काठमाडौं : वीर अस्पतालको चौथो तलामा सुर्खेतका भैचन्द्र रोकाया अपरेसनका लागि बसेको चार दिन भयो । उनको पित्तमा रहेको पत्थरीको अपरेसन गर्नुपर्ने भए पनि डाक्टरहरूले अपरेसन नगर्दा समस्या भएको बताए ।
१० दिनदेखि वीर अस्पतालमा रहेका उनको सबै रिपोर्टको काम सकिए पनि उनको अपरेसन गर्ने बेला भएदेखि डाक्टरहरूले अपरेसन कक्ष खोल्न छाडेर आन्दोलनमा उत्रिँदा मारमा परेको बताए ।
जुम्लाका कृष्ण सार्की पनि मिर्गौलाको अपरेसन गर्न भनेर अस्पतालमा बसेको पाँच दिन भयो । उनको भिडियो एक्सरेबाहेक केही नभएको उनले बताए । ‘अहिले त अस्पताल आयो । दिनभर बसेर फर्किनुबाहेक केही विकल्प नभएकाले पीडामा परेको छु ।’ होटलको बसाइ भएकाले धेरै खर्च हुने गरेको उनको दुखेसो छ ।
दोलखाकी पुष्पा थामी पनि अस्ताल परिसरमै बसिरहेकी थिइन् । उनको मिर्गौलामा घाउ आएको पत्ता लागेको तर देखिएको घाउको उपचार गर्न नपाउँदा समस्या झेलेर बस्न बाध्य भएको बताइन् । समयमै उपचार गर्न नपाउँदा उनको पनि अस्पताल परिसरमा बसाइ लम्बिएको छ । ‘आन्दोलन आज सकिन्छ कि, भोलि सकिन्छ कि भनेर हरेक दिन अस्पताल आउँछु तर बेलुका त्यतिकै फर्किन्छु’, उनले भनिन् ।
सरकारले गरेको कर्मचारी समायोजनमा आपत्ति जनाउँदै चिकित्सकहरू आन्दोलनमा उत्रिएपछि सरकारी अस्पताल सुनसान बनेको छ । अस्पतालका डाक्टरहरूले आन्दोलनको नाममा अस्पतालको सेवा बन्द गर्दा सेवाग्राहीहरू मारमा परेका छन् । वीर अस्पतालको आकस्मिकबाहेकका सबै टिकट काउण्टरदेखि उपचार कक्षसम्म बन्द छन् । अस्पतालको सेवा ठप्प पारेर चिकित्सकहरू आन्दोलनमा उत्रिएपछि बिरामीका आफन्तहरू अस्पताल बाहिर र भित्र गर्दै बसेका छन् भने बिरामीहरू तड्पिँदै बस्नुपरेको छ ।
वीर अस्पताल पुग्दा निर्देशकको अनुमतिबिना फोटो खिच्न पाइन्न भन्दै अस्पतालकी डा. अनुपमा कार्कीले फोटो खिच्न दिइनन् । तर निर्देशक भने अस्पतालमै नभएपछि उनीसँगै कुराकानी गर्न खोज्दा बोल्दिनँ भनेर पन्छिए भने अरू चिकित्सकहरू पनि बोल्न चाहेनन् ।
अस्पतालका सबै उपचार कक्षमा चाबी झुण्डिएको थियो भने उपचार कक्ष छेउका प्रतीक्षालयहरू सुनसान थिए ।
हेर्नुहोस् फोटो :
फोटो : मुनाल केसी
प्रकाशित मिति: मंगलबार, चैत २६, २०७५