काठमाडौं : रामशाहपथमा रहेको सर्वोच्च अदालत परिसरमा अहिले लटरम्म फूलहरू फुलिरहेका छन् । सर्वोच्च अदालतका कर्मचारीहरू मात्रै होइन, बाटो हिँड्नेहरू पनि त्यो दृश्य देखेर मोहित हुन्छन् ।
यहाँको मनोरम दृश्यले आँखालाई त लोभ्याउँछ नै, नाकलाई समेत सुगन्ध दिइरहेको छ । फूलले सजिएका बोटहरू र मगमगाउँदो अनि मनभराउँदो वातावरण यतिबेला राजधानीका विभिन्न स्थानमा देख्न सकिन्छ । वसन्त ऋतुको सुरुवातसँगै राजधानीका सडकहरूमा सुन्दर फूलहरू ढकमक्क हुन थालेका छन् ।
कसैको घरमा त कतै बाटोमै यस्ता फूलहरू देख्न सकिन्छ । नयाँ बानेश्वरबाट तीनकुनेतर्फ लाग्दासमेत यस्ता फूलका बोटहरू प्रसस्तै देख्न सकिन्छ ।
सरकारले पहिलो पटक भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आउँदा रातारात सडकहरूमा फूलहरू रोपेको थियो । तर त्यसलाई समयमै सम्हाल्न नसक्दा धेरै फूलहरूको अस्तित्व छैन अहिले । केहीकेही भने अझै पनि रहेका छन् ।
यस्ता दृश्य सिंहदरबार भित्र पनि प्रशस्तै देख्न सकिन्छ । मन्त्रालयभित्र त धेरै ठाउँमा फूलहरू रोपेको देख्न सकिन्छ । यसबाहेक नर्सरीहरूका फूलहरूले पनि सर्वसाधारणलाई लोभ्याउने गरेका छन् ।
हेर्नुहोस् फोटो :
शब्द/तस्वीर : विवश कुलुङ /मुनाल केसी
प्रकाशित मिति: बुधबार, चैत २७, २०७५