलहरूले सरकारले गरेका कैयौं निर्णयहरूलाई जनताको बीचमा मजाक बनाउने कोसिस गरेका छन् । प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु भएर लागू भइसकेको छ । एउटा तप्काले त्यति जनप्रिय र ऐतिहासिक कामको समेत मजाक उडाउन भ्याए । तर हामीलाई विश्वास छ तिनै मजाक उडाउने कैयौंका आफन्तजन यही जनप्रिय कार्यक्रमबाट अबको केही समयमै लाभान्वित हुन थाल्नेछन् ।
अब भौतिक पूर्वाधार विकासको क्षेत्रको कुरा गर्नुहुन्छ भने यो एक वर्षको अवधिमा हामीले रेकर्डतोड काम गरेका छौँ । हामीले सरकार गठन भएको एक वर्षमा छ लेन, चार लेन र दुई लेनका गरी आठ सय किलोमिटर सडक बनाएका छौँ । नेपलकै इतिहासमा एक वर्षमा यति सडक निर्माण भएको रकेर्ड हामीसँग छैन । त्यस्तै वर्षमा मुस्किलले ३० देखि ३५ पुल बन्ने गरेकामा यस वर्ष हामीले एक सय पुल निर्माण गरिसकेका छौँ । आर्थिक सीमितताको सामना गर्नुपरेन भने हामी तीन सय पुल निर्माण गर्नेसम्मको लक्ष्य लिएका छौँ । यो एक वर्षमा हामीले १४ सय किलोमिटर सकड ग्राबेल गरिसकेका छौ । त्यो पनि आफैँमा ऐतिहासिक काम हो । ग्राबेलको काम मुख्य रूपमा पहाडी क्षेत्रको लाइफलाइन मनिएको मध्यपहाडी राजमार्गमा भएको छ ।
सडक र पुल निर्माणका ठेक्का व्यवस्थापन समेत उल्लख्य सुधारका काम भएका छन् । प्रधानमन्त्रीलेज्यूले पाँच वर्षभित्रमा छ हजार किलोमिटर सडक निर्माण गर्ने जुन योजना सार्वजनिक गर्नुभएको थियो, त्योभन्दा पनि बढी सडक निर्माण हामी गर्नेछौँ । यही वर्ष विकट डोल्पाको दुनैसमेत राष्ट्रिय सडक सञ्जालमा जोडिएको छ । कर्णाली, कालीगण्डकी लगायतका करिडोरमा सडक विस्तार तीव्र गतिमा अघि बढाइएको छ । निर्माण सम्पन्न भएका केही सडक अयोजनाको मात्रै मैले तपाईंसँग भनिरहेको छु । तर यो एक वर्षभित्र यति तीव्र गतिमा काम भएको छ कि यसको परिणाम ग्रामीण भेगका जनताले तुरुन्तै पाउनेछन् ।
जनतालाई आवागमनमा अप्ठेरो भइरहेको राजधानीभित्रकै सम्पन्न हुन बाँकी दुई सडक कलंकी–नागढुंगा र बौद्ध–साँखु खण्ड जेठ महिनाभित्र सम्पन्न भइसक्ने छन् । जसका लागि यतिबेला तीव्ररूपमा काम भइरहेको छ । यस हिसाबले भन्दा हामीले सडक निर्माणका क्षेत्रमा रेकर्डतोड काम सम्पन्न गरेका छौँ र यो वर्षको आधार हेरेर आगामी पाँच वर्षमा सडक सञ्जालमा मुलुकले कायपलट गर्नेछ ।
यस वर्ष हामीले रेलवेमा पनि ऐतिहासिक फड्को मारेका छौँ । रेलमार्गको सन्दर्भमा डिपिआरको काम सकिएको छ । हामीले पूर्व–पश्चिम विद्युतीय रेलमार्गको कामै थालिसकेका छाैं । बर्दिवासबाट निजगढ आउने सालमा हामीले दुई ठाउँबाट अझै थप्दै छौँ । काँकडभिट्टाभन्दा पश्चिम र कञ्चनपुरको गड्डाचौकीभन्दा पूर्व ०७७/७८ मा पाँच ठाउँमा सुरु गरेर पाँच/छ वर्षभित्रमा पूर्वपश्चिम रेलमार्ग सञ्चालन गर्ने पनि हामीले सोच बनाइरहेका छौँ । हामी ३५ किलोमिटरमा त तत्कालै रेल कुदाउन गइरहेका छौँ ।
मानिसले पानीजहाज कुदाउने सरकारको सम्भव योजनालाई अहिलेसम्म पनि मजाकको विषय बनाइरहेका छन् । तर हामीले कार्यालय खोल्यौँ, कर्मचारी दरबन्दी व्यवस्थापन गर्दैछौ र सँगसँगै गण्डक क्षेत्रमा सर्वे पनि गरिसकेका छौँ ।
बर्दिवासबाट निजगढ आउने सालमा हामीले दुई ठाउँबाट अझै थप्दै छौँ । काँकडभिट्टाभन्दा पश्चिम र कञ्चनपुरको गड्डाचौकीभन्दा पूर्व ०७७/७८ मा पाँच ठाउँमा सुरु गरेर पाँच/छ वर्षभित्रमा पूर्वपश्चिम रेलमार्ग सञ्चालन गर्ने पनि हामीले सोच बनाइरहेका छौँ । हामी ३५ किलोमिटरमा त तत्कालै रेल कुदाउन गइरहेका छौँ ।
नेपाललाई लक्षित गरेर भारत सरकारले जुन झारखण्ड राज्यको साहेबगन्जमा जुन टर्मिनल बनाएको छ । छ हजार मेट्रिक टन बोकेर पानीजहाज आउँछ । त्यसको बाटोको पनि हामीले सर्भे गरेर आइसकेका छौँ । विराटनगरको रानी–जोगबनीदेखि लिएर साहेबगन्जसम्मको हाम्रो यही मन्त्रालयको सहसचिवको नेतृत्वमा टिम गएर रिपोर्ट पनि दिइसक्नुभएको छ । त्यसकारणले यसमा पनि हामीले फड्को मार्न गइरहेका छौँ ।
अनेक प्रतिकूलताका बीच सरकारले जसरी निर्दिष्ट लक्ष्यसहित ऐतिहासिक काम गरिरहेको छ त्यसलाई हामीले उत्साहपूर्ण रूपमा लिएका छौँ । हाम्रै मन्त्रालयअन्तर्गत यातायातदेखि पानीजहाजसम्मका सबै क्षेत्रमा महत्वपूर्ण काम भएका छन् । परिणामका लागि आधार खडा गरिएको छ । केही स्वार्थ समूहहरू सरकारको यो तीव्र विकासको गतिबाट तिलमिलाएर फेरि पनि विरोधको बहाना खोजिरहेका छन् । हामी भन्न चाहन्छौँ, तपाईंहरू खुलेर विरोध गर्नुहोस्, सरकारको बाटो छेक्ने प्रयास गरि नै रहनुहोस् तर सरकार दृढ संकल्पका साथ जनताप्रति इमान्दर भएर आफ्नो लक्ष्यमा अघि बढिरहेको छ र मुलुकलाई हरहालतमा विकासको गतिमा लैजान्छ ।
(भौतिक पूर्वाधार तथा यातायातमन्त्री महासेठसँगको कुराकानीमा आधारित)
प्रकाशित मिति: मंगलबार, चैत २६, २०७५